टुटलको ‘टुट–फुट’ कथा

जन्मिएसँगै बजारमा टुटलको एकाधिकार : पठाओले पार्‍यो थला, इन्ड्राइभ आएपछि सञ्चालक पक्राउ

नेपालको पहिलो राइड सेयरिङ कम्पनीको रूपमा उदाएको टुटल सर्वसाधारणको रोजाइमा पर्‍यो । प्रशासनले धेरै पटक बन्द गराउन खोज्दा जनदबाबका कारण बन्द हुन पाएन । तर, पठाओ नेपाल भित्रिएपछि आफैँ प्रतिस्पर्धा गर्न नसकेर बन्द भयो । पछि सञ्चालकले समेत शेयरसहित कपिराइट्स बेचे । तर, आफैँले कम्पनी चलाउने विश्वासघाती काम गरेको आरोपमा पक्राउ परे ।

नेपालभ्युज

जन्मिएसँगै बजारमा टुटलको एकाधिकार : पठाओले पार्‍यो थला, इन्ड्राइभ आएपछि सञ्चालक पक्राउ

काठमाडौं । २०७२ को कात्तिकतिर मुलुकमा इन्धनको चरम संकट थियो । भारतीय नाकाबन्दी र सीमा नाका अवरोधका कारण पर्याप्त इन्धन भित्रिएको थिएन । भारतबाट सीमित मात्र भित्रिएका इन्धनका ट्याकंरले देशको माग धान्न सक्ने कुरा भएन ।

इन्धन नपाएर जोर बिजोर प्रणाली लागू गरिएका सार्वजनिक बससमेत चल्न मुस्किल थियो । सार्वजनिक सवारीहरू लगभग ठप्प जस्तै थिए ।

त्यो बेलामा सर्वसाधारण आवतजावतका लागि ‘लिफ्ट कल्चर’ लोकप्रिय भयो । निजी सवारी साधन कुरिरहेका यात्रुलाई धेरै मोटरसाइकल, स्कुटी चालकले आफ्नो रुटमा लिफ्ट दिएर सहयोग गरे ।

चोकचोकमा गाडी कुरिरहेका र बाटोमा हिँडिरहेकालाई मोटरसाइकल र स्कुटी चालकले गन्तव्यमा छाडिदिए । यी सहयोग थियो, बिना पैसा ।

नाकाबन्दीपछि पनि नेपाली युवाको समूहले त्यही ‘लिफ्ट कल्चर’लाई व्यावसायिक रूप दिने गरे सोच बनाए । शिक्षित भट्टको समूहले राइडिङ शेयरिङ एप्स ‘टुटल एप’ सञ्चालनमा ल्यायो । नेपालअघि यस्तो एप विश्वका धेरै देशहरूमा प्रचलनमा थियो । काठमाडौंमा टुटलले यसको सुरुआत गर्‍याे ।

प्रचारप्रसार बिस्तारै बढ्दै गयो । राइडर र यात्रुहरू बढ्दै गए । कम्पनी खोलेको वर्ष दिनपछि २०७३ तिर कम्पनी नाफामा गयो । त्यतिबेला धेरैले टुटलको नाम सुनिसकेका थिए ।

भाडा लिएर मोटरसाइकलमा यात्रुहरू ओसार्ने टुटल सेवालाई ग्राहकले रुचाउँदै थिए । स्थापनाको २ वर्षमा त कम्पनी उच्च नाफामा गयो । ट्याक्सीको महँगो मूल्य र ठगीको कारण युवा पुस्ताको रोजाई सस्तो टुटल थियो ।

ट्याक्सी चढ्ने यात्रु जति टुटलमा चढेपछि ट्याक्सी व्यवसायीले कयौँ पटक अवरोधको प्रयास गरे । सरकारको निगरानीमा टुटल पर्न थाल्यो । रातो नम्बर प्लेट भएको सवारीले यात्रु बोकेर व्यापार गर्न नपाउने भन्दै सरकारले कारबाहीको चेतावनी दियो ।

तर, आम सर्वसाधारणले सरकारको विरोध गरे । टुटलप्रति आमयुवाको समर्थन जुट्यो । किनकि ट्याक्सीवालाको ठगीबाट टुटल प्रयोगकर्ताले मुक्ति पाएका थिए । जनसमर्थनकै कारण टुटल बन्द हुन पाएन । २०७५ सम्म टुटलले बजारमा एकाधिकार जमायो, जबसम्म पठाओ एप्स आएको थिएन ।

टुटलको प्रयोग उच्च हुन थालेपछि बङ्गलादेशको यस्तै खाले अर्को ‘पठाओ’ नेपाल छिर्‍यो । उसले प्रचार तीव्र बनायो । राइडर र यात्रुलक्षित नयाँनयाँ स्कीम ल्यायो । टुटलभन्दा सस्तो सेवा दियो । राइडरहरू सबै पठाओमा आकर्षित भए ।

यात्रुलाई पनि राइडर सजिलै नपाउने समस्या भयो, पठाओ तिरै गए । तब टुटल बिस्तारै ओरालो लाग्यो । टुटलको एकाधिकार खोस्दै पठाओ अघि बढ्यो । बिस्तारै टुटलका प्रयोगकर्ता घट्दै गए ।

पठाओको लोकप्रियता बढ्दै जाँदा टुटल निरन्तर ओरालो लागिरह्यो । फेरि अझै सस्तो सेवा दिने ‘इनड्राइभ’को प्रवेश भयो । ‘इनड्राइभ’ र पठाओसँग प्रतिस्पर्धा गर्न सकेन ।

अरूसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन सञ्चालक शिक्षितलाई लगानीको खाँचो थियो । यसका लागि उनले विभिन्न लगानीकर्तासँग सहकार्य गर्दै आएका थिए । पछि २०७८ को पुसतिर शिक्षित मण्डला डिजिटल होल्डिङ्स प्रालिमा लगानी प्रस्ताव लिएर पुगे ।

टुटलको गुडवीलसहित सम्पत्ति १२ करोड मुल्याङ्कन गरियो । मण्डला डिजिटल होल्डिङ्सले १० प्रतिशत सेयर किन्ने सहमति भयो । त्यसको लागि टुटल नेपाललाई १ करोड २० लाख रुपैयाँ दिने सहमति भएको थियो ।

यो रकम कम्पनीले एकैपटक दिने नभई पहिले आधा ६० लाख दियो । टुटलले निश्चित लक्ष्य पूरा गरेपछि बाँकी पैसा दिने सहमति थियो । मण्डलाले ६० लाख लगानी गरेपछि शिक्षितले एप्स राम्रो बनाउने र प्रयोगकर्ताको रोजाइमा पार्ने प्रतिबद्धता जनाएका थिए ।

तर, टुटलको न एप राम्रो भयो, न त प्रयोगकर्ताको रोजाइमै पर्‍यो । अझ टुटलमा काम गर्ने कर्मचारीको तलबै ३ महिना रोकियो । आफूले ६० लाख हालिसकेको मण्डलाले यसमा चासो देखायो । शिक्षितले पछि यी सबै समस्या समाधान गरे ।

कम्पनी चलाउन नसक्ने भए अहिलेका लागि यसलाई होल्ड गरेर राख्ने मण्डलाको तर्क थियो । प्रयोगकर्ताको रोजाइमा नपरेपछि थप लगानी गर्नुको अर्थ नभएको निष्कर्ष भयो । एप होल्ड गर्नु नै उचित हुनेमा सबै लगानीकर्ता सहमत भए ।

अन्ततः टुटलको सेवा बन्द गरियो । प्रशासनले धेरै पटक बन्द गराउन खोज्दा जनदबाबका कारण बन्द हुन पाएन । तर, पठाओ नेपाल भित्रिएपछि आफैँ प्रतिस्पर्धा गर्न नसकेर घिस्रेर चलिरहेको टुटल इनड्राइभरको लोकप्रियतासँगै बन्द भयो । बन्द हुन पुगेको टुटललाई गत भदौ २९ देखि ज्याप नामक कम्पनीले पुनः सञ्चालनमा ल्याएको थियो ।

तर, पहिला १० प्रतिशत शेयर बेचिएको मन्डलालाई खबर गरिएन । यसबारे आफूहरूले शिक्षितलाई सोध्दा सधैँ आलटाल गरेको मण्डलाको आरोप छ ।

‘‘कहिले आफूले चलाएको होइन भन्ने, अरुलाई पनि बेचेको छैन भन्ने, कहिले पासवर्ड कसरी बाहिर गयो र अरूले चलायो भन्ने थाहा छैन भन्नेलगायत उत्तर आउन थाल्यो । त्यसपछि हामीले अदालत गएका हौँ’’ मण्डलाका एक प्रतिनिधिले भने ।

मण्डला डिजिटल होल्डिङ्सले पत्र पठाएरै यो विषय प्रस्ट पार्न भने पनि शिक्षितले जवाफ नदिएको कम्पनीको दाबी छ । यसपछि मण्डला डिजिटल होल्डिङ्स प्रालिकातर्फबाट शिवांक थापाले शिक्षितलाई विपक्षी बनाई रिट दायर गरे ।

मन्डला अदालत गएपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजलासले टुटल एप प्रयोग नगर्न \ नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । फेरि शिक्षित एक्लैले पुन सञ्चालन गरेको टुटल बन्द भयो । रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता अञ्जन न्यौपानेले बहस गरेका थिए ।

यही मुद्दाको सिलसिलामा टुटलका संस्थापक शिक्षित शुक्रबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौं टेकुको टोलीले भट्टलाई बिहीबार पक्राउ गरेको हो । उनीविरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए । उनले भने, ‘उजुरी आएको छ । यस्ता उजुरी अरू पनि छन् ।’’

कतिपयले भने शिक्षितले कम्पनीको शेयर अरुलाई पनि बेचेका थिए । कपिराईट्ससमेत अरुलाई दिएका थिए । तर, अरुलाई नदिई आफैँले चलाइरहे । यसकारण शिक्षितमाथि कपीराइट्स र आपराधिक जालसाजीको उजुरी परेको छ । उनले कम्पनी चलाउन नसकेपछि १ करोडमा कम्पनी बेचेको र आफ्ना साझेदारलाई रकम नदिएको भन्ने आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved