शिक्षक हत्याको विरोधमा कलैयामा विरोध प्रदर्शन

शिक्षक हत्याको विरोधमा कलैयामा विरोध प्रदर्शन

जनकपुरधाम । शिक्षक हत्याको विरोधमा बाराको कलैयामा सोमबार साँझदेखि विरोध प्रदर्शन गरिएको छ।

कलैयामा सोमबार अपरिचित समूहले गोली प्रहार गरी बाराको कलैया उपमहानगरपालिका-६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफको हत्या गरेको विरोधमा प्रदर्शन गरिएको हो ।

सर्राफको हत्याको विरोधमा सोमबार साँझ कलैयाकै भरत चोकमा स्थानीयवासी र शिक्षकहरूले टायर बालेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले हत्यारलाई पक्राउ गरी कारबाही गर, पुलिस प्रशासन मुर्दावाद, शान्ति सुरक्षा कायम गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागी एन प्याब्सनका मधेस प्रदेश अध्यक्ष नन्दन यादवले सर्राफका हत्यारालाई प्रहरीले तत्काल पक्राउ गरी कारबाही नगरे प्रदेशभरी कै निजी शिक्षण संस्थाहरू बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए।

प्रिन्सिपल सर्राफ माथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको थियो । कलैया उपमहानगरको मुख्यबजारको मदर्सा टोलमा उनलाई मोटर साइकलमा आएका दुईजना अपरिचित व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेर भागेका थिए ।

बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्ज स्थित वयोधा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

सर्राफको हत्यामा संलग्नताको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको व्यक्ति महिला रहेको र सर्राफको हत्याको योजना बनाउने मुख्य योजनाकार रहेको प्रहरी स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved