विश्वासको मत पाउनेमा मधेसका मुख्यमन्त्री ‘कन्फिडेन्ट’

नेपालभ्युज

विश्वासको मत पाउनेमा मधेसका मुख्यमन्त्री ‘कन्फिडेन्ट’

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिँदैछन् । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको हो ।

यसैबीच मुख्यमन्त्री यादवले आफूले सहजै विश्वासको मत पाउने दाबी गरेका छन् । नेपालभ्युजसँग उनले भने, “विश्वासको मत पाउँछु । यसमा म ढुक्क छु, कन्फिडेन्ट छु ।”

आफूलाई गठबन्धनका सबै दलहरूको समर्थन रहेको उल्लेख गर्दै उनले आफू मुख्यमन्त्री कायम रहने बताए ।

विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । १०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ । सङ्घीय गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताएका छन् ।

त्यसो त गठबन्धनमा रहेका चार दलका ६५ जना सांसदको समर्थन मुख्यमन्त्री यादवलाई देखिएको छ ।

मधेस प्रदेश सभामा नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को १८ सिट छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को ९/९ सिट छ ।

मधेस प्रदेशसभामा नेकपा (एमाले) २३ सिट र सत्ताबाट बाहिरिएको जनमत पार्टीको १३ सिट छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल समाजवादी पार्टी (नेसपा) र नागरिक उन्मुक्ति पार्टी (नेसपा) का १/१ सांसद छन् । महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका संसदीय दलका नेता अभिराम शर्मा भने अहिले फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved