एमालेसहितको सहभागितामा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की ?

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिवार (भोलि) सम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रयास गरिरहेका छन् ।

नेपालभ्युज

एमालेसहितको सहभागितामा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिवार (भोलि) सम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रयास गरिरहेका छन् । त्यहीअनुसार आफूलाई विश्वासको मत दिने दलहरूसँगको संवाद अगाडि बढाएका छन् ।

चरणबद्धरूपमा गरिएको संवादपछि दलहरू सहमति नजिक आएको मुख्यमन्त्री कार्कीनिकट नेताहरूले बताएका छन् । सरकार गठनको प्रक्रिया नेपालको संविधानको धारा १६८ को ५ तिर सोझिएपछि नेकपा (एमाले) को साझेदारीमा पार्टीमा विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई दह्रो साथ दिएका सांसद गोविन्द गिरी भन्छन्— मुख्यमन्त्रीज्यूले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने प्रयासमा हुनुहुन्छ ।

उनले थपे— सम्भव भए त आजै पो गर्ने भन्ने थियो । तर, आजै त नहोला । भोलिसम्म हुनसक्छ । त्यो सम्भावना छ । दलहरूबीच लगभग सहमति जुटेको ब्रिफिङ्ग मुख्यमन्त्रीको छ ।

एमाले पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देख्छ । कोशी एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपालभ्यूजसँग भने— भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ । मुख्यमन्त्रीजीहरूसँग हामी संवादमै छौँ । संवाद सकारात्मक देखिएको छ तर, निष्कर्ष नैचाहिँ निस्केको अवस्था छैन ।

एमालेले आफू सरकारमा रहे केन्द्रीय गठबन्धन जस्ताको त्यस्तै सरकारमा ल्याउन नहुने अडान राखेको छ । ऊ आफ्नो अडानबाट पछाडि हटेको छैन । यसो हुँदा मुख्यमन्त्री कार्की अप्ठ्यारोमा फसेका छन् । आफूहरूको अडान कायमै रहेको र आफ्नो अडानअनुसार मात्रै आफूहरू सहमतिमा आउने प्रमुख सचेतक भण्डारी बताउँछन् ।

“हामीले हाम्रो भनाइ र अडान दोहोर्‍याइरहेका छौँ । यदि गठबन्धन जस्ताको त्यस्तै सरकारमा लाद्ने काम भयो भने हामी रहँदैनौँ,” उनले भने ।

एमालेले गठबन्धनसम्बद्ध एउटासम्म दललाई सरकारमा सहभागी गराउन मिल्ने भएपनि सबै दलहरूलाई सहभागी नगराउन मुख्यमन्त्री कार्कीलाई सचेत गराइरहेको छ । स्रोतले बताएअनुसार एमाले नेकपा (माओवादी केन्द्र) कुनै पनि हालतमा सरकारमा रहन नहुने अडान राखेको छ ।

मुख्यमन्त्री कार्की भने आफूलाई विश्वासको मत दिने सबै दलहरूलाई समेटेर सरकार विस्तार गर्न चाहन्छन् । उनलाई प्रदेशसभामा ६ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक अरु सबै दलले विश्वासको मत दिएका छन् । उनीहरू सबैलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री कार्कीको प्रयासमा एमाले राजी भइसकेको छैन ।

यसो हुँदा मुख्यमन्त्री कार्कीले सरकार विस्तार गरिहाल्न सकेका छैनन् । मुख्यमन्त्री कार्कीले अझै संवाद गरिरहेका छन् ।

माओवादी केन्द्र भने तत्कालै मन्त्रिरिषद् विस्तार हुने सम्भावना देख्दैन । कोशी माओवादी केन्द्रका सांसदहरू सहमति खोजेर मात्रै सरकार विस्तार हुनुपर्ने बताउँछन् । सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ्ग’ भन्छन्— सहमति जुटेको छैन । अझै केही दिन लाग्ला ।

एमालेकै सहभागितामा गराएरै मन्त्रिपरिषद् विस्तार !

स्रोतकाअनुसार मुख्यमन्त्री कार्कीले एमाले सहभागी गराएरै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीनिकट स्रोतले भन्यो— एमालेसहितकै सहभागितामा सरकार विस्तार हुँदैछ ।

त्यस्तो अवस्थामा माओवादीलगायतका दलहरू पनि सरकारमै हुन्छन् ? भन्ने जिज्ञासामा स्रोत भन्छ, “मुख्यमन्त्रीज्यूले आज निर्णायक वार्ता गर्दै हुनुहुन्छ । त्यसमा धेरै कुरा टुङ्गिएला ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved