संसद् भवनको निर्माण कार्य चाँडै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

नेपालभ्युज

संसद् भवनको निर्माण कार्य चाँडै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन् ।

निर्माणाधीन भवनमा जडान गर्न लागिएका साउन्ड सिष्टमसहित बहुप्राविधिक उपकरण र गुणस्तरबारे उत्पादन कम्पनीसँग जानकारी लिँदै उनले आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडानको काम पूरा गर्न  सुझाव दिए ।

सभामुख घिमिरेले हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पुर्याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई सुझाव दिए ।

सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय संसद् भवन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिए । भवन  र उपकरण जडानलाई दु्रततासँगै गुणस्तरको प्रश्नलाई पनि त्यतिकै हेक्कामा राख्न आवश्यक रहेको बताउँदै उनले भने, “हामीले काम चलाउभन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्छ भन्ने पाटोमा गम्भीर छौं ।”

सहरी विकास मन्त्रालय र निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाइन्ट भेञ्चर’बीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार समयमै काम भएको भए यसअघि नै सो भवनमा सदन सञ्चालन भइसक्ने थियो । एक सय ५१  रोपनीमा ठूला साना गरी ११ वटा भवन निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटाको छानासम्मको काम भएको छ ।

आगामी हिँउदे अधिवेशनसम्ममा पाँच वटा भवन तयार हुने ठेकेदार कम्पनीले बताउँदै आएको छ । सञ्चार, साउण्डसिष्टम र उपकरण जडानसम्बन्धी जिम्मेवारी प्राप्त गरेको जर्मनको टेलिभाइस कम्पनीले दक्षिण एशियामै नयाँ उपकरण जडान हुने गरी सभाकक्षसहितको जिम्मेवारी पूरा गर्ने अठोट व्यक्त गरेको छ ।

आयोजना निर्देशक मच्चाकाजी महर्जनले छ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको तथा सदनमा नवीनतम र गुणस्तरीय उपकरण जडानको काम अघि बढिरहेको बताए । परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । भवन निर्माणका लागि अनुमानित खर्च छ अर्ब ९२ करोड भए पनि पाँच अर्ब दुई करोड रुपैयाँमा सम्झौता भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि तीन अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । संसद् भवनभित्र मुख्य भवन आठवटा हुनेछन् । भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने साना ठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् ।

यसका चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः एक सय र तीन सय जना अट्ने क्षमताका र तीन सय ९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved