स्कुल बसको ठक्करबाट घाइते थप एकको मृत्यु, जनकपुरधामको विन्धी क्षेत्र दिनभर तनावग्रस्त

नेपालभ्युज

स्कुल बसको ठक्करबाट घाइते थप एकको मृत्यु, जनकपुरधामको विन्धी क्षेत्र दिनभर तनावग्रस्त

जनकपुरधाम । जनकपुरमा स्कुल बसको ठक्करबाट घाइते थप एकजनाको मृत्यु भएको छ । योसँगै बसको ठक्करबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

उपचारको क्रममा प्रादेशिक अस्पतालमा जनकपुरधाम उपमहानगरपालिका- २३ की ५८ वर्षीया देवकली साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ३ की ३५ वर्षीया राखदी देवी यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा एञ्जल्स स्कुलको बसले बिहेका लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई आइतबार बिहान १० बजेतिर ठक्कर दिएको थियो ।

घटनामा अन्य ६ जना घाइते छन् । जसमध्ये ५० वर्षीय अम्बिका देवी झाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि विराटनगर पठाइएको छ । ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय सोनुकुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रवक्ता डीएसपी अवाले बताए ।

घटनापछि विहानैदेखि विन्धी क्षेत्र तनावग्रस्त छ । ठक्कर दिने बसमा आगजानी र एकजनाको घरमा लुकेका चालकलाई आक्रोशित स्थानीयले आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा ढुंगामुढाबाट ७ जना प्रहरी सामान्य घाइते भएको डीएसपी अवाले बताए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो । चालक र बसलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved