जाँडरक्सी खाएर हिँड्ने ४० जनालाई दोसल्ला र मालाले सम्मान, सरकारी पैसामै बीमा पनि

नेपालभ्युज

जाँडरक्सी खाएर हिँड्ने ४० जनालाई दोसल्ला र मालाले सम्मान, सरकारी पैसामै बीमा पनि

काठमाडौं । जाँडरक्सी खाएर होहल्ला गर्दै हिँड्ने मान्छेलाई समाजमा हेयको दृष्टिले हेरिन्छ । गाली गरिन्छ, अपमान गरिन्छ । ‘जँड्याहा’ उपनामले अपहेलितसमेत भएका उनीहरूलाई कसैले महत्त्व दिँदैन ।

तर, त्यस्ता व्यक्तिलाई पाल्पामा सम्मान गरिएको छ । त्यो पनि खोजीखोजी ४० जनालाई एकै ठाउँमा भेला पारेर भव्य कार्यक्रम गरेर । रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो ।

कार्यक्रममा सहभागीलाई माला र खादा पहिर्‍याएर सम्मानसमेत गरियो । त्यसअघि न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने, ‘खोजीखोजी ल्याइएका ४० जनालाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ ।’

जाँडरक्सी खाएको कारण सम्मान हो त ?

जाँडरक्सी खानेलाई सम्मान गरिएको भने अवश्य हो । तर, जाँडरक्सी खाएको कारणले भने होइन । कार्यक्रमको ब्यानरमा भने ‘विपन्न वर्ग ९श्रमिक०लाई सम्मान’ कार्यक्रम लेखिएको थियो ।

पालिका अध्यक्ष कार्कीले भने, ‘‘जाँडरक्सी खाएको कारणले उहाँहरूलाई सम्मान गरेका होइनौँ । जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरेका हौँ ।’

सम्मानित हुने ४० जना सबै श्रमिक हुन् । कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।

नियमित जाँडरक्सी खाएर आफ्नो स्वास्थ्य, घर परिवार र आर्थिक अवस्था दयनीय अवस्थामा पुगेकाहरूको वडा कार्यालयमार्फत् विवरण संकलन गरेर पालिकाले व्यङ्ग्यात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved