भारतको सहयोगमा बन्ने क्याम्पस भवन शिलान्यास

नेपालभ्युज

भारतको सहयोगमा बन्ने क्याम्पस भवन शिलान्यास

काठमाडौं । डोटीमा भारत सरकारको सहयोगमा बन्न लागेको क्याम्पस भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा डोटीको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको भारतीय दूतावासले जानकारी दिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि उपयोग गरिएको दूतावासले जनाएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र बडीकेदार गाउँपालिका, डोटीमार्फत कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

भारतीय दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा ४ वटा परियोजना डोटीमा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटी जिल्लालाई उपलब्ध गराइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved