एन प्याब्सन नेतृत्वको कार्यकाल विवाद उत्कर्षमा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालका विषयमा विवाद भएको छ ।

एन प्याब्सन नेतृत्वको कार्यकाल विवाद उत्कर्षमा

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालका विषयमा विवाद भएको छ ।

एन प्याब्सनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पाण्डव हमाल र सुवास न्यौपानेबीच १८–१८ महिना संकगठनको नेतृत्व गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार पहिला अध्यक्ष भएका हमालको कार्यकाल भदौ २४ गते सकिन्छ । त्यसपछि उनले न्यौपानेलाई अध्यक्षको जिम्मेवारी सुम्पनुपर्ने हो । तर, हमालले छाड्न नमानेपछि न्यौपाने रुष्ट छन् । त्यतिबेला न्यौपाने सहअध्यक्ष बनेका थिए ।

गीता राणाको अध्यक्षतामा बसेको बैठकले उनीहरुबीच आधा–आधा कार्यकाल अध्यक्ष चलाउने सहमति भएको थियो ।

हेर्नुहोस् माइन्युट

उक्त सहमतिअनुसार आफूले पटक–पटक जिम्मेवारीका लागि आग्रह गर्दा पनि हमालले नदिएको बताउँछन्, न्यौपाने ।

‘संङ्गठनको सातौं महाधिवेशनमा उहाँले र मैले १८, १८ महिना अध्यक्षता गर्ने भनेर सम्झौता भएको थियो’, उनले भने, ‘उहाँको कार्यकाल सकिएपश्चात मैले पटकपटक सिग्नेचरी ग्रुपलाई अनुरोध गरे तर सुनुवाइ भएन ।’

सिग्नेचरी ग्रुप अर्थात् सम्झौता हुँदा हस्ताक्षर र अध्यक्षता गर्ने व्यक्तिहरुले पहिलाको सम्झौतापत्र लुकाएर बाहिर नल्याएकोसमेत उनको आरोप छ ।

यसमा हमालको तर्क भने बेग्लै छ । २०७८ साल फागुन २३ गते १८–१८ महिना संस्थाको नेतृत्व गर्ने सहमति भए पनि २४ गते फेरि नयाँ सहमति भएको उनको भनाइ छ । उनले नयाँ सहमतिमा पूरै कार्यकाल आफूले चलाउने सहमति भएको दाबी गरे ।

उनले संस्थाको विधानमा अध्यक्षको कार्यकाल ३ वर्ष हुने प्रष्ट भएको पनि बताए । आफूले विधानअनुसार नै अध्यक्ष नियुक्त भएर सपथ खाएकाले बीचमै जिम्मेवारी छाड्न कुनै हालतमा तयार नहुने बताए ।

‘मैले सपथ पनि ३ वर्षे कार्यकालको लागि अध्यक्ष भनेर नै खाएको छु’, उनले भने, ‘३ वर्षे कार्यकालको लागि उहाँ(सुवास न्यौपाने) सहअध्यक्ष र म अध्यक्ष नै हुने हो । अरु विकल्प छैन ।’

उनले अहिलेसम्म चारवटा बैठक सम्पन्न गरिसकेको बताए । अध्यक्ष हमालले नेपालगञ्जमा असोज १० गते राखिएको पाँचौं बैठकमा सहअध्यक्ष न्यापानेको उपस्थिति नभएको जनाए । ‘बैठकमा अनुपस्थित भएपश्चात उहाँले पुरानो लेटरप्याडलाई प्रयोग गरेर आफैले आफैलाई बोलाउनुभएको छ । यो हामीसंग छैन’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved