नम्रताको बैंकिङ यात्रा : जुनियर असिस्टेन्टदेखि महिला मात्रैले चलाएको शाखाको नेतृत्वसम्म

नबिल बैंकको नारायणपुर शाखा महिलाले मात्रै हाँकिरहेका छन् । सात महिनायतादेखि नम्रताले यो शाखा उत्कृष्ट ढङ्गले चलाइरहेकी छन् । नम्रता नेतृत्वको महिलाको टिम अहिले एउटा उदाहरण नै बनेको छ ।

नम्रताको बैंकिङ यात्रा : जुनियर असिस्टेन्टदेखि महिला मात्रैले चलाएको शाखाको नेतृत्वसम्म

काठमाडौं । कामको सन्दर्भलाई लिएर महिलालाई कमजोर ठान्ने एउटा तप्का समाजमा अझै बाँचिरहेकै छ । ऊ कार्यक्षमताको तुलनामा महिलालाई कमजोर र पुरुषलाई बलियो ठान्छ ।

महिलाका लागि सफलताको लागि सङ्घर्ष गर्नु त छँदैछ, त्यसका अलवा परिवार, समाज र आफन्तसँगको लडाइँ पनि चुनौतीपूर्ण हुन्छ । घरायसी जिम्मेवारीसमेत प्राय: महिलाले मात्रै सम्हाल्नुपर्ने पितृसतात्मक चलनका कारण कतिपय महिलाले आफ्ना इच्छा, आंकाक्षा र सपनाको हत्या गर्छन् ।

अझ ग्रामीण भेगका महिलाका लागि त यसखाले समस्या अझ बढी छन् । महिलालाई कमजोर ठान्ने नेपाली समाजको सोचलाई आफ्नो सफलता र कार्यक्षमताले जवाफ दिएकी छन्— बाँकेकी नम्रता श्रेष्ठले । गाउँबाट सङ्घर्ष गरेर सफलताको सिँढी चढेकी नम्रता बैंकर हुन् । हाल उनले एउटा बैंकको शाखाको नेतृत्व गरिरहेकी छन् । र, आफ्नो नेतृत्वमा रहेका सबै कर्मचारी पनि महिला नै राखेकी छन् । अर्थात् महिला सशक्तिकरणमा नम्रताले अगुवाइ गरिरहेकी छन् ।

सानैदेखिको ‘बैंकर-सपना’ 

नम्रता दाङको घोराही उपमहानगरपालिका नारायणपुरस्थित नबिल बैंकको ब्रान्च म्यानेजर हुन् । उनी विसं २०३९ सालमा नेपालगञ्जमा सामान्य परिवारमा जन्मिएकी हुन् ।

जेठी सन्तान भएका कारण उनले सानैदेखि जिम्मेवारीको भारी बोकेकी थिइन् । “सामान्य परिवारमा जन्मिएको; त्यही पनि जेठो सन्तान भएकाले सानैदेखि जिम्मेवारीको भारी बोक्न सिकेँ मैले । बैंकर बन्न चाहन्थेँ । तर, त्यसका लागि आफैँ काम गर्दै पढ्नुको विकल्प थिएन मसँग,” नम्रता सुनाउँछिन् ।

उनका बुबा पनि बैंककै जागिरे थिए । बुबाले बैंकमा जागिर गर्ने भएकाले उनमा पनि सानैबाट बैंकर बन्ने सोच आएको थियो । “सानैदेखि बैंकमा जागिर खाने सपना थियो, बच्चा बेला भाँडाकुटी खेल्दा पनि बैंक बनाएर त्यहाँ आफू काम गर्ने भएर खेल्थेँ । बैंकप्रति सानैदेखि लगाव थियो मेरो,” नम्रता बाल्यकाल सम्झिन्छिन् ।

भविष्यमा बुबाजस्तै बैंकर बन्ने उनको सपना साकार पार्नसक्ने हैसियतमा थिएन परिवार । बुबाको तलबले घर धान्नै गाह्रो पर्थ्यो । भाइ बहिनीको पढाइ खर्च पनि हेर्नुपर्थ्यो । त्यस्तो अवस्थामा उनले परिवारलाई अझै पढ्न चाहेको बताउन सकिनन् र आफैँ काम गरेर पढ्ने सोच बनाइन् । ग्रामीण ठाउँमा काम पाउन पनि सकस ।

यत्तिकैमा उनले एकदिन गाउँकै एक निजी विद्यालयमा शिक्षक चाहिएको थाहा पाइन् र निवेदन दिइन् । नभन्दै उनले त्यहाँ जागिर पनि पाइन् । बैंकर बन्ने हुटहुटीले उनलाई शिक्षण पेशामा समेत आबद्ध गरायो ।

त्यति बेलासम्म उनले कक्षा १२ को पढाइ सकाइसकेकी थिइन् । काम गर्न थालेपछि उनलाई पढाइ खर्च निकाल्न गाह्रो भएन । उनले शिक्षणसँगै नेपालगञ्जमै बीबीएसको पढाइ थालिन् । उनी भन्छिन्, “उच्च शिक्षाको लागि हामीसँग पैसा थिएन, त्यसैले मैले त्यहीको एक बोर्डिङ स्कूलमा पढाउने काम सुरू गरेँ । यसरी नै पढाइ अगाडि बढाएँ ।”

बीबीएसको पढाइ चलिरहेकै बेला उनको विवाह भयो । विवाह गरेर दाङको तुलसीपुर गइन् । विवाहपछि बैंकर बन्ने सपना तुषारापात हुने त होइन भन्ने उनलाई शङ्का लागेको थियो । तर, उनको पढाइ, क्षमता र सपनालाई नजिकबाट बुझेका श्रीमान् कहिल्यै तगारो बनेनन् ।

बुहारी भएपछि घरपरिवार सम्हालेर बस्नुपर्छ भन्ने समाजको मान्यता छ । तर, उनको परिवारले भने नम्रताका आकांक्षामा साथ दियो । उनको पढाइ रोकिएन । त्यति बेला उनी मात्र २४ वर्षकी थिइन् ।

२०६३ सालको कुरा हो, बीबीएसको चौथौ सेमेस्टरको परीक्षा भर्खरै मात्र सकाएर बसेको बेला नबिल बैंकको दाङ तुलसीपुर शाखामा जागिर खुलेको उनले थाहा पाइन । “नबिल बैंकमा जुनियर असिस्टेन्टको लागि भ्याकेन्सी खुलेको थाहा पाउनेबित्तिकै अप्लाइ गरेँ । अप्लाई गर्ने ७० र ८० जना जति थिए । तर, अन्त्यमा मलगायत तीनजनाको नाम निस्क्यो,” उनले भनिन् ।

त्यसपछि सुरू भयो नम्रताको बैंकिङ यात्रा ।

बुहारी बनेपछि बैंकिङ ‘करिअर’ झन् सहज  

छोरी मान्छे विवाहपश्चात् घर सम्हालेर बस्नुपर्छ भन्ने नेपाली समाजको मानसिकता भए पनि उनको जीवनमा त्यो लागू भएन । कारण थियो, उनका श्रीमान् । श्रीमान्‌को साथ र परिवारको सहयोगले उनको बैंकिङ करिअर थप सहज बन्न थाल्यो । विवाह भएको दुई वर्षमै बैकिङ क्षेत्रमा पाइला राखेकी नम्रताको परिवारले घरमा समय दिइन् भनेर कहिल्यै गुनासो गरेन ।

भर्खरै विवाह गरेर गएकी बुहारी जागिर खान अफिस जाने, बेलुका घर ढिला आउने परिवारलाई समय दिन नपाउने कुराले नम्रतालाई भने अलि अप्ठ्यारो लाग्थ्यो । तर, परिवारले उनलाई कहिल्यै रोकछेक गरेन । परिवारको साथ र सहयोगले नम्रतालाई सपनाको खुड्किला चढ्न थप प्रोत्साहन गर्‍यो ।

जुनियर असिस्टेन्टदेखि बीएमसम्मको यात्रा 

सबैको साथ पाएकी नम्रताको करिअर उकालो लाग्दै गयो । १६ वर्षको बैंकिङ यात्रामा उनले नबिल बैंकका विभिन्न विभागमा जिम्मेवारी सम्हालिसकेकी छिन् । जता अवसर त्यतै दगर्ने युवापुस्ताभन्दा भिन्न स्वभाव र सोच राख्ने उनी हालसम्म नबिल बैंकमै कार्यरत छन् ।

उनका अधिकांश साथीले देश छाडिसकेका छन् । तर, उनी भने मेहनत, परिश्रम र धीरताका कारण अहिले स्वदेशमै निजी क्षेत्रकै एक अग्रणी बैंक नबिलको ब्रान्च म्यानेजर बनेकी छिन् । उनले हालसम्म नबिल बैंकको क्यास, कस्टोमर सर्भिस, लोन डिपार्टमेन्ट, अपरेशन इन्चार्जलगायतका विभागमा जिम्मेवारी सम्हालिसकेकी छन् ।

बाहिरबाट हेर्दा जस्तो बैंकिङ क्षेत्र सजिलो नरहेको उनको अनुभव छ । “बाहिर अरूले हेर्दा यो क्षेत्र सजिलो जस्तो लाग्छ, मलाई पनि यहाँ आउनभन्दा अगाडि त्यस्तै लाग्थ्यो । तर, जब यहाँ आएँ अनि थाहा पाएँ । बैंकिङ क्षेत्र सोचेको जस्तो सजिलो छैन, तर मेहनत गर्‍यो भने यही राम्रो भविष्य पनि छ,” उनले भनिन् ।

उनको मेहनत र इमानदारितालाई बैंकले पनि नजिकबाट नियालेको थियो । नम्रताको दृढताले बैंकको विश्वास जित्यो र उनलाई ब्रान्च म्यानेजर बनाएर नारायणपुर शाखामा पठायो ।

ब्रान्च म्यानेजर बनेपछिको अनुभव 

ब्रान्च म्यानेजर बनेर नारायणपुर जाँदा पहिलोपटक आफू डराएको उनी सुनाउँछिन् । “एउटा सामान्य परिवारकी छोरी, बैंकर बन्न गरेका दु:ख, सङ्घर्ष सबै एकै पटक याद आयो,” उनी भन्छिन्, “बैंकको शाखा नै महिलाको नेतृत्वमा छ, ग्राहकले कसरी लिने हुन् भनेर पनि सुरूमा साह्रै डर लागेको थियो ।”

आफ्नो काम र क्षमतामा विश्वास भए पनि ग्राहकले विश्वास नगर्ने हुन् कि भन्ने पिरले सताएको अनुभव उनी सुनाउँछिन् ।

“हुन त मसँग सबै विभागमा काम गरेको अनुभव थियो त्यसले मेरो डरलाई केही हदसम्म सान्त्वना दिइरहेको थियो । तर, पनि ग्राहकले विश्वास नगर्ने हुन् की, मेरो कार्य क्षमतामा प्रश्न उठाउने हुन् कि जस्तो लागेको थियो,” उनी भन्छिन् ।

समयसँगै ग्राहकबाट पनि सकारात्मक प्रतिक्रिया आउन थाल्यो । उनी आफू पनि काममा अझ बढी पोख्त हुन थालिन् । अहिले उनले नबिल बैंकको नारायणपुर शाखाको नेतृत्व गरेको करिब ७ महिना पुगिसकेको छ ।

महिला कर्मचारीले हाँकेको शाखा

अहिले नबिल बैंकको नारायणपुर शाखा महिलाले मात्रै हाँकिरहेका छन् । सात महिनायतादेखि नम्रताले यो शाखा उत्कृष्ट ढङ्गले चलाइरहेकी छन् । नम्रता नेतृत्वको महिलाको टिम अहिले एउटा उदाहरण नै बनेको छ ।

हालै मात्र नबिल बैंकको २ करोडको लक्ष्य पूरा गरेको र यो आफ्नो बीएमपछिको पहिलो सफलता भएको नम्रता बताउँछिन् । लक्ष्य पूरा गर्न महिलाको सम्पूर्ण टिमले बिदासमेत नबसी काम गरेको क्षण निकै यादगार रहेको उनको भनाइ छ ।

“लक्ष्य पूरा भएपछि हामीले सेलिब्रेट पनि गर्‍यौँ ।  यसले मलगायत सबै कर्मचारीमा खुसी र हौसला थपिएको छ,” उनी खुसी बाँड्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved