ईश्वर पोखरेलको प्रश्न- कोशी प्रदेशको नामाकरण एमालेले गराएको हो ?

नेपालभ्युज

ईश्वर पोखरेलको प्रश्न- कोशी प्रदेशको नामाकरण एमालेले गराएको हो ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढंगले आफैंले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने उनले टिप्पणी गरे ।

आइतवार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनैपनि खालको गतिविधिविरुद्ध एमाले लाग्ने चेतावनी समेत दिए ।

उनले कोशी प्रदेशको नामाकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र ? भनी प्रश्न गरे । उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोप समेत लगाए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रश्न गरे, ‘मधेस प्रदेशको बारेमा एमालेका फरक दृष्टिकोण थियो । हामीले मिथिला वा केही राख्नुपर्छ भनेका थियौं । तर प्रक्रियाबाट टुंगो भयो, सक्कियो नि । मधेश प्रदेश राखियो । सिद्धियो । अब त्यसमा हामीले यो भएन भनेर बितण्डा गर्न मिल्छ ?’

कोशी प्रदेशको नामाकरण एउटा प्रक्रियाबाट ९० प्रतिशत सांसदले मत दिएर टुङ्ग्याएको विषय उल्लेख गर्दै उनले सोधे, ‘के मारकाटमा उत्रेर त्यो समस्याको समाधान हुन्छ ?’

उनले एमाले पहिचान पक्षधरहरूको आन्दोलनको विपक्षमा रहेको स्पष्ट पारे । उनले एमाले बैठकले निर्णय गरेर नभएर प्रदेश सभाले नामाकरण गरेको स्मरण गराए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबी समेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved