सुडानमा युद्ध प्रभावितको सहयोगका लागि चार अर्ब डलर आवश्यक पर्ने

नेपालभ्युज

सुडानमा युद्ध प्रभावितको सहयोगका लागि चार अर्ब डलर आवश्यक पर्ने

जेनेभा । संयुक्त राष्ट्रसंघले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।

सुडानमा गत वर्षको अप्रिलमा सुरु भएको नृशंस द्वन्द्वले मानवीय पतन निम्त्याएको छ । यहाँको आधाभन्दा बढी जनसंख्या अर्थात् करिब दुई करोड ५० लाख मानिसलाई सहायता र संरक्षणको खाँचो परेको छ ।

संयुक्त राष्ट्रसंघीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै भनेका छन्, “१० महिनाको द्वन्द्वले सुडानका जनताको सुरक्षा, घर र जीविकोपार्जनजस्ता लगभग सबै कुरा लुटेको छ ।”

सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमाण्डर मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा पश्चिमी डार्फर क्षेत्रको एउटा सहरमा १० हजारदेखि १५ हजारको मृत्यु भएको संयुक्त राष्ट्रसंघको द्वन्द्व विज्ञले बताएका छन् ।

सुडानमा बढ्दो तनावले भोकमरी निम्त्याएको छ र लगभग एक करोड ८० लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

यसैबीच, तीव्र शत्रुताले पानी आपूर्ति सञ्जाल र अन्य महत्वपूर्ण नागरिक पूर्वाधारमा क्षति पुर्‍याइरहेको छ र द्वन्द्व प्रभावित राज्यहरूमा लगभग तीन चौथाई स्वास्थ्य सुविधाहरू सेवाबाट बाहिर रहेका छन् ।

यससँगै हैजा, दादुरा, औलो जस्ता रोगहरु तीव्र गतिमा फैलिरहेका छन् । यससँगै कुपोषणको बढ्दो दरका कारण पश्चिमी डार्फर क्षेत्रमा विस्थापित व्यक्तिहरूका लागि बनाइएको जमजम शिविरमा प्रत्येक दुई घण्टामा कम्तीमा एक बच्चाको मृत्यु हुने अवस्था सिर्जना भएको ‘डक्टर्स विदाउट बोर्डर्स’ र अन्य संघसंस्थाहरुले यसै हप्ता चेतावनी दिएका छन् ।

लैङ्गिक हिंसाका व्यापक विवरणहरूको बीचमा, युद्धले विश्वको सबैभन्दा ठूलो सुरक्षा र विस्थापन संकट पनि सिर्जना गरेको छ । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार करिब ८० लाख मानिस आफ्नो घर छोडेर भागेका छन्, जसमध्ये १५ लाखभन्दा बढी छिमेकी मुलुक प्रवेश गरेका छन् ।

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले यस वर्ष एक करोड ४७ लाख मानिसलाई देशभित्र अति आवश्यक सहायता उपलब्ध गराउन दुई अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

ग्रिफिथ्सले भने, “दाताहरूको उदारताले हामीलाई बालबालिकालाई खाना, पोषण, आवास, स्वच्छ पानी र शिक्षा प्रदान गर्न तथा लैङ्गिक हिंसाको प्रकोपसँग लड्न र बाँचेकाहरूको हेरचाह गर्न मद्दत गर्दछ ।

“गत वर्षको अपीलको आधाभन्दा कम वित्तपोषित थियो । तात्कालिकताको उच्च भावनाको साथ यस वर्षहामीले अझ राम्रो गर्नै पर्छ ।

यसैबीच संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआरले सुडानका पाँच छिमेकी मुलुकका करिब २७ लाख शरणार्थी र उनीहरूका समुदायका सदस्यलाई सहयोग गर्न थप एक अर्ब ४० करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved