सोलुखुम्बुको पञ्चनमा भीषण आगलागी, नियन्त्रण कार्यमा जुट्न अध्यक्ष राईको आग्रह

नेपालभ्युज

सोलुखुम्बुको पञ्चनमा भीषण आगलागी, नियन्त्रण कार्यमा जुट्न अध्यक्ष राईको आग्रह

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ३ पञ्चनमा भीषण आगलागी भएको छ । वडाध्यक्ष इन्द्रमणि दाहालका अनुसार पञ्चनको सेसेल्मु जङ्गलमा दिउँसोदेखि भीषण आगलागी भइरहेको हो ।

आगलागीबाट वस्तीसमेत जोखिममा परेको वडाध्यक्ष दाहालले बताएका छन् । “चाँडै नियन्त्रणमा लिइएन भने वस्ती जोखिममा पर्ने देखिन्छ । अहिले जङ्गलभित्रै पसेर नियन्त्रणमा लिने अवस्था त छैन । तर, वस्तीको वरिपरिचाहिँ तैनाथ छौँ,” वडाध्यक्ष दाहालले नेपालभ्युजसँग भने ।

जङ्गल सल्लाघारी र खरबारी भएकाले पनि आगो नियन्त्रणमा लिनका लागि चुनौती रहेको वडाध्यक्ष दाहालले बताए । आगो कसरी लाग्यो भन्नेबारे खुलिनसकेको उनले बताएका छन् ।

आगो नियन्त्रणमा लिनका लागि स्थानीयसमेत त्यहाँ रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । “प्रहरी बलका साथै स्थानीय पनि आगलागीस्थलमा नियन्त्रणका लागि छन् । वस्तीमा आगो छिर्न नदिनका लागि तैनाथ छौँ,” उनले भने, “राति हावा चल्छ, त्यसैले पनि थप चुनौती छ ।”

आगो नियन्त्रणका लागि प्रहरीको टोली आगलागीस्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरले बताए । “त्यहाँ एउटा टोली हिँडिसकेको छ । वस्तीलाई जोगाउनु मुख्य कुरा हो,” उनले भने ।

यसैबीच गाउँपालिका अध्यक्ष असिम राईले आगो नियन्त्रण कार्यमा सहभागी हुन सुरक्षा निकायदेखि स्थानीयसम्मलाई अनुरोध गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved