योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयो : सदस्यसचिव घिसिङ

नेपालभ्युज

योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयो : सदस्यसचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको सरोकारवाला निकाय राखेपले प्रस्ताव नै नगरेको वा जानकारीमा नै नभएको शिर्षक बजेटमा समावेश भएर आउने गरेको बताएका छन् ।

राखेपद्वारा मंगलबार आयोजित खेलकुदमा योजना र बजेट कस्तो ? भन्ने शीर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव घिसिङले उक्त दुःखेसो गरेका हुन् । राखेपले नबनाएको योजना, परिकल्पना, प्रस्ताव बजेटमा समावेश हुँदै आएको गलत प्राक्टिस सामना गर्नुपरेको सदस्यसचिव घिसिङको भोगाइ छ । खेलकुदमा यसैपनि थोरै बजेट हुने र त्यसमा पनि कार्यक्रमहरू गर्न आफ्नो नियन्त्रणमा हुने नगरेको बजेट आउनुले समस्या भइरहेको उनको बुझाइ छ ।

सदस्यसचिव घिसिङले खेलकुदको निकायसँग प्राविधिक जानकारी बिना नै रंगशालामा बनिरहेको भन्दै चर्को आलोचना गरे । सम्बन्धित खेलविज्ञ, खेल संघ या सरोकारवाला निकायसँग नै छलफल नगरी मापदण्डविपरीत केही संरचना बनिरहेको उनले उल्लेख गरे । खेलकुद संरचना बन्नु राम्रो पक्ष भएपनि त्यसको प्राविधिक पक्षबारे चेकजाँच गराएर मात्र संरचना बनाउन आग्रह गरेका छन् ।

सदस्यसचिव घिसिङले सातै वटा प्रदेशमा भएका भौतिक पूर्वाधारको अवस्थाबारे परिषद्ले मूल्यांकन गरिरहेको उल्लेख गर्दै त्यसको स्तरोन्नती र संरक्षणका लागि स्थानीय निकायलाई सहभागी गराउने गरी योजना बनिरहेको बताए । परिषद्ले आफैँले राख्नुपर्ने संरचना बाहेक अधिकांश संरचना स्थानीय निकायलाई सुम्पिने उनले बताए ।

सदस्यसचिव घिसिङले खेल्ने मैदान या कभर्डहल बनाउनुभन्दा पनि ठूलाठूला रंगशाला निर्माण गर्न होड बाजी भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए । प्रत्येक नगरपालिका या वडामा पनि स्टेडियमभन्दा पनि ट्रेनिङ सेन्टर बनाउन स्थानीय निकायलाई उनले आग्रह गरे । खेलाडी पलायनलाई रोक्न आगामी बजेटमा केही योजनाहरू समावेश हुने राखेप सदस्यसचिव घिसिङको विश्वास छ । खेलाडी स्वरोजगारका निम्ति केही आफ्नै मन्त्रालयअन्तर्गत युवा स्वरोजगारसँग सहकार्यमा केही कार्यक्रमहरू बजेटमा उल्लेख गर्ने सदस्यसचिव घिसिङले आशा व्यक्त गरे । उनले न्यूनतम ब्याजदरमा खेलाडीलाई ऋण उपलब्ध गराउने जस्ता योजना बनिरहेको समेत बताए ।

उनले खेलाडी पुरस्कारमा ढिलाई भइरहेका बेला अबको बजेटमा रातो कितावमा नै पुरस्कार शिर्षकमा बजेट समावेश हुने वातावरण निर्माणको काम भइरहेको बताए ।   खेलाडीले यति सफलता पाउँछन् र यति मात्रामा पुरस्कार रकम आवश्यक हुन्छ भन्ने पूर्वनिर्धारण गर्न नसकिए पनि निश्चित रकम भने बजेटमा राख्ने उनको विश्वास छ । आगामी बजेटमा खेलाडीको स्वास्थ्य विमा लगायत विषय समावेश हुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved