नेपालमा ‘खोस्टासरह’ बनेको ८ करोड भारु अब के हुन्छ ?

राष्ट्र बैंक भन्छ- साट्ने प्रयास भइरहेको छ, पूर्वगभर्नर क्षेत्री भन्छन्- भारतले हेपेर साटेन

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा एक हजारका १६, ५५२ थान रहेको र पाँच सयका ६८,१४७ थान नोट विभिन्न बैंकमा थन्किएका छन् ।

नेपालमा ‘खोस्टासरह’ बनेको ८ करोड भारु अब के हुन्छ ?

काठमाडौं । सन् २०१६ मा भारत सरकारले पाँच सय र एक हजारका नोटमाथि प्रतिबन्ध लगायो । नोट प्रतिबन्धसँगै अर्बौं भारतीय रुपैयाँ काम नलाग्ने भए । त्यसको असर नेपालमा पनि पर्यो । त्यतिबेला नेपालका विभिन्न बैंकहरुमा रहेको ८ करोड १० लाख भारतीय रुपैयाँ अझै साटिएको छैन ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा एक हजारका १६, ५५२ थान रहेको र पाँच सयका ६८,१४७ थान नोट विभिन्न बैंकमा थन्किएका छन् । ती मुद्रा सटहीका लागि राष्ट्र बैंकबाट पटक–पटक भएका प्रयास असफल भएका छन् ।

भारतले ठूला नोट प्रतिबन्धसँगै भुटानलगायत देशमा प्रबाह भएको नोट फिर्ता लिएको थियो । तर नेपालमा भएका नोटबारे भने भारतले खासै चासो नदिएको राष्ट्र बैंकका एक कर्मचारीले बताएका छन् ।

नेपालले गरेका अनेक प्रयास असफल

नेपालमा करोडौंको भारतीय नोट अड्किएपश्चात दुई देशबीच पटक–पटक छलफल भए । तर, कुनै निष्कर्ष निस्कन सकेन । यद्यपि, भारतीय रिजर्भ बैंकले भने राजनीतिक तहबाट निर्देशन प्राप्त भएको अवस्थामा नेपालमा रहेको भारतीय नोट फिर्ता लिन सक्ने जनाएको राष्ट्र बैंकका एक कर्मचारी बताउँछन् ।

‘सरकारी पक्ष, राष्ट्र बैंकलगायत विभिन्न सम्बन्धित निकायबाट पटक–पटक प्रयास त गरिएको थियो तर पनि केही उपलब्धी भएन’, राष्ट्र बैंकका सह–प्रवक्ता दिल्लीराम पोखरेल भन्छन्, ‘अझै पनि ती नोट साट्नका लागि पहल भइरहेको छ ।’

पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले भारतले नेपाललाई हेपेर नै मुद्रा सटही नगरिदिएको बताएका छन् । उनका अनुसार नेपाल सरकार, राष्ट्र बैंकले पटकपटक प्रयास गरे पनि भारतले वास्ता नगरेको कारण अहिलेसम्म नोट सटही हुन सकेको छैन । आफ्नो देशको नोट नचल्ने भइसकेपछि अन्य देशबाट फिर्ता लिनु दायित्व हुन्छ । यद्यपि, नेपाल र नेपालीलाई अन्य क्षेत्रमा जस्तै घुँडा टेकाउने रणनीतिस्वरुप भारतले जानीजानी सटहीमा बेवास्ता गरेको पूर्वगर्भनर क्षेत्री बताउँछन् ।

‘अरु क्षेत्रमा जस्तै नेपालीलाई घुँडा टेकाउने भारतको रणनीति हो यो,’ उनले भने ‘आगामी दिनहरुमा केही ठूला परियोजनाका कुराहरुमा ल ले न त हामी साट्दिन्छौं भनेर गुन लगाएको जस्तो बनाउनलाई समय पर्खेर बसेका छन् ।’

नेपाल र भारतको सम्बन्ध राम्रो छ भनेर दुई देशका वरिष्ठ व्यक्तिहरुले भनिरहे पनि त्यसलाई व्यवहारमा उतार्न नसकेको उदाहरणको रुपमा यसलाई पनि लिन सकिने उनी बताउँछन् । नेपालका विभिन्न बैंकहरुमा थन्किएका ती करिब ८ करोड भारतीय नोट सटहीमा आश मार्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved