सुडानको डार्फरमा २० भन्दा बढी महिला अपहरित

नेपालभ्युज

सुडानको डार्फरमा २० भन्दा बढी महिला अपहरित

जेनेभा । सुडानको पश्चिमी डार्फर क्षेत्रको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र महिला तथा बालिकालाई अपहरण गरी दासजस्तो अवस्थामा राखिएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ ।

सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान र जनरल मोहम्मद हमदान डग्लोको र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको युद्धका कारण सुडानमा गत अप्रिलपछि नौ हजारभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयकी प्रवक्ता एलिजाबेथ थ्रोसेलले पत्रकार सम्मेलनमा भनिन, “डार्फरमा आरएसएफको नियन्त्रणमा रहेका क्षेत्रमा महिला र किशोरीहरूलाई अपहरण गरी अमानवीय, अपमानजनक दासजस्तो अवस्थामा राखिएको समाचारबाट हामी निकै चिन्तित छौं ।”

“बाँचेका, प्रत्यक्षदर्शी र अन्य स्रोतबाट प्राप्त विश्वसनीय जानकारीअनुसार २० जनाभन्दा बढी महिला र बालिकालाई लगिएको छ, तर यो सङ्ख्या अझै बढी हुन सक्छ,” उनले भनिन् ।

“केही व्यक्तिहरूले महिला र केटीहरूलाई पिक–अप ट्रक र कारमा साङ्लोमा बाँधेको देखेका बताएका छन्,” उनले थपिन् ।

सुडानको संयुक्त मानव अधिकार कार्यालयलाई द्वन्द्वसँग सम्बन्धित ५० भन्दा बढी यौन हिंसाका घटनाहरूको विश्वसनीय रिपोर्ट प्राप्त भएको र यसबाट ८६ महिला, एक पुरुष र १८ बालबालिका गरी कम्तीमा १०५ पीडितहरू प्रभावित भएको उनले बताईन् ।

तीमध्ये २३ वटा बलात्कारका, २६ वटा सामूहिक बलात्कारका र तीनवटा बलात्कार प्रयासका घटना भएको प्रवक्ता थ्रोसेलले बताए ।

रेकर्ड गरिएका यौन हिंसाका घटनाहरूमध्ये कम्तीमा ७० प्रतिशत आरएसएफ वर्दी लगाएका पुरुषहरूसँग जोडिएका उनले बताए ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले द्वन्द्वका दुवै पक्षका वरिष्ठ अधिकारीहरूलाई यौन हिंसामा शून्य सहनशीलताको माग गर्दै आफ्ना सेनालाई तत्काल स्पष्ट निर्देशन जारी गर्न आह्वान गरेका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसीएचएले डार्फरमा नागरिकको अवस्था दिनप्रतिदिन खराब हुँदै गएको र हिंसात्मक बन्दै गएको जनाएको छ ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा गत साता जेद्दाहमा दुवै पक्ष वार्तामा फर्केका थिए ।

ओसीएचएका प्रवक्ता जेन्स लार्केले भने, “जेद्दाह वार्तामा दिगो युद्धविराम र मानवीय पहुँचका लागि धेरै आशा राखिएको छ, हामी सबै पक्षलाई द्वन्द्व नबढाउन र विस्तार नगर्न आह्वान गर्दछौं ।”

उनले भने, “महिलाहरूले मात्र होइन, सबै डार्फरवासीहरूले विगतमा र अहिलेको द्वन्द्वमा अत्यधिक पीडा भोगेका छन् ।”

उनले सुडानमा ५७ लाखभन्दा बढी मानिस आफ्नो घरबार छोड्न बाध्य भएको र दुई करोड ५० लाख अर्थात् आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको खाँचो रहेको बताए ।
एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved