गाजामा इजराइलको अनिश्चितकालसम्म ‘समग्र सुरक्षा’ भूमिका रहनेछ : नेतान्याहु

नेपालभ्युज

गाजामा इजराइलको अनिश्चितकालसम्म ‘समग्र सुरक्षा’ भूमिका रहनेछ : नेतान्याहु

एजेन्सी । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको युद्धपछि गाजामा अनिश्चितकालका लागि इजराइलको ‘समग्र सुरक्षा जिम्मेबारी’ रहने बताएका छन्  । करिब २३ लाख प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा इजराइलले नियन्त्रण कायम गरिरहने योजना बनाइरहेको यो अहिलेसम्मको सबैभन्दा स्पष्ट सङ्केत हो ।

सोमबार राति प्रसारित एबिसी न्युजसँगको अन्तरवार्तामा उनले अक्टोबर ७ मा इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका दुई सय ४० भन्दा धेरै बन्धकमध्ये केहीलाई रिहा गर्न युद्धमा ‘थोरै विराम’ गर्ने विषयमा खुला रहेको बताए । तर उनले सबै बन्धक नभएसम्म कुनै पनि सामान्य युद्धविरामलाई अस्वीकार गरे ।

सोमबार नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्तापछि व्यापक मानवीय विरामका लागि बाइडेनको आह्वानसँग कुनै सम्झौता नभएको ह्वाइट हाउसले बताएको छ । इजराइली सेना एक साताभन्दा लामो समयदेखि गाजाभित्र प्यालेस्टिनी लडाकूहरूसँग लडिरहेको छ । सेना आधा क्षेत्रमा घुसेर गाजा सहरलाई घेरेर बस्न सफल भएको छ ।

युद्धको ठूलो मूल्य चुकाउनुपरेको छ । हवाई हमलामा पूरा सहरका ब्लकहरूलाई नष्ट बनाएको छ र करिब ७० प्रतिशत मानिस आफ्नो घर छाडेर भागेका छन् । थुप्रै सर्वसाधारण इजराइली आदेशको पालना गर्दै गाजाको दक्षिणी क्षेत्रतर्फ गएका छन् । गाजामा खाद्यान्न, औषधि, इन्धन र पानीको कमी भइरहेको छ र संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित स्कुल–आश्रयस्थल सर्वसाधारणले भरिएका छन् ।

हमासले सञ्चालन गरेको गाजापट्टीको स्वास्थ्य मन्त्रालयले चार हजार एक सयभन्दा बढी बालबालिकासहित १० हजारभन्दा बढी प्यालेस्टिनी मारिएको सोमबार बताएको छ । त्यस्तै दुई हजार तीन सयभन्दा बढी सर्वसाधारण बेपत्ता भएका छन र उनीहरू क्षतिग्रस्त भवनहरूको भग्नावशेषमा पुरिएको हुनसक्ने मन्त्रालयले बताएको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजराइलमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार चार सयको ज्यान गएको छ । त्यसपछि युद्ध सुरु भएको हो । इजराइलले हमासलाई सत्ताबाट हटाउने र उसको सैन्य क्षमतालाई जरैदेखि उखेल्ने वाचा गरेको छ ।

इजराइलले युद्ध सुरु हुनुभन्दा पहिला छ लाख ५० हजार मानिसको घर भएको गाजा सहरमा ध्यान केन्द्रित गरिरहेको छ । हमाससँग सहरमा एउटा विशाल सुरुङ सञ्जालसहित व्यापक मात्रामा आतङ्कवादी पूर्वाधार संरचना रहेको इजराइलले बताएको छ । हमासले उक्त सुरुङमा सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरेको इजराइलको आरोप छ ।

हमासको बाटोमा जान नचाहने मानिसहरूले गाजामा शासन गर्नुपर्ने नेतान्याहुले एबिसी न्युजलाई बताए । “मलाई लाग्छ, इजराइलले अनिश्चित कालका लागि समग्र सुरक्षा जिम्मेबारी लिनेछ किनकी यस्तो नहुँदा के हुन्छ भनेर हामीले देखेका छौँ”, उनले भने, “हामीसँग त्यो सुरक्षा जिम्मेबारी नहुँदा हामीले देखेको भनेको कल्पना पनि गर्न नसक्ने हमासको आतङ्ककारी विस्फोट हो ।” एपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved