अग्नि-५ को सफलतासँगै भारतको क्षेप्यास्त्र प्रविधि नयाँ उचाइमा

नेपालभ्युज

अग्नि-५ को सफलतासँगै भारतको क्षेप्यास्त्र प्रविधि नयाँ उचाइमा

काठमाडौं । भारतले मिसन दिव्यास्त्रअन्तर्गतको अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । मार्च १२ मा पोखरणमा भएको परीक्षणमा प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ सामेल भएका थिए ।

परीक्षणपछि प्रधानमन्त्री मोदीले भारतीय सुरक्षाको इतिहासमा एक नयाँ उपलब्धि हासिल भएको बताए । उनले यस सफलतालाई ‘स्वदेशीकरणमार्फत सशक्तिकरण’ को संज्ञा दिए । साथै, ‘विकसित र आत्मनिर्भर भारतका लागि गौरवमय दिन’ को रूपमा चर्चा गरे ।

भारतले अग्नि-१ को परीक्षण सन् २००२ मा गरेको थियो । भारतको अग्नि शृङ्खला मध्यम तथा लामो दूरीका ब्यालेस्टिक मिसाइल योजना हो । यी क्षेप्यास्त्र डिफेन्स रिसर्च एण्ड डेभेलोपमेन्ट अर्गानाइजेशन (डिआरडिओ ) ले निर्माण तथा परीक्षण गर्दछ ।

भारतले सन् १९८२ मा एपिजे अब्दुल कलामको नेतृत्वमा मिसाइल निर्माण कार्य प्रारम्भ गरेको थियो । यस परियोजनाको सफलताका लागि कलाम व्यापक प्रशंसित भएका थिए । पछि उनी भारतको राष्ट्रपतिसमेत भए । उनलाई ‘क्षेप्यास्त्र पुरुष’ (मिसाइल म्यान) भन्ने गरिन्छ ।

अग्नि-२ देखि ४ सम्मका क्षेप्यास्त्रमा ७०० देखि ३५०० किमीसम्म मार हान्ने क्षमता थियो । त्यसपछि भारतले अग्नि-पी बनायो । यसको क्षमता १००० देखि २००० किमीसम्मको दूरी थियो ।

अग्नि-५ भने ५००० हजार किलोमिटरसम्म मारक क्षमताको छ । यसको मारक क्षमता एशियाका सम्पूर्ण क्षेत्र र युरोपका केही भू-भागसम्म हुनेछ । यो मल्टिपल इन्डिपेन्डेट्ली टार्गेटेबल रि-इन्ट्री भेहिकल (एमआईआरभी) प्रविधिमा आधारित छ । भारतले यो प्रविधिबाट बनाएको अग्नि-५ पहिलो क्षेप्यास्त्र हो ।

एमआईआरभी सन् १९६० को दशकमा अमेरिकाले विकास गरेको एक विशेष प्रकृतिको क्षेप्यास्त्र प्रविधि हो । सन् १९६८ मा पहिलोपटक अमेरिका यस्तो क्षेप्यास्त्र बनाउन सफल भएको थियो । सोभियत सङ्घले सन् १९७२ मा यस्तो सफलता पाएको थियो ।

भारतअघि यो प्रविधिमा आधारित क्षेप्यास्त्र अमेरिका, बेलायत, रुस, फ्रान्स र चीन गरी ५ देशसँग मात्र थियो । भारत एमआईआरभी प्रविधिमा आधारित लामो दूरीको क्षेप्यास्त्र भएको छैठौँ देश बन्न पुगेको छ ।

एमआईआरभी प्रविधिका मिसाइलले एक साथ ६ फरक-फरक दिशा र दूरीमा मार हान्ने क्षमता राख्दछन् । यसले मिसाइल प्रतिरक्षासमेत गर्न सक्दछ ।

एमआईआरभी प्रविधिमा आधारित भएर पनि अग्नि-५ मौलिक प्रकृतिको भएको दाबी गरिएको छ । तसर्थ, यसलाई ‘स्वदेशी क्षेप्यास्त्र भनिएको छ । अग्नि-५ को सफलतासँगै भारतले क्षेप्यास्त्र प्रतिरक्षा क्षमतामा नयाँ उचाइ हासिल गरेको विश्वास गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved