आईसीआरसी प्रमुखले भनिन्: गाजामा मानवीय पीडा ‘असहनीय’ छ

नेपालभ्युज

आईसीआरसी प्रमुखले भनिन्: गाजामा मानवीय पीडा ‘असहनीय’ छ

जेनेभा । प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार युद्धग्रस्त गाजा पुगेकी छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले अध्यक्ष मिर्जाना स्पोल्जारिकको यस क्षेत्रको भ्रमण विभिन्न चरणमा हुने र आगामी हप्ताहरूमा इजरायलको भ्रमण हुने अपेक्षा गरिएको जनाएको छ ।

‘म गाजा आइपुगेको छु, यहाँ मानिसहरुको पीडा असह्य छ,’ स्पोल्जारिकले ट्वीटरमा लेखेकी छन् ।

‘गाजामा सर्वसाधारणको लागि कुनै सुरक्षित स्थान नहुनु अस्वीकार्य छ र सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव छैन,’ आईसीआरसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हमासद्वारा बन्धक बनाइएका इजरायली बन्धक र इजरायलले कब्जामा लिएका प्यालेस्टिनी कैदीहरूलाई पर्याप्त सहयोग नगरेको भन्दै द्वन्द्वमा दुवै पक्षबाट आलोचना खेप्दै आएका स्पोल्जारिकले ‘स्वतन्त्रताबाट बञ्चित सबैलाई मानवीय व्यवहार गरिनुपर्ने’ मा जोड दिइन् ।

उनले भनिन्, ‘बन्धक बनाइएकाहरूलाई रिहा गरिनुपर्छ र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्छ ।’

कतार, संयुक्त राज्य अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले सयौं बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भई शुक्रबारदेखि पूर्ण रूपमा युद्ध सुरु भएपछि उनी गाजा पुगेकी हुन् ।

अक्टोबर ७ मा इस्लामिक लडाकू समूहले गरेको आक्रमणको बदलामा इजरायलले हमासलाई परास्त गर्ने प्रतिबद्धता जनाएको छ । अक्टोबर ७ को हमास आक्रमणमा एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणपछि हमासले २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन् ।

इजरायली सेनाले युद्ध सुरु भएयता करिब १० हजार हवाई आक्रमण गरेको आइतबार जनाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा १५ हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।

‘म नागरिकहरूको दुर्दशाप्रति मेरो गहिरो चिन्ता व्यक्त गर्नेछु र आईसीआरसीको उनीहरूको पीडा कम गर्न हामीले गर्न सक्ने सबै प्रयास गर्ने पूर्ण प्रतिबद्धतालाई जोड दिनेछु,’ आईसीआरसी अध्यक्ष स्पोल्जारिकले भनिन् ।

आइसिआरसीका अनुसार गाजा भ्रमणका क्रममा स्पोल्जारिकले स्थानी रेडक्रस टोलीसँग पनि समय बिताउने र ‘युरोपेली अस्पतालको भ्रमण गर्ने बताइएको छ । गाजामा आईसीआरसीका मेडिकल टोलीले स्थानीय स्वास्थ्यकर्मीसँग मिलेर जीवनरक्षाका लागि अभियान (उपचार सेवा) चलाइरहेका छन् ।

‘हामीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार सबै पक्षबाट नागरिक जीवनको रक्षा र सम्मान गर्न तत्काल अपिल गरेका छौं, र म आज पनि त्यही अपील दोहोर्‍याउँछु’, स्पोल्जारिकले भनिन्, ‘सहायताको निर्बाध र नियमित प्रवाहलाई अनुमति दिनुपर्दछ ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved