कहिलेबाट सुरू भयो भूकम्प मापन ? रेक्टर स्केल र म्याग्निच्यूड भनेको के हो ?

रिक्टर स्केल लामो समयसम्म प्रचलनमा रह्यो । यद्यपि त्यसपछिका खोजले रिक्टरको मापन प्रणालीमा खोट देखिए । सन् १९७९ देखि भने म्याग्निच्यूड स्केल प्रयोग हुन थाल्यो ।

नेपालभ्युज

कहिलेबाट सुरू भयो भूकम्प मापन ? रेक्टर स्केल र म्याग्निच्यूड भनेको के हो ?

काठमाडौं । भूकम्प नियमित भौगर्भिक प्रक्रिया हो । भूकम्पले मानिस र जीवजन्तुका लागि असामान्य स्थिति उत्पन्न गर्न सक्दछ । तर, प्राकृतिक दृष्टिकोणबाट भने यो अनिवार्य छ ।

प्रारम्भमा मानिसले भूकम्प किन जान्छ भन्ने तथ्य राम्रोसँग बुझ्दैन थिए । यसलाई प्राकृतिक प्रकोप वा दैवी शक्ति मान्छेसँग रिसाएको अर्थमा थिइन्थ्यो ।

भनिन्छ— चिनियाँ दार्शनिक चाङ हेनले सन् १३२ मा एक यन्त्र बनाएका थिए, जसबाट भूकम्पको सूक्ष्म निरीक्षण गर्न सकिन्थ्यो । तर, यो कुरा किंवदन्तीमा सीमित थियो । त्यो यन्त्र के-कस्तो थियो, भूकम्पसम्बन्धी के-कस्ता जानकारी कसरी दिन्थ्यो, प्रष्ट छैन ।

१८औं शताब्दीदेखि भने वैज्ञानिकले भूकम्पको व्यवस्थित अध्ययन प्रारम्भ गरे । युरोपमा त्यो बेलाका दुई ठूला भूकम्पले यसबारे अध्ययन गर्न वैज्ञानिकलाई प्रेरित गरेको थियो ।

सन् १७५० मा बेलायत र सन् १७५५ मा पोर्चुगलमा ठूला भूकम्प गएका थिए । भनिन्छ— सन् १८९० देखि भूकम्प मापन यन्त्र प्रचलनमा आएको हो । तर, त्यसको वैज्ञानिकता प्रमाणित थिएन । सन् १९०२ मा इटालियन पादरी गुइसेपे मर्सालीले १ देखि १२ भित्र भूकम्पको मापन हुने एक प्रणाली प्रस्तावित गरेका थिए । तर, यो प्रणाली पनि खासै वैज्ञानिक मानिएन ।

सन् १९३० देखि मात्र भूकम्पलाई मापन गर्ने काममा ठोस प्रगति हुन थालेको हो ।

सन् १९३५ मा अमेरिकी भूकम्पविद् चार्ल्स रिक्टर र बेनो गुटेनवर्गको भूकम्प मापन गर्ने यन्त्रलाई मान्यता दिइयो । त्यसको नाम ‘सिस्मोग्राफ’ राखियो । ‘सिस्मोग्राफ’ भित्र ‘सिस्मोमिटर’ नामको एक स्प्रिङजस्तो पेन्डुलम हुन्छ । भूकम्पको तीव्रता धेरथोर भएसँगै यसको गति धेरथोर हुन्छ । त्यसलाई ग्राफमा हेर्न सकिन्छ ।

‘रेक्टर स्केल’ शब्दको प्रचलन चार्ल्स रिक्टरसँग जोडिएर आएको हो । रिक्टरले तय गरेको मापदण्डअनुरूप भन्ने अर्थमा यसलाई रेक्टर स्केल भन्न थालिएको थियो ।

को थिए चार्ल्स रिक्टर ?

चार्ल्स फ्रान्सिस रिक्टर अमेरिकी भौतिकशास्त्री थिए । उनको जन्म सन् १९०० अप्रिल २६ मा ओहायोमा भएको थियो । उनी स्टानफोर्ड युनिभर्सिटी अफ क्यालिफोर्नियाका उत्पादन थिए । क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलजीका बेनो गुटेन वर्गसँग मिलेर उनले भूकम्प मापन मापदण्ड निर्धारण र यन्त्र निर्माणको काम गरेका थिए ।

रिक्टरको अध्ययन जापानी भूकम्पविद् कियो वादातीको सन् १९२८ को एक कार्यपत्रमा आधारित थियो । रिक्टर स्केल लामो समयसम्म प्रचलनमा रह्यो । यद्यपि त्यसपछिका खोजले रिक्टरको मापन प्रणालीमा खोट देखिए । सन् १९७९ देखि भने म्याग्निच्यूड स्केल प्रयोग हुन थाल्यो ।

कसरी आयो म्याग्निच्यूड स्केल ?

अमेरिकी भूकम्पविद् थोमस सी ह्यांक्स र जापानी भूकम्पविद् हिरू कानामोरीले सन् १९७९ मा भूकम्प मापनमा म्याग्निच्यूड स्केल प्रणाली प्रस्तावित गरेका थिए ।

साना तथा मध्यम आकारका भूकम्पको मापनमा रेक्टर स्केल र म्याग्निच्यूड स्केलबीच खासै भिन्नता हुँदैन । तर, ठूला भूकम्पको मापनमा म्याग्निच्यूट स्केल बढी एक्युरेट हुन्छ ।

रेक्टर स्केलमा सिस्मोमिटरमा अभिलेख भएको सबैभन्दा उच्च धक्का र भूकम्पको इपिसेन्टर बीचको दूरीलाई आधार मानी भूकम्पको तीव्रता मापन गर्ने सूत्र बनाइन्छ ।

म्याग्निच्यूड स्केलमा भने बहुकेन्द्रमा स्थापित सिस्मोमिटरको फरक-फरक अभिलेख र भूकम्प अवधिको समेत गणना हुन्छ । तसर्थ यसलाई ‘मोभमेन्ट म्याग्निच्युट स्केल’ पनि भनिन्छ ।

रेक्टर स्केल र म्याग्निच्यूड स्केल दुवैमा अधिकतम् १० लाई आधार मानेर भूकम्पबाट उत्पन्न हुने गति र ऊर्जाको मापन हुन्छ । तर, प्रतिएक एकाइ बढ्दा १० गुणा बढी भूकम्पीय शक्ति बढ्दछ । अर्थात ६ म्याग्निच्यूड भन्दा ७ म्याग्निच्यूडको भूकम्प १० गूणा बढी शक्तिशाली हुन्छ ।

कतिपटक कति तीव्रताका साथ भूमिको कम्पन र त्यसले कति बराबरको भूकम्पीय ऊर्जा प्रवाह गर्‍यो भन्ने समग्र आधारबाट यसको मापन हुन्छ । अहिले म्याग्निच्यूड नै संसारभर प्रयोग हुने मापन एकाई हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved