धेरै विधेयक पारित गर्नुपर्ने दबाबमा संसद् र सरकार, सांसदहरुको पनि आफ्नै तयारी

नेपालभ्युज

धेरै विधेयक पारित गर्नुपर्ने दबाबमा संसद् र सरकार, सांसदहरुको पनि आफ्नै तयारी

काठमाडौं । सोमबारदेखि संघीय संसद्‍को हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभाको अर्को बैठक बुधवार बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दलका शिर्ष नेताहरुले बोल्ने सम्भावित कार्यसूची रहेको छ ।

विधेयक अधिवेशनको रुपमा रहेको यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद् र सरकार दुवै छन् । किनभने संविधान कार्यान्वयनसँग जोडिएका कयौं विधेयकहरु पारित हुन सकेका छैनन् । यस अधिवेशनमा प्रस्तुत हुनका लागि सांसदहरुले पनि आ–आफ्नो प्रकारको तयारी गरिरहेका छन् ।

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले विकास निर्माणका कामहरु अस्तव्यस्त भएको र सुशासन कायम हुन नसकेको भन्दै यसतर्फ पार्टीले आवाज उठाउने तयारी गरिरहेको बताए । उनले राष्ट्रिय हितका सवालहरु ओझेलमा परेका भन्दै यो विषयलाई पनि प्राथमिकता दिने बताए ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारले ल्याउने महत्वपूर्ण विधेयकहरुलाई पारित गर्न सशक्त भूमिका खेल्ने बताए । उनले जनजिविका र सार्वजनिक महत्त्वको विषयमा आवाज उठाउने बताए ।

नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले जनताको पक्षमा कानुन बनाउन भूमिका निर्वाह गर्ने बताए । उनले कानुन निर्माणको निम्ति जनताले महशुस गर्नेगरी काम गर्ने बताए ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस अधिवेशनमा कानुनहरु बनाउनका लागि आफ्नो विशेष भूमिका रहने बताए ।

यता, जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमा जलवायु परिवर्तनका असरहरुको सम्बन्धमा कुरा उठाउने तयारी गरेको बताए । उनले तराईमा पानीको सतहमा समेत असर परिरहेको भन्दै यसतर्फ संसदमार्फत् ध्यानाकर्षण गराउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved