काठमाडौं । महिला मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब एक खेलअगावै फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा एपीएफले ललितपुर मेयर्स एक्सआईलाई ८ विकेटले पराजित गरेको हो । प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्दै एपीएफले फाइनलको यात्रा तय गरेको हो ।
७२ रनको लक्ष्य एपीएफले ९.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि सीता राना मगरले अर्धशतक बनाइन् । उनले ३५ बलमा ८ चौका प्रहार गर्दै ५० रनको योगदान गरिन् । ममता चौधरीले भने १६ रन बनाइन् ।
ललितपुरका लागि कृतिका मरासिनीले २ विकेट लिए ।
पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा ७१ रन बनाएको थियो । ललितपुरका लागि पुजा महतोले २४ र ज्यास्निका मरासिनीले २१ रन बनाए ।
एपीएफका लागि सीता राना मगर र रेखा रावलले १–१ विकेट लिए ।
अब अर्को खेलमा बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । लगातार ३ खेलमा जित हासिल गरेको एपीएफ ६ अंकसहित खेल तालिकाको शीर्ष स्थानमा छ । २ खेलमा जित हासिल गरेको सुदूरपश्चिम प्रदेश भने दोस्रो स्थानमा छन् ।
Facebook Comment
Comment