झलनाथ भन्छन्- जबज होइन, अबको विकल्प समाजवाद हो

'पुँजीवादलाई समाजवादी क्रान्तिले मात्रै अन्त्य गर्न सक्छ'

नेपालभ्युज

झलनाथ भन्छन्- जबज होइन, अबको विकल्प समाजवाद हो

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुँजीवादलाई समाजवादी क्रान्तिले मात्रै अन्त्य गर्नसक्ने बताएका छन् ।

गत शुक्रबार समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्र नेपालद्वारा आयोजित ‘समाजवाद र अबको बाटो’ विषयक छलफलमा पेश गरेको दस्तावेजमा उनले यस्तो उल्लेख गरेका छन् ।

“हाम्रा स्थापना लक्ष्यमध्ये हामीले पुँजीवादी जनवादी क्रान्ति पूरा गर्‍यौँ । सामन्तवादलाई उन्मूलन गर्ने लक्ष्य पनि पूरा गर्‍यौँ । तर, दलाल पुँजीवादलाई अन्त्य गर्ने र समाजवाद प्राप्त गर्ने लक्ष्य बाँकी छ । हिजोको क्रान्तिले अन्त्य गर्न नसकेको दलाल पुँजीवादलाई अब समाजवादी क्रान्तिले अन्त्य गर्छ र त्यो कार्य समाजवादी कार्यक्रमको अभिन्न कार्य बन्न पुग्छ,” उनले भनेका छन् ।

तर, यी काम/कुरा पूरा नभएको उनले औंल्याएका छन् ।

उनले अबको एउटै लक्ष्य समाजवाद भएको पनि बताएका छन् । समाजवादले दलाल पुँजीवादको पुँजीवादी अधिनायकत्वलाई समाप्त पार्ने र यसैमाथि टेकेर श्रमजीवी वर्गको नेतृत्वमा आम जनताको लोकतन्त्र समाजवादी लोकतन्त्रको स्थापना गर्ने उनले बताएका छन् ।

उनले भनेका छन्, “समाजवादले सबै प्रकारका मानिसहरूले मानिसमाथि शोषन र उत्पीडनको अन्त्य गर्नेछ । र, नेपाली जनतालाई वास्तविक मानवमुक्तिको बाटोमा अघि बढाउनेछ,” नेता खनालले भनेका छन् ।

उनले अब जनताको बहुदलीय जनवाद (जबज) नभएर समाजवाद विकल्प नभएको औंल्याएका छन् ।

नेता खनालको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने जबजको समर्थक हुन् । आफ्नोसमेत पहलमा जबज प्रतिपादन भएको दाबी गर्दै आएका उनले नेकपा (एमाले) त्यागिसकेपछि पनि नछोड्ने बताएका छन् । जबज मूलत: एमालेको राजनीतिक बाटो हो ।

तर, नेता खनालले जबज नभइ अब समाजवादको बाटो हिँड्नुपर्ने बताउँदै आएका छन् । अहिले पनि अध्यक्ष नेपाल र नेता खनालबीच जबजकै सन्दर्भमा आन्तरिक सङ्घर्ष हुने गरेको छ, जुन अहिले पनि जारी छ । नेता खनालको पक्षमा महासचिव घनश्याम भुसालले वकालत गर्छन् । महासचिव भुसालले जबज ‘कम्युनिष्टहरू संसदीय चुनावमा भाग लिन्छन्’ भन्ने घोषणाबाहेक केही नभएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved