‘संवैधानिक हकलाई कानूनमार्फत कार्यान्वयन गर्न नसक्दा युवाहरू विदेसिए’

नेपालभ्युज

‘संवैधानिक हकलाई कानूनमार्फत कार्यान्वयन गर्न नसक्दा युवाहरू विदेसिए’

विराटनगर । कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले संवैधानिक हकलाई कानूनमार्फत कार्यान्वयन गर्न नसक्दा युवाहरू विदेसिएने गरेको बताएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

“संविधानमा व्यवस्था गरिएका हकहरू कानून बनाएर कार्यान्वयन गर्न नसक्दा युवाहरू विदेसिएका छन्,” सांसद शेर्पाले भने, “युवाहरू रोजीरोटीकै लागि विदेसिनुपरेको छ ।”

अगाडि उनले भने, “रोजीरोटीकै लागि अधिकतम्‌रूपमा वैदेशिक रोजगारीमा जानेहरू बढेका छन् । र, अहिलेसम्म देशमै रहेकाहरू पनि जाने मनस्थितिमा छन् । विदेश जानेहरूको आँकडा निकै ठूलो छ । यसको कारणचाहिँ हाम्रो देशले, हाम्रो प्रदेशले उचित रोजगारी नदिएको कारणले, रोजगारी पाएकाहरूले पनि उचित पारिश्रमिक नपाएका कारणले हो ।”

उनले युवाहरू स्वास्थ्य र शिक्षाकै लागि पनि विदेसिने गरेको बताए । संविधानमा स्वास्थ्य तथा शिक्षाबारे व्यवस्था गरिएपनि त्यो कार्यान्वयन नहुँदा समस्या भएको उनको भनाइ थियो ।

“संविधानको धारा ३१ को उपधारा २ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहको शिक्षाको हक सुनिश्चित गरेको छ । त्यसैगरी धारा ३३ को उपधारा १ ले प्रत्येकलाई रोजगारीको हक सुनिश्चित गरेको छ,” सांसद शेर्पाले भने, “तर, यसको कार्यान्वयन नहुँदा समस्या भएको छ ।

उनले थपे, “धारा ३४ को उपधारा २ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको सुनिश्चित गरेको छ । त्यसैगरी ३५ को उपधारा १ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षा तथा स्वास्थ्यमा समान पहुँचको सुनिश्चित गरेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved