टिप्पणी

दक्षिण एसियाको भूराजनीति र नेपाल

२००१ सेप्टेम्बर ११ पछि सिकागोमा एकजना नेपाली हतियारसहित समातिँदा तरंग भएको थियो । हाम्रा विदेशिएका युवा शक्ति खाडी वा इस्लामिक मुलुकमा गएका छन् । यसलाई गम्भीररूपमा हेर्नुपर्छ ।

दक्षिण एसियाको भूराजनीति र नेपाल

नेपालको भूराजनीतिक अवस्था बुझ्न अहिलेको ग्लोबल (विश्वव्यापी), रिजनल (क्षेत्रीय) र लोकल (स्थानीय) ट्रेन्डलाई हामीले सूक्ष्मरूपमा हेर्नु जरुरी छ । विश्वव्यापीमा परिप्रेक्ष्यमा तीनवटा विषय छन्— ग्लोबलाइजेसन, ग्लोबल वार्मिङ अनि ग्लोबल वार एण्ड टेरर । यसबाट कुनै मुलुक अछुतो छैन । क्षेत्रीय भूराजनीतिमा जोखिम र अवसरको अवधारणा आ-आफ्नो हिसाबले तय हुन्छन् ।

जोखिमका हिसाबले हेर्ने हो भने हामी संसारको दुईवटा सबैभन्दा र ठूलो सैन्य शक्तिको बीचमा छौँ, आणविक शक्ति राष्ट्र अनि उदाउँदा आर्थिक महाशक्तिहरू हाम्रा छिमेकी छन् । संसारका सबैभन्दा बढी प्रदूषण उत्पादन गर्ने चीन र भारतको बीचमा हामी छौँ । अहिले संसारकै सबैभन्दा बढी कार्वन उत्सर्जन अनि, सबैभन्दा ठूलो जनसाङ्ख्यिक थ्रेसहोल्ड हाम्रै छिमेकमा छ । दुईवटा ठूला दुई अर्थतन्त्रलाई श्रोतहरूको अत्यधिक खाँचो छ, हामी बीचमा उपस्थित छौँ । भारत र चीनबीचको हिमालयमा टकराव अनि अमेरिका र चीनबीच व्यापार युद्धबाट सुरू भएको पछिल्लो तनावले नेपाल पनि प्रभावित छ । उनीहरूको सुरक्षा नीति र रणनीतिको जालमा नेपाल पर्ने र फस्ने जोखिम टर्ने होइन बढ्ने क्रम तीव्र छ ।

अहिलेको परिप्रेक्ष्यमा हेर्दा हाम्रा लागि चासोको विषय भनेको भारत र चीन तथा भारत र पाकिस्तानबीचको सामरिक तनाव नै हो । नेपालको परिप्रेक्ष्यबाट हेर्दा केही विरोधाभासहरू देखिन्छन् । लोकतन्त्रको साँच्चिकै अभ्यास भइरहेको सामाजिक सञ्जालमा हेर्दा आमरूपमा भारतप्रति वितृष्णा अत्यधिक देखिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपाल आएर भने, “भारतले कुनै पनि युद्ध जितेको छैन जहाँ नेपालीको रगत नबगेको होस् ।” यो भएको चीज हो, मोदीले बनाएको होइन । गोर्खा रेजिमेन्टका नेपालीहरू भारतका पक्षमा लडिरहेका छन् । लडाइँ वा टकरावमा नेपालीहरू मरेपछि त्यसको प्रभाव नेपाललाई पनि पर्छ नै । सबैभन्दा ठूलो विरोधाभास के हो भने हाम्रा मानिस गोर्खा रेजिमेन्टबाट भारतका लागि लडिरहेका छन्, नेपालभित्रको जनमत चाहिँ भारतविरोधी छ । सरकार भन्छ हामी दुवैतिर छैनौँ, तटस्थ छौँ ।

भारतविरोधी भावनाका पछाडि मूलतः भारतको हामीप्रतिको सोच र हाम्रा नेताहरूको पूर्वाग्रही एवम् दृष्टिकोण जिम्मेवार छ । २०७२ सालको नाकाबन्दीले नेपालीको मानसपटलमा भारतविरोधी बिउ रोपिदिएको छ, जसलाई निकाल्न धेरै समय लाग्नेछ । त्यसयता पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोश्रोपटक प्रधानमन्त्री भएका छन् । जुनसुकै परिप्रेक्ष्यमा कुरा गरौँ खुला सिमाना र बहुआयामिक सम्बन्धका कारण नेपालमा भारतको प्रभाव कायमै रहन्छ । अर्कातिर, नेपालीहरूको मानसपटलमा भारतबाट सधैँ खतरा देखाइएको छ जबकि चीन, अमेरिका वा अरु देशलाई यो भनिँदैन । अहिले धर्मपरिवर्तनको विषयले गर्दा थोरबहुत युरोपियन देशहरूलाई खतराका रूपमा हेर्न थालिएको छ । नत्र भने षड्यन्त्रको नेपाली सिद्धान्तमा खलपात्र सधैँ नै भारत रहँदै आएको छ । मदन भण्डारी, राजा वीरेन्द्रको निधनमा उतै हात लगाइएको छ, माओवादीको जन्ममा उतै धारेहात लगाइएको छ । हामी भारतसिवाय केही देख्दैनौँ । यसको पछाडि कारण पनि छन् ।

भारतको नीति निर्माणकर्ता र कार्यान्वयन तहमा विरोधाभास छ । मुखले त नेपाल सार्वभौम देश भन्छन् तर, व्यवहारमा यो छैन । यसका कारण नेपाल भारत सम्बन्ध कहिल्यै पनि राम्रो हुन सकेको छैन । भारत स्वतन्त्र भएदेखि नै नेपालको एउटा पक्षलाई काखा गर्छ त्यसपछि त्यो पक्षले तुरुन्तै आफ्नो पोजिसन बदल्छ । कसैलाई तोकेर नभनौँ, तर यहाँ जो भारतपरस्त हुनसक्छ, त्यति नै भारतसँग टाढा भइरहेको छ । यसको कारण भारत नै हो । नेपाललाई बालुवासँग तुलना गरेर हेरौं । बालुवालाई जति कस्न खोज्नुहुन्छ, त्यति तपाईंको हातबाट फुत्किन्छ । भारत यही गरिरहेको छ । नेपाल-भारत सम्बन्धको यो यथार्थ हो ।

भारतको छिमेक नीतिबाट आशा गर्ने ठाउँ थियो । मोदी नेपाल भ्रमण गर्दा अत्यन्तै सकारात्मक परिवेश निर्माण भएको थियो र यतिसम्म कि मोदी हाम्रो प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्नेसम्मको आशय सामाजिक सञ्जालहरूमा प्रकट हुन्थ्यो ।
भारतका एकजना वरिष्ठ कूटनीतिज्ञलाई मैले सोधेको थिएँ, “भूकम्पपछि नेपाललाई सबैभन्दा बढी सहयोग कसले गर्‍यो ? अन्तिमसम्म को बस्यो ? अनि नेपालमा सबैभन्दा बढी आलोचित को भयो ?” निश्चय पनि भारत हो । यही हो विरोधाभास । त्यत्रो सहयोग दिएपछि भारतप्रति सकारात्मक हुनुपर्ने तर नेपाली जनमानस झन् टाढियो । यही हो सम्बन्धको संरचनागत समस्या ।

रोटी-बेटी र बूटको सम्बन्ध

नेपाल र भारतबीच अमेरिका र इजरायलबीचको सामीप्यतभन्दा दशौं गुणाभन्दा बढी हुनुपर्छ । किनभने संसारमा यस्तो कुनै देश छैन, जसले छिमेकको फ्रन्टियरका लागि रगत बगाउन आफ्ना युवाहरू पठाएको होस् । यस्तो उदाहरण नै छैन । हामी रोटी-बेटी मात्रै नभनौँ । ब्रेड, ब्राइड र बूट भनौँ । बूटले पनि निर्माण गरेको छ नेपाल भारत सम्बन्ध । नेपालीहरूले परमवीर चक्र पाएका छन् लडाइँ गरेबापत् । नेपाली फौजले भारत बचाएको छ, भारतीय चेलीहरूको अस्मिता बचाएको छ । समस्या यो हो कि घनिष्ठ सम्बन्धलाई हामीले व्यवहारमा ल्याउन सकेका छैनौँ ।

अर्को कुरा, दुईवटा स्टेटहूड भनेपछि दुईपक्षीय सम्बन्धको प्रमुख आधार सुरक्षा नै हो । खुला सीमाका कारण जोखिम पर्सेप्सन हुन्छ । नेपालले भारतलाई सुरक्षाका सन्दर्भमा एक्स्ट्रा सेन्सिटिभ छौँ भनेर आश्वस्त पार्नुपरेको छ ।

सम्भावित क्षेत्रीय जोखिम

यो अत्यन्तै जटिल र अहम् प्रश्न हो । सार्क मुलुकमा एकअर्काबीच वैमनस्यताको इतिहास छ, जसलाई हामी आर्थिक साझेदारीमा बदल्छौँ भनिरहेका छौँ । भारत र पाकिस्तानबीच तीनपटक लडाइँ भइसक्यो । बंगलादेश पाकिस्तानबाट छुट्टिएको हो, बंगलादेश र भारतबीच सम्बन्धमा ग्याप छ । बंगलादेश र भारतको सीमामा हरेक वर्ष औसतमा एक हजार मानिस क्रस फायरिङमा मरिरहेका छन् ।

नेपाल र भूटानको सम्बन्ध गतिलो छैन । भूटानसँग सीमा जोडिएको हुन्थ्यो भने एकलाख नेपालीभाषी भूटानीहरू खेदिएको विषयमा नेपाल र भूटानबीच त्यतिबेला लडाइँ हुन्थ्यो । किनभने त्यो जातीय सफाया नै थियो । त्यसकारण वैमनस्यता हाबी भएको क्षेत्रमा सहकार्य वा साझेदारीमा जान खोजिरहेका छौँ, यो भन्दा अर्काे विरोधाभाष के हुन्छ ?
भारत र पाकिस्तानकै कुरा गर्ने हो भने उनीहरूबीच हवाई, सामुद्रिक वा कन्भेन्सनल वारफेयर हुनसक्ला । हुन त अहिले संसारमा विभिन्न प्रकारको मिश्रीत वा हाइब्रिड वारफेयरको चर्चा भइरहेको छ । भारतको पठानकोट र उरीमा सात वर्षअघि सेनाको मजबुत क्षेत्रमा आक्रमण भयो । दुनियाँले भारतको विरोध गर्‍यो । तर, पाकिस्तानको पक्षमा चिनियाँहरू मात्रै पछाडि आइरहेको देखिन्छ ।

मिलनाडुबीच द्वन्द्व छ । जाट, मरट्टा, गुजरातमा पटेलको आन्दोलन छ । कश्मीरदेखि उत्तर-पूर्वमा तनाव छ । यति हुँदा हुँदै पनि पाकिस्तानसँगको सवालमा भारतीय मिडिया एकैठाउँमा उभिन्छ र सरकारलाई साथ दिन्छ अनि जनता एक ठाउँमा आइदिन्छन् । प्रजातान्त्रिक मुलुक भएको हुनाले भारतसँग मोरल हाइग्राउण्ड छ । अर्कातिर पाकिस्तानले भारतविरुद्ध अनकन्भेन्सनल ट्याक्टिस अपनाउन सक्ने सम्भावना पनि छ । तर, ऐतिहासिकरुपमा भारत र चीनबीच पूर्ण युद्ध भएको छैन ।

एउटा निश्चित क्षेत्रमा निश्चित समयका लागि भएको छ । सन् २०२० देखि हिमालयमा टकराव छ । लद्दाखमा दुई सेना आमने-सामने अवस्थामा छन् । तर, न दिल्लीमा आक्रमण भएको छ, न इस्लामावादमा आक्रमण भएको छ । दुवैसँग आणविक शक्ति छ । यदि भयो भने पनि युद्ध कहाँ पुग्छ भनेर आंकलन गर्ने मुस्किल छ । बरु साइबर वारफेयर, साइकोलोजिकल वारफेयर हुनसक्छ । भारतसँग धेरै नै भूउपग्रह भएकोले त्यसको उच्चतम् भूमिका हुनसक्छ ।

आतंकवादको खतरा

दक्षिण एसिया आतंकवादको विश्वव्यापी रंगमञ्च हुँदैछ सबैभन्दा बढी आतंकवादी हमला यिनै देशमा भएको छ ।  बंगलादेशमा धेरैपछि भएको हो । धेरै अघि बंगलादेशको ६४ मध्ये ६३ , जिल्लामा एकैपक हमला भएको थियो । यो क्षेत्रमा अन्यायका कैयन उदाहरण छन् जसले जन्माउने हो आतंकवाद । भविष्यमा पनि बिपा कोरिडोर खतराजनक हुनेछ । आतंकवादका सन्दर्भमा हामी हैन, भारत बढी टार्गेटेड हुनेछ ।

नेपालबाट इन्डियन एयरलाइन्स अपहरण गरेर लगेको घाउ अझै मेटिएको छैन । २००१ सेप्टेम्बर ११ पछि सिकागोमा एकजना नेपाली हतियारसहित समातिँदा तरंग भएको थियो । हाम्रा विदेशिएका युवा शक्ति खाडी वा इस्लामिक मुलुकमा गएका छन् । यसलाई गम्भीररूपमा हेर्नुपर्छ ।

अर्को, नेपालमा आमतहमा राज्यप्रति वितृष्णा बढेको छ । आतंकवादी गतिविधिले दक्षिण एसियालाई पिरोलिइरहने खतरा म देख्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved