खतरा सामना गरेर शान्ति सैनिकले मानवताको भावना र प्रतिबद्धतालाई मूर्तरूप दिएको छ : प्रधानमन्त्री

नेपालभ्युज

खतरा सामना गरेर शान्ति सैनिकले मानवताको भावना र प्रतिबद्धतालाई मूर्तरूप दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन् ।

मंगलबार ‘चौथो शान्ति प्रयास’ अभ्यासको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने बताए ।

शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

“संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनःमूल्याङ्कन गर्नुपर्ने भएको छ”, प्रधानमन्त्रीले भने ।

शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना र प्रतिबद्धतालाई जोगाउन हस्तक्षेपको तत्परता आवश्यक पर्ने बताए ।

खतराको ठूलो सामना गरेर शान्ति सैनिकले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्तरूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति सैनिकले गरेका त्यस्ता प्रयासको गहिरो प्रभाव परेको खुलाए ।

“यस अवसरमा म विश्वभर शान्तिको खोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु”, प्रधानमन्त्री दाहालले भने, “उहाँहरूको निस्वार्थ कार्य र समर्पणभाव हामी सबैका लागि प्रेरणको स्रोत हो ।”

उनले कठिन चुनौतीको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूको प्रशंसा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved