के हो आतंकवाद ? को हो आतंकवादी ?

इजरायल र उसका समर्थक राज्यहरू हमासलाई ‘आतंकवादी’ भन्दछन् । जबकी प्यालेस्टाइनी जनता र अरब राष्ट्रको आँखामा हमास योद्धा स्वतन्त्रता सेनानी हुन् । उनीहरूको दृष्टिकोणमा इजरायल ‘जियोनिस्ट आतंकवादी’ राज्य हो ।

के हो आतंकवाद ? को हो आतंकवादी ?

काठमाडौं । संसारमा जब कहीँ कुनै हिंसात्मक घटना, गृहयृद्ध वा युद्ध हुन्छ, त्यसलाई बुझ्ने/बुझाउने तुरुन्तै दुईवटा धारणा अघि आउँछन्। एक, त्यो आतंकवाद हो । दुई, त्यो न्याय, स्वतन्त्रता र समानताको लडाइँ हो । अर्थात् हिंसा, गृहयुद्ध वा युद्ध यस्तो चिज हो, जहाँ एउटा पक्षको ‘आतंकवादी’ अर्को पक्षको ‘स्वतन्त्रता सेनानी’ वा ‘मुक्ति योद्धा’ बन्दछ ।

अहिले चलिरहेको हमास-इजरायल युद्धमा पनि त्यही भइरहेको छ । इजरायल र उसका समर्थक राज्यहरू हमासलाई ‘आतंकवादी’ भन्दछन् । जबकी प्यालेस्टाइनी जनता र अरब राष्ट्रको आँखामा हमास योद्धा स्वतन्त्रता सेनानी हुन् । उनीहरूको दृष्टिकोणमा इजरायल ‘जियोनिस्ट आतंकवादी’ राज्य हो ।

संसारमा त्यस्तो कुनै सशस्त्र संघर्ष गरिरहेको वा हिंसात्मक संगठन छैन, जसले आफूलाई आतंकवादी भनोस् । तालिबान, अल-कायदा, हिजबुल्लाह, मुजाहीद्दिन, मुस्लिम ब्रदर्शहुड वा आइएसजस्ता संगठनले पनि आफूलाई ‘आतंकवादी’ स्वीकार गर्दैनन् ।

यिनीहरू आफूलाई ‘जिहादी संगठन’ मान्दछन् । आफूले गरेको हिंसात्मक घटनालाई ‘जिहाद’ (धर्मयुद्ध) ठान्दछन् । इस्लामिक विचारधाराले जिहादलाई वैधानिक र नैतिक मात्र हैन, अत्यावश्यक र वीरतापूर्ण संघर्ष मान्दछ । अर्थात् यस्ता संगठन जसलाई बाँकी विश्वले आतंकवादी भन्दछन्, ती इस्लामिक विचारधाराअनुरूप स्वतन्त्रता सेनानी वा मुक्ति योद्धा हुन् । धर्मयुद्धका लागि बलिदान हुन तयार मान्छे हुन् ।

यसले के प्रष्ट गर्दछ भने आतंकवाद एक सर्वस्वीकार्य राजनीतिक अवधारणा वा शब्दावली हैन । यसको सम्बन्ध कुनै न कुनै विचारधारासँग हुन्छ । त्यसबाट उसले आफ्नो वैधानिक तथा नैतिक आधार जुटाएको हुन्छ ।

इस्लामिक विचारधाराबाट जन्मिएका जिहादी मात्र हैन, साम्यवादी विचारधाराबाट प्रभावित भएर बनेका सशस्त्र साम्यवादी संगठनलाई हेर्ने दृष्टिकोणमा पनि यही भिन्नता थियो । सन् १९५०–१९९० को अवधिमा संसारका धेरै देशमा त्यस्ता सशस्त्र संगठन थिए, जो मार्क्सवाद-लेनिनवाद र माओवादमा विश्वास गर्थे ।

भारतको नक्सलवादी आन्दोलन, श्रीलंकाको जनमुक्ति पेरामुना, टर्कीको कुर्दिस्तान मुक्ति संगठन, पेरुको साइनिङपाथ र टुपाक अमारु, मेक्सिकोको जापाटिष्टा त्यस्तै संगठन थिए । नेपालमा त्यसको पछिल्लो रू माओवादी आन्दोलन थियो । यस्ता संगठन र आन्दोलनलाई पनि बाँकी विश्वले आतंकवादी भन्ने गर्दथ्यो ।

यद्यपि यीमध्ये कतिपय राजनीतिक मूलधारमा आएर सत्तामा पनि पुगे । कुनै बेला चीन, उत्तरकोरिया, भियतनाम, लाओस्, क्यूबाजस्ता देशमा यस्तै सशस्त्र संघर्ष बढ्दै गएर एकदलीय कम्युनिष्ट प्रणाली स्थापित भएको थियो । सफल भएका सशस्त्र साम्यवादी आन्दोलनले क्रान्तिको मान्यता पाए । असफल भएकाहरू आन्दोलनमै सीमित भए । विरोधीका लागि आतंकवादी ठहरिए ।

इस्लामिक तथा साम्यवादी विचारधाराका अतिरिक्त राष्ट्रवादी, फाँसीवादी वा पृथकतावादी आन्दोलनबाट समेत सशस्त्र समूहको जन्म हुने गरेको छ । श्रीलंकाको तमिल टाइगर त्यस्तै एउटा शसस्त्र संगठन थियो, जसले श्रीलंकाको उत्तरी जाफ्ना क्षेत्रमा भिन्नै तमिल राज्यको कल्पना गर्दथ्यो ।

सन् २००९ मे १८ मा यसका नेता भिल्लुपिल्लाई प्रभाकरण श्रीलंकाली सेनाको कारबाहीमा मारिए । त्यसपछि यो आन्दोलन असफलतामा पुगेर टुंगियो । त्यसअघि प्रभाकरण संसारभरि नै कुख्यात आतंकवादी नेता मानिन्थे । तर, तामिल जनताको आँखामा भने उनी ‘मुक्ति योद्धा’ थिए ।

आतंकवादको कुनै स्थापित र सर्वस्वीकार्य परिभाषा छैन । यहाँसम्म कि आज जसले सशस्त्र संघर्ष र लडाइँलाई आतंकवादका रूपमा परिभाषा गर्दछन्, तिनको राज्य, प्रणाली र अवधारणा पनि सशस्त्र संघर्षबाटै स्थापित भएको हो । जस्तो कि अमेरिका आफूलाई आतंकवाद विरोधी राष्ट्र भन्दछ तर, ‘अमेरिकी स्वतन्त्रता संग्राम’ एक सशस्त्र आन्दोलन थियो, जसले संयुक्त राज्य अमेरिका भन्ने राज्य निर्माण गर्‍यो ।

चिनियाँहरू उइगुरी, तिब्बती खाम्पा र मंगोलियनलाई पृथकतावादी आतंकवादी संगठन मान्छन् । तर, त्यहाँको सत्तारुढ कम्युनिष्ट पार्टी पनि सशस्त्र संघर्ष र युद्धबाटै सत्तामा पुगेको थियो ।

नेपालमा मूलतः कम्युनिष्ट, त्यसमा पनि माओवादी धारलाई आतंकवादी भन्ने गरिन्थ्यो तर यसो भन्नेहरू पनि कुनै न कुनै प्रकारले हिंसात्मक संघर्षको इतिहाससँग जोडिएका नै थिए ।

गोर्खालीले युद्धबाटै नेपालको एकीकरण गरेका थिए । राणा शासनको उदय कोत पर्वजस्तो हिंसात्मक घटनाबाट भएको थियो । राणा शासनको अन्त्य गर्ने नेपाली कांग्रेसले हतियार उठाएको थियो । एमालेले सशस्त्र झापा विद्रोह गरेको थियो । यी सबैले केही समय माओवादीलाई आतंककारी भनिरहे । अहिले उसैसँग सत्ता सहकार्य गरिरहेका छन् ।

आतंकवाद सशस्त्र संघर्षप्रतिको एक नकारात्मक धारणा मात्रै हो कि युद्धको बेला अपनाइने क्रूरताको एक शैली वा तरिका हो भन्ने विषयमा पनि उत्तिकै मतभेद छन् ।

मानव जातिको इतिहासलाई हेर्दा युद्धको आफ्नै वैधानिकता र नैतिक आधार देखिन्छ । संसारका सबै युद्ध नाजायज, मानवता विरोधी र आतंकवाद थिए भनेर मान्ने हो भने नाजी जर्मन र फासिष्ट इटलीविरुद्धको युद्धलाई पनि आतंकवाद नै भन्नपर्ने हुन्छ । सायद इतिहासले यस्तो विश्लेषणलाई सही ठान्दैन ।

जहाँसम्म सशस्त्र संघर्ष वा युद्धमा हुने क्रूरताको कुरा छ, त्यो नि:सन्देह निन्दनीय हो । युद्धका नाममा निर्दोष नागरिकको हत्यालाई जायज भन्न सकिन्न । तर, जसले आफूलाई क्रूरता र मानवता विरोधी भनिरहेका हुन्छन्, युद्धमा तिनले पनि त्यस्तै प्रकारका युद्ध अपराध गरेको पाइन्छ ।

जस्तो कि इजरायलले हमासलाई आतंकवादी त भन्यो तर, गाजाको एक अस्पतालमा बम खसालेर उस्तै आतंकवादी चरित्र देखियो । गाजा क्षेत्रमा प्यालेस्टाइनी नागरिकको आम हत्यालाई इजरायली प्रतिरक्षा बलले व्यापक बनाएको छ, त्यो आतंकवाद हैन, कसैले भन्न सक्दैन ।

नेपालमा माओवादी जनयुद्धको समयमा ठीक त्यस्तै हुन्थ्यो । राज्यले माओवादीलाई आतंकवादी घोषणा गरेको थियो । तर, राज्य आफैँले हजारौं निर्दोष नागरिकको गैरन्यायिक हत्या गर्‍यो । राज्यले नै आतंक मच्चाएका दर्जनौं घटना भए ।

फ्रान्सेली राज्य क्रान्तिको समयमा आतंकवादलाई सकारात्मक अर्थमा लिइन्थ्यो । फ्रान्सेली क्रान्तिकारीको एक समूह ज्याकोबिनले आतंकलाई क्रान्तिको स्वाभाविक आवश्यकता मान्थ्यो । ज्याकोबिन नेता म्याक्सिमिलियन रोब्सपियरले भनेका थिए, “आतंक भनेको क्रान्तिका लागि कठोर, शीघ्र, गम्भीर र न्यायपूर्ण हुनु हो ।”

तर, आतंक र क्रान्तिको सम्बन्धबारे ज्याकोबिनवादी धारणा अस्वीकार गर्ने क्रान्तिकारी पनि फ्रान्सेली राज्य क्रान्तिको समयमा धेरै थिए । पछि क्रान्तिकारीले हिंसालाई ‘क्रान्तिकारी हिंसा’ र ‘प्रतिक्रियावादी हिंसा’, आतंकलाई ‘श्वेत आतंक’ र ‘लाल आतंक’ का रूपमा विभाजित गर्न थाले ।

यस्तो विश्लेषणपछि क्रान्तिकारी हिंसा र लाल आतंकलाई सकारात्मक अर्थमा लिने गरिन्थ्यो । तर, सोभियत शासनकालमा यी शब्दाबली पनि उत्तिकै बदनाम भए । सोभियत शासक जोसेफ स्टालिनले क्रान्तिकारी हिंसा र लाल आतंकको नामका यतिधेरै हत्याहिंसा गरे कि त्यसको अभिलेख राख्न समेत इतिहासलाई गाह्रो भयो ।

आज पनि को आतंकवादी हो र को आतंकवाद विरोधी हो, त्यो छुट्याउन सजिलो छैन । सबै आतंकवादीले आफूलाई स्वतन्त्रता सेनानी र मुक्ति योद्धा नै दाबी गर्ने हुन् । जो वास्तवमै स्वतन्त्रता सेनानी र मुक्ति योद्धा हुन्, उनीहरूले आफूलाई आतंकवादी स्वीकार गर्ने कुरै भएन ।

हमास-इजरायल युद्धसम्म आइपुग्दा पनि यो समस्या जस्ताको त्यस्तै छ । को आतंकवादी ? को मुक्ति योद्धा ? हमास लडाकु आतंकवादी कि प्यालिस्टाइनी जनताका मुक्ति योद्धा ? इजरायली सैन्य बलका सिपाही आतंकवादी कि इजरायली स्वतन्त्रताका सेनानी ?

भनिन्छ—राज्यसँग हिंसाको वैधानिक अधिकार हुन्छ । त्यो अधिकार भएको राज्यसँग नै घोषितरूपमै लड्न चाहनेलाई युद्धको अधिकार हुन्छ । युद्ध आवश्यक छ छैन, शान्तिपूर्ण तरिकाले नै समस्याको समाधान खोज्न सकिन्छ कि सकिन्न, त्यसको भिन्नै विश्लेषण होला तर, युद्धको अधिकार अन्ततः वैधानिक अधिकार नै हो । युद्धमा त्यसको नियम भने लागू हुनै पर्छ ।

युद्धमा सामेल नभएका निर्दोष र नि:शस्त्र नागरिकमाथिको हिंसा भने जसले गरे पनि त्यो आतंकवाद नै हो । त्यस्तो अपराध चाहे त्यो कुनै सशस्त्र समूहले गरोस् वा राज्यले त्यो आतंकवाद नै हो । युद्ध र आतंकको समस्यालाई घालघोल पार्ने हैन, छुट्याएर हेर्न आवश्यक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved