एनआरएनए फेरि विभाजित, असन्तुष्ट पक्षद्वारा आरके शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा

अध्यक्षमा निर्वाचित भएको भनिएका बद्री केसीले शपथ लिए लगत्तै असन्तुष्ट पक्षले नयाँ कार्यसमिति घोषणा गरेको छ । अध्यक्षमा पराजित भएको भनिएका महेश श्रेष्ठ र आरके शर्मा पक्षले संयुक्त रुपमा नयाँ कार्यसमिति घोषणा गरेको हो । 

नेपालभ्युज

एनआरएनए फेरि विभाजित, असन्तुष्ट पक्षद्वारा आरके शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए फेरि विभाजित भएको छ । ११ औं महाधिवेशनमा भएको चुनावी परिणामलाई लिएर यो संस्था विभाजित भएको हो ।

अध्यक्षमा निर्वाचित भएको भनिएका बद्री केसीले शपथ लिए लगत्तै असन्तुष्ट पक्षले नयाँ कार्यसमिति घोषणा गरेको छ । अध्यक्षमा पराजित भएको भनिएका महेश श्रेष्ठ र आरके शर्मा पक्षले संयुक्त रुपमा नयाँ कार्यसमिति घोषणा गरेको हो ।

नयाँ समितिको अध्यक्षमा राजेन्द्रकुमार शर्मा छन् । यो पक्षले भनेको छ, ‘महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको छ ।’

२० अक्टोबर शुक्रबार मध्यराती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको यो पक्षको दाबी छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम र गोविन्द श्रेष्ठलाई चयन गरिएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई, युवा उपाध्यक्षमा अबदुल वासिद तथा महासचिबमा बुद्धि सागर सुवेदीलाई निर्वाचित गरिएको असन्तुष्ट पक्षले जनाएको छ ।

उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टंक गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनीलाई निर्वाचित गरिएको बताइएको छ ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उप संयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुनलाई चयन गरिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने शर्माले जानकारी दिए ।

असोज ३० गतेदेखि काठमाडौमा सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदानमा सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका थिए ।

निर्वाचन समितिका संयोजक दुर्गा आचार्यले नव निर्वाचित पदाधिकारीलाई शपथ दिलाएका छन् । बन्द सत्रको अध्यक्षता कुल आचार्य र रबिना थापाले गरेको बताइएको छ ।

बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि विवाद सुरु भएको थियो । अरु पनि त्रुटि देखिएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम अश्वीकार गरेका थिए ।

केसीसहित अध्यक्षहरु कुल आचार्य र रविना थापाले वक्तव्य निकालेर अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए ।

अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्माका अनुसार निर्वाचनमा त्रुटि देखिए फेरि मतदान गर्ने, नभए अहिलेको कमिटीलाई सबैले स्वीकार गर्ने सहमति भएको थियो । त्यो सहमति विपरित केसी पक्षले हतारहतार सपथ कार्यक्रम राखेको भन्दै उनीहरुले नयाँ कार्यसमिति घोषणा गरेका हुन् ।

यसअघि दशौं अधिवेशनमा विवाद बढेपछि शेष घले पक्षले बेग्लै गैरआवासीय नेपाली संघ गठन गरेको छ । घले पक्षले आगामी मार्चमा अधिवेशनको तयारी गरिरहेको छ । नयाँ कार्यसमिति घोषणासँगै एनआरएनएको नाममा तीनवटा संस्था हुने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved