बाँसबारीको जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल

नेपालभ्युज

बाँसबारीको जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल

काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सचिव अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिएका हुन् ।

उनले देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरुको लगत संकलन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी त्यस्ता जग्गाहरु साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि बताए ।

यस सम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकहरुलाई अपील गरिएको पनि उनले स्पष्ट पारे ।

अर्यालले सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताए ।

बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै उनले अध्ययनपश्चात् कार्यान्वयनमा लगिने जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नविकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरुसँग गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रण गरी शुन्यमा झार्ने नीति अवलम्वन गरेको पनि बताए ।

सचिव अर्यालले अहिले अपराधको विश्लेषण गर्दा आत्महत्या, बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुरहरु, अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, लागुऔषध दुव्र्यसन, चोरी, जबर्जस्तीकरणी, बहुविवाह र ठगी जस्ता अपराधहरुको हिस्सा ठूलो देखिएको जानकारी दिए ।

उनले यस प्रकारका अपराधहरु सम्पूर्ण अपराधको ८० प्रतिशत भन्दा बढी रहेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved