भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्दै : परराष्ट्रमन्त्री साउदले गरे पूर्वपरराष्ट्र मन्त्री र राजदूतसँग छलफल

नेपालभ्युज

भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्दै : परराष्ट्रमन्त्री साउदले गरे पूर्वपरराष्ट्र मन्त्री र राजदूतसँग छलफल

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउँदै छन् । नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेपछि नेपालको तर्फबाट तयारी तीव्र छ ।

तयारी स्वरूप परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूसँग छलफल गरेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका सिलसिलामा उनले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा पूर्वपरराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव दिएका थिए ।

उनीहरूले भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेकोमा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिएको सचिवालयले जनाएको छ ।

बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने सुझाव आएको छ ।

क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुट लगायतका विषय सम्बोधन गर्नुपर्ने आदि विषयमा पनि सुझावहरू दिएको भेटमा सहभागी एक पूर्व राजदूतले जानकारी दिएका छन् ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्र मन्त्री डा भेषबहादुर थापा, पूर्वपरराष्ट्र सचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved