कोशीको तरंग बागमतीमा, जम्मकट्टेल नेतृत्वको सरकार ढाल्न विद्रोही कांग्रेसका २० सांसद एकमत !

यहाँ अहिले प्रतिपक्षमा रहेका दल र विद्रोही कांग्रेस मिल्दा बहुमत पुग्छ र जम्मरकट्टेल नेतृत्वको सरकार ढल्छ, नयाँ सरकार बन्छ ।

नेपालभ्युज

कोशीको तरंग बागमतीमा, जम्मकट्टेल नेतृत्वको सरकार ढाल्न विद्रोही कांग्रेसका २० सांसद एकमत !

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले र विद्रोही कांग्रेस मिलेर सरकार गठन भएसँगै त्यसको तरंगले अन्य प्रदेश र केन्द्रलाई समेत झट्का दिएको छ । केन्द्रीय गठबन्धनलाई चुनौती दिँदै नेता शेखर कोइराला नेतृत्वको समूहले कोशीबाट सुरु गरेको विद्रोह क्रमशः विस्तार हुने देखिएको छ ।

कोशीमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका विद्रोही कांग्रेसका केदार कार्कीप्रति अपनत्व लिन गठबन्धनमा आबद्ध दलहरुले ‘लाज पचाएरै’ अनेक प्रयास गरिरहेका छन् । मुख्यमन्त्रीमा हराउन नक्कली हस्ताक्षरसहित अर्का उम्मेदवार खडा गरेका उनीहरु नै कार्कीलाई आफूहरुको साझा उम्मेदवार भनिरहेका छन् ।

तर, कांग्रेसको शेखर समूहले उक्त दाबीलाई नस्वीकारेर एमालेसहितको सरकार गठन गरिसकेको छ । अझ उनीहरु कोशीमा मात्रै होइन, अब बागमतीमा पनि एमालेसँग मिलेर सरकार बनाउन चाहिरहेका छन् । जुन कुराको कांग्रेस महामन्त्री गगन थापाले खुलासा गरिसकेका छन् । थापाका अनुसार चारजना सांसद उक्त प्रस्ताव लिएर थापानिवासमै पुगेका थिए ।

बागमतीमा पनि एमाले र विद्रोही कांग्रेस मिल्ने हो भने माओवादी नेतृत्वको सरकार ढल्ने सम्भावना छ । यहाँको प्रदेशसभामा १ सय १० सांसद छन् । यहाँ पनि केन्द्रमा जस्तै सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेसले ६ वटा मन्त्री लिएर तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रलाई सरकारको नेतृत्व सुम्पेको छ ।

अझ यहाँ कांग्रेसभित्रको द्वन्द्व झन् चर्को छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र इन्द्र बानियाँबीच कडा टक्कर छ । बानियाँ अहिलेको सरकार ढाल्न जे पनि गर्ने मुडमा छन् ।

अहिले बागमतीमा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको चुनावमा लामाले २१ मत प्राप्त गर्दै संसदीय दलमा विजयी बन्दा बानियाँको पक्षमा १६ मत आएको थियो । बानिायाँका अनुसार अहिले उनीहरुको पक्षमा २० जना सांसद छन् ।

यहाँ एमालेको २७ सिट छ भने माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र नेमकिपाको ३ सिट छ ।

यो अवस्थामा अहिले प्रतिपक्षमा रहेका र विद्रोही कांग्रेस मिल्दा बहुमत पुग्छ र जम्मरकट्टेल नेतृत्वको सरकार ढल्छ, नयाँ सरकार बन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved