जापानमा ‘डाइटरी सप्लिमेन्ट’ खाने दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

नेपालभ्युज

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ खाने दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

काठमाडौं । जापानमा कोलेस्ट्रोल कम गर्न खाने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार)का कारण दुई जनाको मृत्यु भएको छ । साथै, १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् ।

जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता मागेको थियो ।

अधिकारीहरूले गुनासोलाई सम्बोधन गर्न अनुसन्धान सुरू गरिसकेका छन् ।

कम्पनीले औषधिका तीन वटा ब्रान्ड ‘बेनी, कोजी, कोलेस्टे हेल्प’ र कोलेस्टेरोल कम गर्ने विश्वास गरिने रातो चामलबाट बनेको ‘बेनी र कोजी’ नामक दुई अन्य उत्पादनलाई फिर्ता बोलाएको छ ।

चिकित्सा अध्ययनहरूले उच्च कोलेस्टेरोल कम गर्नका लागि प्रयोग गरिने ‘स्ट्याटिन’को विकल्पको रूपमा रातो चामलबाट बनेको उक्त आहार दिइने बताएका छन् ।

तर, यस उत्पादनमा प्रयोग गरिएको रासायनले अङ्गमा क्षतिको जोखिम ल्याउने उनीहरूले चेतावनी दिएका छन् ।

सरकारका प्रवक्ता योशिमासा हयाशीले पत्रकारहरूसँग भने, “शंकास्पद मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने उक्त आहार सेवन गरेका विरामी परेको भनी अस्पताल भर्ना भएका १०६ जनाको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।”

कोबायाशी फार्मास्युटिकल्सले जापानमा टेलिभिजन विज्ञापनहरू मार्फत प्रवद्र्धन गरिएका स्वास्थ्यसम्बन्धी धेरै उत्पादनहरूलाई बजारमा प्रवद्र्धन गर्दछ ।

कम्पनीले सञ्चारमाध्यममार्फत सार्वजनिक भएका स्वास्थ्य समस्याहरू र उत्पादनहरूबारे अध्ययन गरिरहेको तर निष्कर्षमा नपुगिएको बताएको छ ।

ओसाकास्थित उक्त कम्पनीले जापानका करिब ५० र ताइवानका दुई कम्पनीलाई पनि रातो चामलबाट तयार पारिएको औषधीय आहार उपलब्ध गराएको जनाएको छ ।

कोबायाशीका अधिकारीले एएफपीसँग कुरा गर्दै आफूहरूले स्वेच्छिक रूपमा उत्पादनलाई शुक्रबार फिर्ता बोलाएको र आहारका कारण दुई जनाको मृत्यु भएकोबारे तत्काल थप टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

कोबायाशी फर्मास्युटिकल्सले उपलब्ध गराएको बेनी कोजी प्रयोग गर्ने दर्जनौं जापानी कम्पनीले पनि यसलाई बजारबाट फिर्ता ल्याउने घोषणा गरेका छन् ।

प्रभावित उत्पादनहरूमा विभिन्न स्वास्थ्य ट्याब्लेटहरू, साथै गुलाब–रंगको पेय पदार्थ, सलादको लागि तयार पारिने अचार, पाउरोटी र ‘मिसो पेस्ट’ धेरै परम्परागत व्यञ्जनहरूमा प्रयोग गरिन्छ ।

सरकारले कोबायाशी फार्मास्युटिकल्सलाई स्थितिको बारेमा ‘तत्काल जानकारी उपलब्ध गराउन’ भनेको स्वास्थ्य मन्त्री केइजो ताकेमीले बताएका छन् ।

बुधबार कोबायाशी फर्मास्युटिकल्सको शेयर मूल्य चार प्रतिशतले घटेको छ ।

ब्रिटिस मेडिकल जर्नलमा सन् २०१९ मा प्रकाशित एक शोधपत्रअनुसार कोलेस्टेरोलको मात्रा घटाउन प्रयोग हुने रातो चामलमा ‘मोनाकोलिन के’ को मात्रा पाइन्छ र यसलाई कोलेस्टेरोल बढी भएका बिरामीको उपचारका लागि प्रयोग गर्न जापानमा अनुमति दिइएको छ । –एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved