हेटौँडा ४०० केभी सबस्टेसनको निर्माण एक महिनाभित्र सकिने

नेपालभ्युज

हेटौँडा ४०० केभी सबस्टेसनको निर्माण एक महिनाभित्र सकिने

काठमाडौं । हेटौँडा ४०० केभी सबस्टेसन निर्माण एक महिनाभित्र सकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो।

हेटौँडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरूको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरू भइरहेका छन् ।

सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ ।

निर्माण अनुगमनमा पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा सबस्टेसनको काम सन्तोषजनक देखिएको बताए।

कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरूसँग छलफल गरेका थिए। घिसिङले एक महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौँडा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरू छन् । जसको क्षमता ९४५ एमभिए छ ।

धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००/२२० केभीका सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौँडा र इनरुवा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

सबस्टेसनमा १६०/१६० एमभिएका दुई वटा पावर ट्रान्सफर्मरहरू छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी रहेको काम गर्न पुस २०७५मा नयाँ ठेक्का सम्झौता गरिएको  थियो ।

आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभी सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सुरु गरिएको हो ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२/११ केभी हेटौडा सबस्टेसन निर्माण गरिएको हो । यो सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने छ । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved