चुनाव हारेकी दुर्गालाई राष्ट्रिय सभामा मनोनीत गर्ने तरखर, महामन्त्री पत्नीलाई सधैँ अवसर,

गत चुनावमा प्युठानबाट उनलाई उठाउन नहुने मत मसालमा निकै बलियो थियो । तर, महामन्त्री सिंहले श्रीमतीलाई नै अगाडि बढाएपछि पार्टीमा आन्तरिक विवाद पनि चुलियो । एकथरी समूह समानान्तर समिति नै बनाएर अघि बढिरहेको छ ।

नेपालभ्युज

चुनाव हारेकी दुर्गालाई राष्ट्रिय सभामा मनोनीत गर्ने तरखर, महामन्त्री पत्नीलाई सधैँ अवसर,

काठमाडौं । राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने निर्णय सत्तारूढ गठबन्धनले गरिसकेको छ । उनी मोर्चाको मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी पत्नीसमेत हुन् ।

त्यसो त अहिले मसाल विभाजित छ । विभाजित भएर बनेको नयाँ मसालको केन्द्रीय समन्वय समितिको नेतृत्व पूर्वसांसद सन्तबहादुर नेपालीले गरिरहेका छन् । समितिको प्रवक्ता कृष्णराज पौडेल छन्, जसको नेतृत्वमा जनमोर्चाको समानान्तर समिति छ ।

सन्तबहादुर नेपाली, कृष्णराज पौडेललगायतका नेताहरूले पार्टी विभाजन गर्दा वर्तमान नेतृत्व संसदीय भासमा डुब्दै गएको आरोप लगाएका थिए । अहिले मसाल मोहनविक्रम सिंहको नेतृत्वमा छ भने खुल्ला सङ्गठन जनमोर्चाको नेतृत्वमा चित्रबहादुर केसी छन् ।

उनीहरूले नेतृत्व गरेको पार्टी र मोर्चा सत्तालिप्सामा डुबेको आरोप असन्तुष्ट नेताहरूको छ । उनीहरूले अहिले जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय सभाको मनोनीत सिट पाउनु पनि त्यसकै एउटा रूप रहेको बताउँछन् ।

“अहिले उहाँहरू दक्षिणपन्थी भासमा डुबिसक्नुभयो । सत्ताका लागि जे पनि गर्ने भन्ने ठाउँमा पुग्नुभयो । निकै पहिलेदेखि यो भइरहेको छ । अहिले हुनुलाई नौलो मान्ने कुरा भएन,” कृष्णराज पौडेलले नेपालभ्युजसँग भने ।

त्यसो त जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्ने सहमति नबनेको बताउँछन् अध्यक्ष चित्रबहादुर केसी । तर, कतिपय विषय मोहनविक्रम सिंह आफैँले माथिबाटै अगाडि बढाउने हुँदा केसीलाई समेत थाहा नहुने बताइन्छ ।

एक नेताले बताएअनुसार यो विषय पनि यस्तै भएको हो । “कतिपय विषय मोहनविक्रम सिंहजीले आफैँले माथिबाटै गर्नुहुन्छ । त्यसो हुँदा चित्रबहादुर केसीजीलाई थाहा हुँदैन । यो विषय पनि त्यस्तै हुनुपर्छ । मोहनविक्रम सिंहजीले भनेपछि प्रचण्डजी, शेरबहादुरजीहरूले पनि सिधै नकार्देनन् । किनभने मोहविक्रम सिंहजीको आफ्नै विरासत पनि छ,” ती नेताले भने ।

हुन त नेपालको कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम सिंहको छुट्टै परिचय र विरासत छ । तर, अहिले त्यो विरासत र परिचय हराएको भन्दै उनको आलोचना हुन थालेको छ । हुन पनि नेपालका कम्युनिष्ट पार्टीमध्ये मसाल वामपन्थकै निकट छ भनेर संश्लेषण गरिन्थ्यो । तर, अवसरैपिच्छे आफ्नै श्रीमती अगाडि बढाउँदा मोहनविक्रम सिंहको आलोचना पनि बढ्दै गएको छ ।

“पहिले यस्तो कुरा एमाले, माओवादीसम्म ठीकै नै भनिन्थ्यो । तर, मसालसम्मै आइपुग्दा चाहिँ त्यो भएन । यस्तो हुनु नहुने हो । जे गरिँदैछ, जे भयो । त्यो हुन नहुने काम भयो,” ती नेताले भने ।

दुर्गा पौडेल गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेता हुन् । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्युठानमा पौडेललाई नेकपा (एमाले) का सूर्य थापाले ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । जबकी दुर्गा पौडेल गठबन्धनकी उम्मेदवार थिइन् । प्रतिनिधि सभामा पराजित भएर फेरि मनोनीत सिटमै राष्ट्रियसभा छिर्ने तयारी भएपछि आलोचना सुरू भएको छ ।

पार्टीमा धेरै ठूलो योगदान नभए पनि हरेकपटक मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई अगाडि बढाउने गरेको आरोप लाग्दै आएको छ । झिमरुक गाउँपालिका ५ ओखरकोट, प्युठानकी पौडेलले पटक-पटक अवसर पाउँदै आएकी छन् । उनले ०५६ सालको निर्वाचनमा कपिलवस्तु र ०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी पाएकी थिइन् ।

२०७० सालको दोस्रो संविधानसभा चुनावपछि महामन्त्री सिंहले पत्नी पौडेललाई समानुपातिक सांसद बनाए । त्यसबेला पनि अन्य थुप्रै नेताहरु दाबेदार थिए । तर, दुर्गाको अगाडि अरुको जोड चल्ने कुरै भएन ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले प्युठानबाट टिकट पाइन । वाम गठबन्धनकी उम्मेदवार बनेकी उनले नेपाली कांग्रेसका गोविन्दराज पोखरेललाई झन्डै ९ हजार मतान्तरले पराजित गरेकी थिइन् ।

दुई पटक सांसद भइसकेकाले गत चुनावमा प्युठानबाट उनलाई उठाउन नहुने मत मसालमा निकै बलियो थियो । तर, महामन्त्री मोहनविक्रम सिंहले श्रीमतीलाई नै अगाडि बढाए । पार्टीमा आन्तरिक विवाद पनि चुलियो । एकथरी समूह समानान्तर समिति नै बनाएर अघि बढिरहेको थियो । यो पटक उनले चुनाव हारिन एमालेका सुर्य थापासँग ।

त्यतिबेला पौडेलको स्थानमा जोसुकैलाई उम्मेदवार बनाएको भएपनि पार्टी जित्ने अवस्था रहेको मसालकै नेताहरू बताउँछन् । किनकि उनी अघिल्लो कार्यकालका कारण निकै अलोकप्रिय बनेकी थिइन् । दुर्गा पौडेलकै लागि भनेर मोहनविक्रम सिंहले तत्कालीन गठबन्धनमा पनि प्युठानको सिट आफैँलाई चाहिने अडान राखेका थिए ।

अहिले फेरि राष्ट्रिय सभाको मनोनीत कोटामा पनि उनलाई नै लैजाने सहमति भएको खबर आएपछि सिंहकै पछि लागिरहेका धेरै नेता/कार्यकर्ताहरूले पनि नाक खुम्च्याउन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved