राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

नेपालभ्युज

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उनले आफ्नो राजीनामा अध्यक्ष नारायणप्रसाद दाहाललाई बुझाएकी हुन् ।

मधेस प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी उनी २०७९ साल माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

राजीनामा पत्रमा उनले भनेकी छन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भई आजका दिनसम्म नेपालको संविधान र राष्ट्रिय सभा नियमावली, २०७५ को अधीनमा रही आफ्नो जिम्मेवारी पूरा गरेको छु। उपाध्यक्ष पदमा मलाई निर्विरोध निर्वाचित गर्नुहुने राष्ट्रिय सभाका सम्पूर्ण माननीय सदस्यज्यूहरु, उपाध्यक्षको भूमिकामा रहँदासम्म मलाई निरन्तर सल्लाह, सुझाव र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नेपालको संविधान २०७२ को धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम संघीय संसद, राष्ट्रिय सभा उपाध्यक्षको पदबाट राजीनामा दिएको छु।’

नयाँ गठबन्धन बनेसँगै भएको दलीय भागबण्डामा उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि माओवादी केन्द्रकी सांसद अर्यालले पद छाडेकी हुन् । सुरुमा नेकपा (एमाले) को भागमा परेको उपाध्यक्ष पद गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) सामेल भएपछि छाडेको थियो । यद्यपि उपाध्यक्ष अब कसले पाउने भन्ने यकिन छैन ।

संविधानमा अध्यक्ष र उपाध्यक्ष फरक लिंग र फरक दलबाट हुनु पर्ने प्रावधान छ । अध्यक्षमा नारायण दाहाल निर्वाचित भएकाले अब उपाध्यक्षमा महिला नै हुनु पर्ने सुनिश्चित गरिदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved