ओलम्पिक प्रमुखहरूविरुद्ध रुस आक्रोशित, लगायो ‘नव–नाजीवाद’ को आरोप

नेपालभ्युज

ओलम्पिक प्रमुखहरूविरुद्ध रुस आक्रोशित, लगायो ‘नव–नाजीवाद’ को आरोप

मस्को । रुसले बुधबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) माथि रुसी खेलाडीहरूमाथि लगाएको प्रतिबन्ध र मस्कोले आयोजना गरेको फ्रेन्डसिप गेम्सको आलोचनालाई ‘नव–नाजीवाद’ समान भएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको छ ।

आइओसीले मंगलबार रुसी खेलाडीहरूलाई जुलाई २६ मा पेरिस ओलम्पिक, २०२४ को उद्घाटन समारोहमा भाग लिन रोक लगायो र फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ओलम्पिक खेलहरूको प्रतिद्वन्द्वीका रूपमा आफ्नै ‘फ्रेन्डसिप गेम्स’ आयोजना गर्ने योजना बनाएकामा क्रेमलिनको आलोचना गर्‍यो ।

रुसी विदेश मन्त्रालयलका प्रवक्ता मारिया जखारोभाले एक ब्रिफिङमा भने, “यी निर्णयले आइओसी आफ्नो घोषित सिद्धान्तहरूबाट कति टाढा गएको छ र नस्लवाद तथा नव–नाजीवादमा फसेको छ भन्ने कुरा देखाउँछ ।”

आइओसीले गत वर्ष रुसलाई २०२४ खेलहरूबाट निलम्बन गरेको थियो तर युक्रेनमाथि क्रेमलिनको आक्रमणलाई सक्रिय समर्थन नगरेसम्म रुसका खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिएको थियो ।

उक्त तटस्थ स्थितिले रुसी खेलाडीहरूलाई ‘आफ्नो मातृभूमि, आफ्नो नागरिकता, आफ्नो इतिहास, संस्कृति र मानिसहरूको कुनै पनि सम्बन्ध त्याग्न बाध्य बनाउने’ तर्क प्रवक्ता जखारोभाले दिएका छन् । “आइओसीको निर्णय गलत, अन्यायपूर्ण र अस्वीकार्य छ”, उनले भने, “हामी रुसी खेलाडीहरूमाथि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले लगाएको अभूतपूर्व भेदभावपूर्ण सर्तहरूबाट आक्रोशित छौँ ।”

रुसको क्रोध आइओसीले कडा शब्दमा विज्ञप्ति जारी गरेको एक दिनपछि आएको हो । आइओसीले क्रेमलिनमाथि आफ्नो फ्रेन्डसिप गेम्स आयोजना गर्ने योजना बनाएर ‘खेलमा राजनीति’ गरेको आरोप लगाएको थियो ।

आइओसीले खेल जगत् र मस्कोले आमन्त्रण गरेका सरकारहरूसँग उक्त आयोजनामा ‘कुनै पनि सहभागिता र समर्थनलाई अस्वीकार गर्न’ आह्वान गरेको छ तर भाग लिनेहरूलाई अनुमति दिन अस्वीकार गरेको छ ।

क्रेमलिनले बुधबार आइओसीको यस्ता प्रतिबन्धविरुद्ध चेतावनी दिएको छ । “यो खेलाडीहरूलाई डर देखाउने काम हो, यसले आइओसीको विश्वसनीयतालाई पूरै कमजोर बनाउँछ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने ।

लामो समयदेखिको डोपिङ घोटालालाई लिएर मस्को र ओलम्पिक निकायबीचको तनाव वर्षौंदेखि चलिरहेको थियो । डोपिङ घोटालालाई लिएर रुसी खेलाडीहरूलाई सन् २०२० को टोक्यो खेलहरूमा आफ्नो मुलुकको झन्डामुनि प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र बेलारुसका खेलाडीहरूले धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ । गत वर्ष धेरै ओलम्पिक खेलहरूले प्रतिबन्धलाई खुकुलो बनाएका छन् । यसअन्तर्गत दुवै मुलुकका खेलाडीहरूलाई केही शर्तअन्तर्गत प्रतिस्पर्धामा फर्किन अनुमति प्राप्त भएको छ ।

रुस र बेलारुसका खेलाडीहरूले ‘व्यक्तिगत तटस्थ खेलाडी’ का रूपमा पेरिसमा प्रतिस्पर्धा गर्नेछन् तर दुवै मुलुकका प्रतिस्पर्धीहरूलाई एथलेटिक्समा प्रतिबन्ध लगाइएको छ ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved