नगरपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राही खुसी

नेपालभ्युज

नगरपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राही खुसी

कञ्चनपुर । छ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजागारीमा जाने तर्खरमा छन् ।

अहिले श्रम स्वीकृतिका लागि अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उनी निकै खुसी छन् । पहिलोपटक वैदेशिक रोजगारीमा जाँदा आग्रीले काठमाडौँस्थित वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिका लागि मेनपावर कम्पनीका कर्मचारीको सहयोगमा फाराम भरेका थिए ।

‘श्रम स्वीकृतिका लागि फाराम भर्दा सम्पूर्ण व्यक्तिगत विवरण त्रुटिपूर्ण थिए’, उनले भने, ‘तर अहिले नगरपालिकामै स्वयं उपस्थित भएर तथ्यपरक विवरण फाराममा भर्न लगाएका छौंँ, फाराम भर्नकै लागि काठमाडौंँ जाने झन्झट पनि हटेर गएको छ ।’

श्रम स्वीकृतिका लागि फाराम भर्नकै लागि काठमाडौंँ जानुपर्दा निकै खर्च गर्नुपर्ने झन्झट, बसमार्फत जाँदा सडक अवरुद्ध हुँदाको सास्ती, होटेलको खर्च निकै हुने गरेको उनले बताए ।

अहिले नगरपालिकामै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था हुँदा सहज भएको उनले बताए । वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहको रोजागार शाखाबाटै भर्न सकिने व्यवस्था रहेको त्यहाँका प्राविधिक सहायक धीरज ऐरले बताए ।

चालु आवको वैशाखदेखि पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृतिका लागि आवेदन लिन थालिएको छ । यो सेवा सञ्चालन भएपछि यस शाखाबाट ३२ जनाले श्रम स्वीकिृतिका लागि आवेदन भरेका छन् ।

आवेदन भर्नेहरुमा पुरुषको सङख्या अधिक र महिलाको सङख्या न्यून रहेको छ । श्रम स्वीकृतिका लागि फारम भर्न आउनेमा मलेसिया, दुवई, साउदी अरेविया, कतार, संयुक्त अरब इमिरेटस, कुवेत, बहराइन, पोर्चुगललगायत देशमा रोजगारीमा जाने रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved