आहा ! ९ महिनामै बन्यो यस्तो राम्रो क्रिकेट मैदान (तस्वीरसहित)

गुल्मीका विनोदले देखाएको उदाहरण

नेपालभ्युज

आहा ! ९ महिनामै बन्यो यस्तो राम्रो क्रिकेट मैदान (तस्वीरसहित)

काठमाडौं । लगनशील भएर गर्‍यो भने सम्भव नहुने के रहेछ र ! गुल्मीका विनोद कुँवरले अहिले त्यस्तै उदाहरण पेश गरेका छन् । उनले ९ महिनामै निजी लगानीमा क्रिकेट मैदान तयार पारेका छन् । मैदान खेल्नलायक भइसकेको छ । यही फागुन २८ गते उद्घाटन हुँदैछ ।

सुरुवातमा निजी लगानीमा क्रिकेट मैदान बन्ने भन्दा धेरैले पत्याएका थिएनन् । पत्याउन पनि कसरी । यसरी मैदान बनाउने भन्दै हल्ला गरेर अलपत्र परेका थुप्रै उदाहरण यही छन् । सरकारले एउटा मूलपानीको मैदान बनाउन पनि १०औं वर्ष लगाएको सबैले देखेकै छन् ।

तर, अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ दरखसहवामा अहिले हराभरा मैदान तयार भएको छ । यसको नाम राखिएको एक्स्ट्राटेक ओभल । यसै वर्षको जेठ ३० गते सिलान्यास गरिएको यो मैदान उद्घाटनको मिति नै तय भएपछि विनोद अहिले दङ्ग छन् ।

गुल्मी घर भएका विनोद अष्ट्रेलियामा बस्दै आएका छन् । उनी क्रिकेटका पारखी हुन् । उनको सोच र उद्देश्यमा श्रीमती सुदीक्षा गौतमले हरतरहले साथ दिइरहेकी छन् ।

यो मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान गरिएको कुँवर बताउँछन् । प्यारपिट बनाउने काम पनि सुरू भइसकेको छ । यसका लागि १८ करोड खर्च हुने उनी बताउँछन् ।

धुर्मुस-सुन्तलीले चन्दा उठाएरै बनाउन थालेको चितवनको क्रिकेट रङ्गशाला वर्षौँदेखि अलपत्र छ । त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्ने गफ र भाषण धेरै सुनिए पनि काम सुरू हुन सकेको छैन । यस्तो अवस्थामा एउटा व्यक्तिले १ वर्षभन्दा पनि कम समयमा क्रिकेट मैदान बनाउनु चानचुने कुरा पक्कै होइन ।

मैदानको उद्घाटनका दिन नेपाली भेट्रान क्रिकेट खेलाडीहरूबीच टी-१० प्रतियोगिता आयोजना हुँदैछ । मैदानका ब्राण्ड एम्बेस्डर हुन् पूर्वक्रिकेट खेलाडी शक्ति गौचन । उनी रातदिन मैदानमा खटिइरहेका छन् ।

गौचन पनि मैदान तयार भएर फागुन २८ गते उदघाटन हुन लागेकोमा निकै खुसी छन् । उनले अब यो मैदानमा कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय म्याचसमेत खेलाउन सकिने बताएका छन् ।

उद्घाटनका दिन हुने मैत्रीपूर्ण प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोली सहभागी हुँदैछन् । पारस खड्कालगायतका खेलाडी पनि मैदानमा उत्रनेछन् ।

यहाँ पौने ५ विघा जग्गामा २५ हजार दर्शक क्षमताको रङ्गशालासहित एकेडमी भवन पनि बन्नेछ । जसबाट राम्रा खेलाडी उत्पादन गर्ने विनोदको लक्ष्य छ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाइ १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने उनले बताए ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा माधव पाठक छन् । उनी यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको रूपमा काम गरिसकेका अनुभवी हुन् ।

पछिल्लोसमय नेपालमा क्रिकेटको क्रेज बढ्दो क्रममा छ । नयाँ-नयाँ खेलाडी पनि आइरहेका छन् । तर, स्तरीय मैदानको भने निकै अभाव छ । यही देखेर विनोद रङ्गशाला बनाउन जोसिएका हुन् । उनले यसलाई विजनेश मोडलमा चलाउने योजना बनाएका छन् ।

रुपन्देही आफैँमा क्रिकेटका लागि चिनिएको जिल्ला हो । यसले धेरै राष्ट्रिय खेलाडी जन्माएको छ ।  राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल यस्ता थुप्रै नाम छन् रुपन्देहीबाट चम्केका खेलाडी । अब यो रङ्गशालाले रुपन्देहीबाट थप खेलाडी जन्मने विश्वास छ ।

अष्ट्रेलियामा आइटी व्यवसाय गर्ने विनोदले उता कमाएको रकमले यता रंगशाला बनाइरहेका छन् । यति ठूलो रकम लगानी गरेर फाइदा कसरी होला भन्नेको सङ्ख्या पनि कम छैन । तर, विनोद डराएका छैनन् । उनले पछिसम्म रङ्गशाला चलाउने मास्टर प्लान बनाइसकेका छन् । तर, यसमा सरोकारवाला र सरकारले भने सहयोग गर्नुपर्ने उनको अपेक्षा छ ।

विनोद कुँवर र सुदीक्षा गौतम

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved