अमेरिकाको सूचना बेवास्ता गर्दा मस्कोमा भिषण आक्रमण

नेपालभ्युज

अमेरिकाको सूचना बेवास्ता गर्दा मस्कोमा भिषण आक्रमण

काठमाडौं । रूसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चलेको छ ।

रूसी अनुसन्धान समितिका अनुसार आक्रमणमा परी हालसम्म ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् ।

रूसी विदेशमन्त्रीले यसलाई ‘आतंकवादी हमला’ भनेका छन् । यता, युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

मध्यरातमा रूसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ।

राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई निर्देशन दिएको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मस्कोमा भएको आक्रमणमा मारिएका व्यक्तिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘हामी मस्कोमा भएको जघन्य चरमपन्थी हमलाको कडा निन्दा गर्छौँ। हाम्रो प्रार्थना पीडित परिवारसँग छ। दुःखको यस घडीमा भारत रूसी सरकार र त्यहाँका जनताको साथमा छ।’

यसअघि नै ह्वाइट हाउसले दिएको थियो चेतावनी

यता, ह्वाइट हाउसले रूसी अधिकारीहरूलाई मार्चको सुरूमा मस्कोमा ‘ठूलो भीड’मा आक्रमण हुनसक्ने जानकारी दिएको बताएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले भने, ‘यो महिनाको सुरूमा अमेरिकी सरकारलाई मस्कोमा कन्सर्ट जस्ता भिडभाड हुने ठाउँहरूलाई लक्षित गरी आतंकवादी हमलाको योजना बनाइएको जानकारी थियो।’

उनले भने, ‘वाशिंगटनले रूसी अधिकारीहरूसँग जानकारी साझा गरेको थियो ।’

बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेराले क्रेमलिनले यी चेतावनीहरूलाई ‘प्रोपोगान्डा’ भन्दै खारेज गरेको जानकारी दिए ।

अनलाइनमा देखिएका अपुष्ट भिडियोहरूका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)ले आक्रमणको जिम्मेवारी लिएको छ ।

अमेरिकी अधिकारीहरूले अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध संस्था सीबीएसलाई आईएसले रूसमा आक्रमण गर्न सक्ने गुप्तचर प्राप्त गरेको बताएको थियो ।

अमेरिकी ह्वाइट हाउसले स्थितिबारे थप जानकारी लिन प्रयास गरिरहेको बताएको छ।

शुक्रबार राति मस्कोको पश्चिमी उपनगर स्थित भेटेरन रक ब्याण्डको कन्सर्टमा जम्मा भएका दर्शकमाथि बन्दुक र बमले आक्रमण गरिएको थियो ।

कन्सर्टमा पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार र बम विष्फोट गरेका थिए । आक्रमणमा आधा दर्जन व्यक्ति संलग्न रहेको बताइएको छ ।

आक्रमणपछि कन्सर्ट हलमा आगलागी भएर एउटा भाग भत्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले हलमा आगो लाग्ने वस्तु फालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved