इजरायललाई आक्रमणको धम्की दिने ‘हिजबुल्लाह’सँग कति छ शक्ति ?

इजरायलविरुद्धको आक्रमणमा हमासलाई साथ दिइरहेको हिजबुल्लाह के हो ?

यदि इजरायल हिजबुल्लाहसँग युद्ध गर्न जान्छ भने, यसले कुनै देशभन्दा धेरै हतियार भएको एउटा समूहको सामना गर्नेछ। हिजबुल्लाहसँग डेढ लाख रकेट मिसाइल छन् भने ६० हजार लडाकु रहेको अनुमान गरिएको छ।

नेपालभ्युज

इजरायललाई आक्रमणको धम्की दिने ‘हिजबुल्लाह’सँग कति छ शक्ति ?

एजेन्सी। अक्टोबर ७ मा हमासले इजरायलमा हजारौँ रकेट हान्यो । बदलामा इजरायलले घातक हमला गरेर गाजा स्ट्रिपलाई ध्वस्त बनाएको छ ।

यसबीचमा लेबनानको लडाकु समूह हिजबुल्लाहले समेत सीमा क्षेत्रबाटै इजरायलतर्फ रकेट आक्रमण गरेको छ । यस्तोमा इजरायलविरुद्धको कारबाहीमा हमासलाई सहयोग गर्ने हिजबुल्लाह कस्तो समूह हो र कति हतियार छ भन्ने चासो बढेको छ।

अझ उसले गाजामा आक्रमण रोक्न नसके युद्धको दायरा बढ्न सक्ने चेतावनी इजरायललाई चेतावनी दिँदैआएको छ । युद्ध हाल नियन्त्रणमा रहे पनि हिजबुल्लाहले गाजामा आक्रमण नरोके आफूले आक्रमणको दायरा बढाउने इजरायललाई चेतावनी दिइरहेको छ।

यो चेतावनीका कारण इजरायल–लेबनान सीमामा युद्ध हुने डर देखिएको छ। इजरायल र हमास बीचको युद्धपछि अमेरिकी युद्ध पोतहरू इजरायललाई सहयोग गर्न आएका छन् । तर, इरान समर्थित हिजबुल्लाह सङ्गठनका दुई ठुला नेताहरूले युद्ध नरोके थप आक्रमण गर्ने चेतावनी दिइरहेका हुन् ।

हिज्बुल्लाहका दोस्रो सर्वोच्च नेता शेख नइम कासिमले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका छन्, “मध्यपूर्वमा धेरै गम्भीर र खतरनाक अवस्थाहरू आउन सक्छन् र कसैले पनि यसको प्रभाव रोक्न सक्नेछैन।’’ त्यसअघि हिज्बुल्लाहका प्रमुख हसन नसरल्लाहले अमेरिकालाई चेतावनी दिएका थिए ।

इजरायल र हमास बीचको युद्धपछि प्रतिरोधमा आएका अमेरिकी युद्ध पोतहरूका लागि हिजबुल्लाहसँग धेरै हतियार भन्डार रहेको बताएका थिए ।

उनले भनेका थिए, “कुनै पनि लेबनानी युद्धबाट डराउनेछन् । यस्तो हुनु सामान्य कुरा हो । युद्ध कसैलाई मन पर्दैन। तर इजरायलीहरूलाई शान्ति कायम राख्न भन्नुहोस्, ताकि युद्ध थप नबढोस्। हरेक सम्भावनाको जवाफ हुन्छ। हिजबुल्लाहसँग धेरै क्षमता छ।’’

अमेरिकालाई चेतावनी

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले शुक्रबार दिएको भाषणमा भूमध्यसागरमा अमेरिकी युद्धपोत तैनाथ गर्ने विषयमा प्रश्न उठाएका थिए । रोयटर्सको रिपोर्टका अनुसार हालका र पूर्व अमेरिकी अधिकारीहरूले पनि हिजबुल्लाहले धेरै प्रकारका हतियारहरू संकलन गरेको अनुमान लगाएका छन् ।

हिजबुल्लाहले पनि ठुलो हतियारको रूपमा रुसमा निर्मित याखोन्ट क्षेप्यास्त्रलाई संकेत गरिरहेको छ। जसले युद्धपोतलाई निशाना बनाउन सक्छ। यो मिसाइलको क्षमता ३ सय किलोमिटर परसम्म मार हाल्न सक्ने रहेको छ । धेरै मिडिया रिपोर्टहरू र विज्ञका अनुसार हिजबुल्लाहले यी मिसाइल सिरियाबाट ल्याएका थिए ।

एक दशकअघि सिरियामा गृहयुद्ध सुरु भएदेखि हिजबुल्लाहले राष्ट्रपति बसर अल असदलाई समर्थन गर्दै आएको छ । उसले यी मिसाइल त्यहीँबाट ल्याएको अनुमान गरिएको छ । तर, हिजबुल्लाहले याखोन्ट मिसाइल भएको दाबी भने गरेको छैन।

हिजबुल्लाहसँग जहाज नष्ट गर्ने क्षमता रहेको बताइन्छ। सन् २००६ मा इजरायलसँगको युद्धको क्रममा भूमध्यसागरमा इजरायली युद्धपोतलाई निशाना बनाएपछि यो खुलासा भएको थियो ।

हिज्बुल्लाह–इजरायल भिड्दा के हुन्छ ?

राजनीतिक र सैन्य रूपमा शक्तिशाली लेबनानी शिया समूहलाई बेलायत, अमेरिका र अरब लीगले आतंकवादी सङ्गठन घोषणा गरेको छ । गाजा युद्धमा अहिलेसम्म यसको प्रतिक्रिया बढी सावधानीपूर्ण मानिन्छ ।

तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि लेबनान–इजरायल सीमामा यसका लडाकु र इजरायली सैनिकबीच सानो स्तरमा द्वन्द्व चलिरहेको छ । तर, गाजामा इजरायलको आक्रमण तीव्र बन्दै गएपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। यसमा हिजबुल्लाहले भनेजस्तो आक्रमण भएमा झन् ठुलो युद्ध र क्षति हुने आकलन छ।

यदि इजरायल हिजबुल्लाहसँग युद्ध गर्न जान्छ भने, यसले कुनै देशभन्दा धेरै हतियार भएको एउटा समूहको सामना गर्नेछ। हिजबुल्लाहसँग डेढ लाख रकेट मिसाइल छन् भने ६० हजार लडाकु रहेको अनुमान गरिएको छ।

गाजा नियन्त्रण गर्ने हमास र इरानले समर्थन गरेको अर्को प्यालेस्टिनी गुट इस्लामिक जिहादसँग पनि हिजबुल्लाहको गहिरो सम्बन्ध रहेको छ ।

सन् २००६ मा हिजबुल्लाहका लडाकुहरू इजरायलमै घुसेका थिए । पाँच हप्तासम्म युद्ध चल्दा हिजबुल्लाहले इजरायलका दुई सेनाको अपहरण नै गरेको थियो । त्यसबेला १५८ इजरायलीसहित १२ सयको ज्यान गएको थियो ।

बीबीसीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved