बिहेपछि ‘कुमारी प्रमाणपत्र’ लिने शोभा पाठकको उमेर पनि किर्ते, नागरिकताको प्रतिलिपि लिँदा घटाइन् ६ वर्ष उमेर

नेपालभ्युज

बिहेपछि ‘कुमारी प्रमाणपत्र’ लिने शोभा पाठकको उमेर पनि किर्ते, नागरिकताको प्रतिलिपि लिँदा घटाइन् ६ वर्ष उमेर

काठमाडौं । ‘डिर्भाेस’पछि ‘कुमारी रहेको प्रमाणपत्र बनाएकी जानुका उर्फ शोभा पाठकले नागरिकतामा दुईवटा जन्म मिति बनाएको खुलेको छ ।

पटकपटक बिहे गर्दै डिर्भाेस गर्दै आएकी उनले अन्ततः अविवाहित रहेको सिफारिस बनाएर प्रयोग गरिरहेको भेटिएको बेलामा जन्ममिति पनि २ वटा देखिएको हो ।

उनी धादिङ ज्वालामुखी ७ की हुन् । चर्चित नेताहरूसँग समेत उनले आफू सम्बन्धमा रहेको बताएपछि उनी चर्चा र विवादमा छिन् ।

उनै शोभाले २०७२ मा लिएको नागरिकतामा जन्म मिति २०४३ उल्लेख थियो । जुन जिल्ला प्रशासन कार्यालय धादिङको ढड्डामा लेखिएको छ ।
उनले नागरिकता हराएको भन्दै २०७५ कात्तिक ९ गते नागरिकताको प्रतिलिपि लिइन् । त्यो बेलामा उनले नागरिकताको प्रतिलिपिमा महिना र गते उही राखेर साल मात्र फरक लेखाएकी छिन् । जसमा ६ वर्ष उमेर घटाएर २०४९ जन्म मिति कायम गरेकी छिन् ।

उनले लिएको प्रतिलिपि नागरिकतामा जन्म मिति २०४९ साल छ । जुन उनले अहिले प्रयोग गर्दै आएको नागरिकता हो । प्रतिलिपि लिनुअघि २०७५ अघि भने २०४३ जन्म मिति रहेकै नागरिकता प्रयोग गर्दै आएकी थिइन् ।

महेश बस्नेतसँग ‘एक्स्ट्रा अफेयर’बताउने शोभा, पहिले दाइ भन्दै आएकी उनले अचानक किन लगाइन् आरोप ?

जिल्ला प्रशासन कार्यालयको ढड्डामा भने जन्म मिति २०४३ नै छ । प्रतिलिपि लिएको रेकर्डमा ‘पतिको नाम हटाइ ठेगाना ज्वालामुखी वडा नम्बर ७ कायम गरिएको’ भनेर ढड्डामा उल्लेख गरिएको छ ।

शोभाले पहिलो बिहे २०७० भदौ ११ गते शिवराम भण्डारीसँग गरेकी थिइन् । २ वर्षपछि उनले बिहे दर्ता गरेर पहिलोपटक नागरिकता लिएकी थिइन् । पछि उनीसँग छुटेपछि पतिको नाम हटाएर प्रतिलिपि लिएकी हुन् ।

शोभाको फेरि २०८० सालको वैशाख १४ गते आफूभन्दा कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन् ।
तर, गत पुस २९ गते उनले डिर्भाेस गरेकी थिइन् । यसविचमा शोभाले अन्य दुई जनासँग बिहे गरेको चर्चा छ । उनले पटकपटक गरेको बिहे दर्ता र डिर्भाेस प्रमाणपत्र सञ्जालमा भाइरल छन् ।

तर, पटकपटक बिहे गरिसकेकी उनले एक वर्षअघि २०७९ चैत २४ गते ज्वालामुखी गाउँपालिकाबाट अविवाहित रहेको भन्दै सिफारिस लिएको भेटिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद खकुरालले, पत्र सङ्ख्या ०७९्८० र चलानी नम्बर ५५६ मा बनाइदिएको सिफारिसमा ‘श्री जानुका पाठक अविवाहित रहेको ब्यहोरा प्रमाणित गरिन्छ’ भनिएको छ ।

शोभाले केही साता पहिले आफूमाथि फ्ल्याटमै आएर केही युवकले कुटपिट गरी मोबाइलसमेत खोसेर लगेको आरोप लगाएकी थिइन् । यो विवादमा शोभा सञ्जालमा चर्चा र विवादमा छिन् ।

‘नेपाल नागरिकता २०७९’ अनुसार नागरिकता किर्ते गर्नेलाई तीन वर्षदेखि पाँच वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ । उनको कसुर ठहर भएमा सोही सजाय आकर्षित हुनसक्ने जानकार बताउँछन् ।

शोभाले भने आफूसँग पहिलेको नागरिकतामा पनि २०४९ साल नै जन्म मिति रहेको दाबी गरेकी छिन् ।  उनी भन्छिन्,  ‘मसँगको पहिलाको नागरिकतामा पनि २०४९ नै जन्म मिति छ । सिडिओ कार्यालयमा भएको रेकर्डमा के छ मलाई थाहा भएन । पछिल्लो समय मलाई बदनाम गर्नेहरूले दुष्प्रचार गरेका मात्र हुन् । म ठिक छु ।’

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved