भूकम्पपीडितले अझै पाएनन् त्रिपाल, ढोडको गोठमा रात बिताउँदै

नेपालभ्युज

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल, ढोडको गोठमा रात बिताउँदै

जाजरकोट । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित जाजरकोटका केही पीडितहरूले अझै त्रिपाल पाएका छैनन् । भूकम्पबाट विक्षिप्त बनेपछि उनीहरू ढोडको गोठमा रात बिताउन बाध्य छन् ।

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताएका छन् ।

वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरू हैरानीमा परेको उनको भनाई छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दै हैरान भएका छन् ।

त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन ः एक थान त्रिपाल पाएको उनी बताउँछन् ।

उनले भने, ‘सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा हामी थप मारमा परेका छौं ।’

घर पूर्ण रूपमा भत्किएर समस्यामा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ ।

भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहरा बताउँछन् ।

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनको भनाई छ । ‘घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन्, घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ,’ उनले भने ।

बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved