प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिमिल्सिनाले बताए । उनका अनुसार दुईबीच राष्ट्रिय एवम् अन्तर्राष्ट्रियसँगै समसामयिक सन्दर्भमा कुराकानी भएको छ ।

भेटवार्तामा के सन्दर्भमा कुराकानी भयो भन्ने नेपालभ्यूजको जिज्ञासामा उनले भने, “शिष्टाचार भेटवार्ता हो । यस्ता भेटघाट भइरहन्छन् नि ।”

त्यसो त प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेससँगको सहकार्य फलदायी नभएको सार्वजनिकरूपमै बताउने गरेका छन् । यही अवस्थामा कुनै न कुनैरूपमा यहाँ वाम एकता चाहने उत्तरी छिमेकी चीनका राजदूतले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)की अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायानले नेपाल-चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको उल्लेख गर्दै उस्ता-उस्तै शक्तिहरूबीचको सहकार्य आवश्यक रहेको बताएकी थिइन् ।

त्यसो त चीनले नेपालका प्रभावशाली कम्युनिष्ट पार्टीहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका प्रतिनिधि उतै झिकाएर ‘वाम एकता’कै लागि सल्लाह दिने गरेको छ ।

यसअघि एमाले महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतलाई पनि चीनले उतै बोलाएर त्यही सल्लाह दिएको थियो ।

स्रोतका अनुसार आजको भेटमा पनि वाम एकताका विषयमा कुराकानी भएको छ । यस्तै नेपालमा रहेका चिनियाँ  परियोजनालाई प्राथमिकता दिएर अघि बढाउने आश्वासन पनि राजदूत सोङले दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved