विजयउत्सव मनाउन कार्यकर्तालाई इमरान खानको आव्हान, खानलाई तह लगाउने सेनाको योजना असफल

अनेक अवरोध पार गरेर खान समर्थक उम्मेद्वारले संसदमा बहुमत ल्याइहाले पनि सरकार गठनका लागि सकस हुने छ । यो पार्टीका सांसद स्वतन्त्र भएकाले पार्टीको निर्देशनअनुसार मतदान गर्नुपर्ने बाध्यतामा उनीहरु हुने छैनन् ।

नेपालभ्युज

विजयउत्सव मनाउन कार्यकर्तालाई इमरान खानको आव्हान, खानलाई तह लगाउने सेनाको योजना असफल

काठमाडौं । जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले आमनिर्वाचनमा विजयी भएको दाबी गर्दै आफ्ना समर्थकलाई उत्सव मनाउन आह्वान गरेका छन् ।

खानसँग जोडिएका स्वतन्त्र उम्मेदवारले धेरै सिट जितेको बताइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामले पनि खानकै पार्टीले अग्रता बनाएको देखाएको छ ।

अर्का पूर्वप्रधानमन्त्री नवाज शरीफले भने आफ्नो पार्टी सबै भन्दा ठूलो भएको दाबी गर्दै आफ्नो दलसँग गठबन्धन गर्न अन्य दललाई आव्हान गरेका छन् । आम निर्वाचनको परिणामले कुनै पनि दलले बहुमत ल्याउन नसक्ने देखिएको छ ।

प्रतिबन्ध लगाए पनि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले पाकिस्तानको राजनीतिमा पहिरो ल्याइदिएको खानका समर्थकले दाबी गरेका छन् । राजनीतिक प्रतिशोधमा खानलाई जेल हालिएको छ ।

सेनाको समर्थन पाएर पनि पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टीले अनपेक्षित हार ब्योहरेको छ । गुप्तचर र सरकारको अनुमान विपरित खानको पार्टी पीटीआई–सम्बद्ध उम्मेदवारको सफलता अप्रत्याशित मानिएको छ ।

पीटीआईले अपेक्षाभन्दा ज्यादा मत ल्याउनु सेनाका लागि निकै ठूलो धक्का भएको छ ।

खानलाइ तह लगाउनका लागि भ्रष्टाचार आरोपमा देश छोडेका शरिफलाई पाकिस्तानको सेनाले मैदान तयार पारिदिएको थियो ।

जेलभित्र रहेका खानलाई त्यहाँका जनताको समर्थन बलियो देखएको छ । तर, उनको पार्टीलाई प्रतिबन्ध लगाएका कारण उनी समर्थित स्वतन्त्र उम्मेद्वारको समूहलाई दलको मान्यता लिने प्रक्रिया भने जटिल हुने देखिन्छ ।

बीबीसीसँग बोल्दै खानका पूर्व विशेष सहायक जुलिफकार बुखारीले भने, “इमरान खानलाई चिनेर अनि हाम्रो पार्टी पीटीआईको लोकतान्त्रिक आचरणलाई बुझेर जनताले दिएको मतलाई सम्मान गर्ने गरि अपवित्र गठबन्धन गर्ने छैनौं । संसदमा बलियो उपस्थिती जनाउनका लागि आफुहरु एउटै ब्यानर बनाएर पार्टीमा आबद्ध हुने बुखारीले बताए ।

खान विरुद्ध लागेका झुटो मुद्दामा उच्च अदालत र सर्वोच्च अदालतले पुर्नविचार गर्ने र उनी रिहा हुने बुखारीले दाबी गरे ।

अनेक अवरोध पार गरेर खान समर्थक उम्मेद्वारले संसदमा बहुमत ल्याइहाले पनि सरकार गठनका लागि सकस हुने छ । यो पार्टीका सांसद स्वतन्त्र भएकाले पार्टीको निर्देशनअनुसार मतदान गर्नुपर्ने बाध्यतामा उनीहरु हुने छैनन् ।

जसले गर्दा जबर्जस्ती उनीहरुलाई अन्यत्र मत दिन बाध्य पार्नसक्ने खतरा पनि छ । महिला र अल्पसंख्यकका लागि आरक्षित तल्लो सदनका ७० वटा सिटमा खानको पार्टी पीटीआईले हिस्सा पाउने छैन । ती सिट पार्टीले प्राप्त गरेको समग्र मतका आधारमा बाँडफाँट हुन्छ ।

पछिल्लो मत परिणामले पाकिस्तानको राजनीतिक संकटले तत्कालै निकास दिन नसक्ने विश्लेषण गरिएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved