वामएकताको बहससँगै बढेको सत्तासमीकरण फेरबदलको कसरत !

आफ्ना लागि ‘ओच्छ्यानमाथिको घट्ट’ भएको संक्रमण न्यायसम्बन्धी मुद्दा अरुले टुंग्याउलान् भन्नेमा प्रचण्ड विश्वस्थ छैनन् । उल्टै उनलाई देउवा–ओलीले कुनै पनि बेला अप्ठेरोमा पार्नसक्ने त्रास छ । त्यसैले उनी जसरी पनि अझै केही समय प्रधानमन्त्री हुन चाहन्छन् ।

नेपालभ्युज

वामएकताको बहससँगै बढेको सत्तासमीकरण फेरबदलको कसरत !

काठमाडौं । पछिल्लो समय वामएकताको चर्चाले राजनीतिक माहोल भित्रभित्रै गर्माएको छ । खासगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दोस्रो तहका नेताबीच पार्टी एकीकरणबारे दुई चरण आवासीय बैठक भएको कुराले दुवै पार्टीभित्र तरंग ल्याएको छ ।

विगतको असफल प्रयासबाट तर्सिएका कार्यकर्ताहरू फेरि उस्तै जोखिम मोल्नुपर्ने भयबाट ग्रस्त छन् । कतिपय कार्यकर्ता भने पार्टी एकताको हल्लाबाट उत्साहित पनि छन् ।

स्रोतका अनुसार दुवै पार्टीका दोस्रो तहका नेताबीच फेरि पार्टी एकीकरण गर्ने कुरामा सैद्धान्तिक सहमतिसमेत भइसकेको छ । खासगरी संगठन ‘मर्ज’ गर्दा कुन विधि अपनाउने भन्नेमा नै दुवै पार्टीमा नेताहरू केन्द्रित छन् ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठकमै ‘दुई अध्यक्ष भएर पार्टी एकता नगर्ने’ अभिव्यक्ति दिए । उनको उक्त अभिव्यक्तिले पनि पार्टी एकताबारे बहस भइरहेको प्रष्ट संकेत गर्छ ।

दुई पार्टीबीच भएको एकता र विघटनको घटना ताजै छ । विघटनपछि दुवै पार्टीका अध्यक्षले पार्टी एकताप्रति नराम्ररी पछुतो माने । उनीहरूले एकअर्काको उछितो काढे, सत्तोसराप गरे ।

अझ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि एमालेविरुद्ध अरु दलहरू एक भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ओलीभन्दा नेपाली कांग्रेस प्यारो लाग्न थाल्यो ।

परिणामतः करिब दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार ढल्यो । माओवादी र कांग्रेससहितका ठूला दलहरू एमालेविरुद्ध झन् सशक्त भएर एक भए । उनीहरू मिलेर चुनाव लडे, मिलेरै सरकार चलाइरहेका छन् ।

तर, अहिले एक्कासी किन आयो वामएकताको चर्चा ?

स्रोतका अनुसार अहिले नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सरकारको नेतृत्व फेर्न दबाब दिइरहेको छ । अर्थात् दुई दलबीच भएको सहमतिअनुसार प्रचण्डले सरकारको नेतृत्व छाड्नुपर्ने मिति नजिकिँदैछ ।

तर, प्रधानमन्त्री प्रचण्ड सरकारको नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । खासगरी संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको छिनोफानो गर्ने अर्थात् शान्ति प्रक्रियालाईं टुंगोमा पुर्‍याएर मात्रै सरकारको नेतृत्व छाड्न चाहन्छन् प्रचण्ड ।

किनकि आफ्ना लागि ‘ओच्छ्यानमाथिको घट्ट’ भएको संक्रमण न्यायसम्बन्धी मुद्दा अरुले टुंग्याउलान् भन्नेमा उनी विश्वस्त छैनन् । उल्टै उनलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा-ओलीले कुनै पनि बेला अप्ठेरोमा पार्नसक्ने त्रास छ । त्यसैले प्रचण्ड जसरी पनि अझै केही समय प्रधानमन्त्री हुन चाहन्छन् ।

तर, नेपाली कांग्रेस ‘प्रचण्डीय चाहना’को बर्खिलापमा छ । कांग्रेस सभापति देउवा सरकारले जे गर्दा पनि सहेर बस्नुका पछाडि थुप्रै कारण छन् । त्योमध्येको एक प्रधान कारण हो— प्रधानमन्त्रीको क्यू !

कांग्रेसभित्रै सरकारका कामको चरम आलोचना भइरहँदा पनि देउवा मौन छन् । बालकृष्ण खाण जेल जाँदा पनि मौन बसेका देउवालाई जंग चलाउनु खतरानाक हुने कुरा प्रचण्डले राम्रैसँग बुझेका छन् । त्यसैले देउवालाई सत्ता सुम्पनुभन्दा पहिल्यै एमालेसँग मिलेर सरकार बनाउन चाहन्छन् उनी ।

अहिले कांग्रेसलाई धोका दिएर एमालेसँग सरकार बनाउनु राजनीतिक बेइमानी हुन्छ । तर, त्यस्तो बेइमानी गर्न प्रचण्डलाई गाह्रो पर्दैन । किनकि उनी कांग्रेससँग मिलेर, चुनाव जितेर, एमालेको समर्थनमा प्रधानमन्त्री भएर, फेरि एमालेलाई धोका दिएर, फेरि कांग्रेससँगै मिलेर सरकार बनाउन सक्ने नेता हुन् ।

तर, उनलाई अहिले एमालेले यति सजिलै बेइमानी गर्ने वातावरण नबनाइदिनसक्छ । त्यसैले उनी एमालेसँग पार्टी एकताकै पहल गरिरहेका छन् । पार्टी एकता गर्ने प्रतिबद्धता गरेरै भए पनि एमालेको समर्थमा प्रधानमन्त्री पद लम्ब्याउन चाहन्छन्, प्रचण्ड ।

एमालेलाई जसरी पनि गठबन्धन भत्काउनु छ । त्यसका लागि अहिलेको सरकार ढालेर फेरि आफ्नो समर्थनमा प्रचण्डकै सरकार बनाउन पनि एमाले तयार हुने सम्भावना प्रबल छ । वामएकता होला/नहोला, तर अहिलेको सत्ता समीकरण फेरबदलको कसरत भने भइरहेकै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved