यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

नेपालभ्युज

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको हो ।

बैठकका निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको बताइन् ।

निर्णयहरू

  • नेपालको संविधानको धारा ५३ एवं सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेस गर्ने ।
  • आर्थिक वर्ष २०८१/०८२ लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रूपैयाँ, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रूपैयाँ र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब रूपैयाँ स्वीकृत गर्ने ।
  • चालु आर्थिक वर्ष २०८०/०८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्वीन्टल २७ सय ७ रूपैयाँ २८ पैसा न्युनतम समर्थन मूल्य तोक्ने । साथै १८ प्रतिशत भन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्वीन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलको आधारमा न्युनतम सामर्थन मूल्य कायम गर्ने ।
  • विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रूख संख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृत दिने ।
  • नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने ।
  • नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरूलाई सम्बन्धित समूह, उपसमूहका ११औं तहमा बढुवा गर्ने ।
  • तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गर्ने ।
  • नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved