आलेख

युरोपमा पनि ‘लोकप्रियतावाद’ को बिगबिगी, ट्रम्प फर्किने आशामा ‘मिनी–ट्रम्प’ हरु

सन् २०२० मा डोनाल्ड ट्रम्पले जब ह्वाइट हाउस छोड्न पर्यो, युरोपका बाहुबली, प्रियतावादी र जलवायू परिवर्तनलाई नमान्नेहरुले शक्तिशाली साझेदार र संरक्षक गुमाए । यद्यपि युरोपका अधिकांश ‘मिनी–ट्रम्प’ हरु आफ्नो पतन रोक्न, हार अस्वीकार गर्न र समर्थकको उन्मादद्वारा संसदभित्रको आँधी सामना गर्न सफल भए । फेरि उनीहरुमा नयाँ आशा पलाएको छ ।

युरोपमा पनि ‘लोकप्रियतावाद’ को बिगबिगी, ट्रम्प फर्किने आशामा ‘मिनी–ट्रम्प’ हरु

सन् २०२० मा डोनाल्ड ट्रम्पले जब ह्वाइट हाउस छोड्न पर्यो, युरोपका बाहुबली, प्रियतावादी र जलवायु परिवर्तनलाई नमान्नेहरुले शक्तिशाली साझेदार र संरक्षक गुमाए । यद्यपि युरोपका अधिकांश ‘मिनी–ट्रम्प’हरु आफ्नो पतनलाई रोक्न, हार अस्वीकार गर्न र समर्थकको उन्मादद्वारा संसदभित्रको आँधी सामना गर्न सफल भए । अब उनीहरुमा आशा छ कि आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन अग्रपंक्तिका उम्मेद्वारले तिनको नौका–यात्राको पाललाई नयाँ र ताजा हावा दिनेछन्।

४ वर्षको राष्ट्रपतीय कार्यकालमा ट्रम्पले युरोपेली संघलाई ‘शत्रु’ र नेटोलाई ‘प्रचलनबाट हराउन लागेको’ भन्ने व्याख्या गरिरहे। उनले त्यसअघि बेलायतमा ‘ब्रेक्जिट’को पक्षमा प्राप्त मतको खुलेर प्रशंसा गरेका थिए । अन्य युरोपेली देशलाई पनि बेलायतको जस्तै सुविधाजनक बाटो पछ्याउन प्रोत्साहित गरेका थिए ।

त्यति मात्रै हैन, उनले अमेरिकालाई जलवायु परिवर्तनसँग जुझ्ने अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिर निकाले । हतियार नियन्त्रण सन्धीलाई च्यातेर फाले । आफ्ना साझेदारका लागि भन्सार शुल्कको ताली बजाए । जर्मनीसँग व्यापार र रक्षा खर्चको बिषय निकालेर झगडा झिके ।

उनले पोलैण्ड र हंगेरीका प्रियतावादी नेतालाई भने रातो कार्पेट ओच्छ्याए । यस कारणले मात्र कि तिनले न्यायिक स्वतन्त्रता, नागरिक अधिकार र बहुलवादी सञ्चार माध्यमलाई निस्तेज गर्ने कदमका लागि युरोपियन युनियनका निन्दालाई अस्वीकार गरिरहेका थिए ।

ट्रम्प यतिखेर अनेक कानुनी झमेलामा छन् । जो बाइडनसँग हारेको चुनावको नतिजा उल्टाउने उनका अबान्छित प्रयत्नबारे युरोपियन युनियनका मूलधारका सरकार र अधिकारी जानकार र विरुद्धमा छन् । तर, सन् २०२४ को चुनाव ट्रम्पले जित्न सक्ने सम्भावनालाई कसैले अस्वीकार गर्दैन । यस बापत कसैलाई अचम्म पनि लाग्दैन ।

रिपब्लिकन उम्मेदवारको दौडमा ट्रम्पले प्रारम्भिक अग्रता लिएका छन्। रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्न अस्वीकार गर्ने र युरोपियन युनियनबाट हुने आयातमा कर लगाउने उनको वाचाले युरोपेली डरलाई बढाएको छ ।

ट्रम्पको निम्नकोटीको आक्रामक राजनीतिका महादेशीय अभ्यासकर्ता, जस्तो कि हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बान र पोलैण्डका वास्तविक नेता जारोस्लाभ काजिन्स्की अझै सत्तामा छन्। यिनीहरु विधिको शासन, आप्रवासन र एलजिबिटी अधिकारविरुद्ध ब्रसेल्समा लडिरहेका छन् ।

डिसेम्बर ३० मा हुन गइरहेको स्लोभाकियाको चुनावमा पूर्वप्रधानमन्त्री रोबर्ट फिकोले फेरि जिते भने उनीहरुले नयाँ अनुदारवादी साझेदार प्राप्त गर्ने छन् । फिकोका केही पूर्व सहयोगी तथा अधिकारी (त्यसमध्ये एक पूर्व प्रहरी प्रमुख पनि छन्) यतिखेर भ्रष्टाचार मुद्दाको अनुसन्धान क्रममा पक्राउ परेका छन् । तसर्थ फिको यो दाबी गर्दैछन कि वर्तमान सरकारले चुनावमा धाँधली गर्न खोज्दैछ । ट्रम्पका शब्दमा ‘चुनावी नतिजा चोर्न’ खोज्दैछ ।

फिकोको स्मेर पार्टी युरोपेली समाजवादी तथा लोकतन्त्रवादी समूहको सदस्य हो । तर, त्यसले युक्रेनमाथि रुसी युद्धका लागि पश्चिमलाई दोष दिने गर्दछ । यदि उनले जिते भने किभलाई दिँदै आएका सहयोग रोक्ने छन् ।

स्लोभाकियाली विश्लेषकमा यो भय छ कि उनले जिते भने न्यायिक स्वतन्त्रतालाई ध्वंस्त पार्नेछन् । भ्रष्टचारविरोधी अभियन्ताको सफाया गर्नेछन् । र युरोपियन युनियन आप्रवासन सम्झौताका विरुद्धमा अर्बान र काजिन्स्कीसँगै लागेर लड्ने छन् ।

यो आप्रवासन सम्झौताअनुसार सदस्य देशले या त शरणार्थीको निश्चित अंश लिन वा अन्य देशले स्वागत गरेका आप्रवासीका लागि आर्थिक योगदान गर्न राजी हुनुपर्ने हुन्छ ।

ट्रम्पवादीहरुको अर्को परीक्षा वार्सामा हुनेछ । त्यहाँ ब्राटिस्लाभापछि काजिन्स्कीको सम्वर्द्धनवादी तथा राष्ट्रवादी दल ल एण्ड जस्टिस पार्टीले १५ अक्टोबरमा हुने चुनावमा उदारवादी विपक्षी नेता डोनाल्ड टस्कलाई चुनौती दिँदैछ । टस्कलाई उनीहरुले निरन्तर राक्षसीकरण गर्ने अथक प्रयत्न गरिरहेका छन् । काजिन्स्की अनपेक्षित तेस्रो कार्यकालको जित हात पार्ने प्रयासमा छन् । उनीहरुले रुस, जर्मनी, ब्रसेल्स र अहिले आएर युक्रेनलाई पनि अन्न आयात नीतिमा पोलिस किसानलाई बर्बाद पारेको आरोप लगाइरहेका छन् ।

हंगेरीका अर्बान फक्स टिभीका पूर्वप्रस्तोता टकर कार्लसनका साथी हुन् । गत वर्ष उनले बुडापेस्टमा अमेरिकाको चरम दक्षिणपन्थी धारको ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स’ आयोजना गरे । त्यो बेला अर्बानले मिडिया, सामाजिक मिडिया र राज्य संयन्त्रमा भएको पहुँच प्रयोग गरे । उनले विपक्षी मञ्चमा रहेका प्रतिद्धन्द्धीलाई स्कुलका बालबालिकामा समलैङि्गकताको प्रचार गरेको, युरोपियन युनियनको कठपुतली बनेको अरोप लगाएर बदनाम गर्ने काम गरे । पोलैण्डमा काजिन्स्कीको पार्टीले ठीक त्यही गरिरहेको छ ।

आम चुनावसँगै ४ वटा संगीन प्रश्न राखेर त्यही दिन जनमत संग्रह पनि गराइँदैछ । त्यसमध्ये एउटा प्रश्न यस्तो छ–‘के मध्यपूर्व र अफ्रिकाका हज्जारौं अवैध आप्रवासीलाई युरोपियन नोकरशाहीले जबरजस्त लादेको स्थानान्तरण संयन्त्र अनुरुप प्रवेशका लागि समर्थन गर्न हुन्छ ?’

सन् २०२० मा मतगणना भइरहेका बेला ट्रम्पको विजयका लागि बन्दुक उफार्ने र हतारिएर ट्वीट गर्ने स्लोभेनियाका पूर्वप्रधानमन्त्री जेनेज जान्सालाई सन् २०२२ को चुनावमा विपक्षीले हराएका थिए । तर, यी वरिष्ठ प्रियतावादी नेता अझै पनि एक ठूलो विपक्षी दलको नेतृत्व गर्दछन् । यी अझै जुनकुनै बेला राजनीतिक चिहानबाट उठ्न सक्दछन् ।

मूलधार मिडियालाई आक्रमण र बाइपास गर्दै ‘वैकल्पिक तथ्यहरु’ फैलाउने दक्षिणपन्थी समाचार आउटलेटलाई समर्थन र प्रयोग गर्ने ट्रम्पको रणनीति युरोपले पक्रिसकेको छ । काजिन्स्की र अर्बान सार्वजनिक प्रसारकलाई औलामा नचाउन सक्ने भइसकेका छन् ।

फक्स न्युज शैलीका अतिदक्षिणपन्थी प्रचारक सञ्चार संस्थाको अंकुरण युरोपमा पनि भइसकेको छ । जस्तो कि फ्रान्सको सीन्यूज । यिनीहरुले दक्षिणपन्थी राजनीतिज्ञलाई स्वतन्त्र पत्रकारिताको मापन विनै मञ्च उपलब्ध गराएका छन्। अन्यथा प्रियतावादीहरु सामाजिक मिडियामार्फत् आफ्ना समर्थकमाझ सिधै जाने गर्दछन् ।

ट्रम्पका पूर्व रणनीतिकार स्टिभ ब्याननले युरोपेली संसदलाई प्रभावित गरी भित्रैबाट कमजोर पार्न अति दक्षिणपन्थी शक्तिको मोर्चा बनाउन खोजेका थिए । तर, त्यो प्रयास त्यति धेरै सफल भने भएन । इटालियन मठमा दक्षिणपन्थी योद्धाका लागि एक प्रतिष्ठान बनाउने ब्याननको प्रयास कानुनी निष्कासनमा पर्यो ।

युरोपका ट्रम्पवादीहरु आफैमा विभाजित छन । विशेष गरी युक्रेन युद्धलाई कसरी बुझ्ने र कति सहयोग कसरी गर्ने भन्ने विषयमा । युद्ध पूर्व पुटिनप्रति सहानुभूति राख्ने जस्तो कि फ्रान्सकी म्यारिन लि पेनको राष्ट्रिय र्याली र इटालीकी उपप्रधानमन्त्री मेटियो साल्भिनी लिग युरोपेली संसदमा अति दक्षिणपन्थी ‘पहिचान र लोकतन्त्र समूह’ (आइडी ग्रुप) मा बस्दछन् । युक्रेनलाई समर्थन गर्ने अन्य दक्षिणपन्थी युरोपियन कन्जर्भेटिभ एण्ड रिफर्मिष्ट समूह (इसीआर ग्रुप)मा छन् ।

यसभित्र काजिन्सकीको पार्टीका साथै इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको ब्रदर्स अफ इटली पार्टी पनि छ । तर, भिक्टर अर्बानको रुस परस्त फिडेज पार्टी यी दुवै राजनीतिक समूहमा छैन । दक्षिणपन्थीको यस्तो विभाजनले अहिलेसम्म उनीहरुलाई युरोपको मूलधारको राजनीतिबाट किनारीकरण गरेको छ ।

ब्रेक्जिटले बेलायती अर्थतन्त्रमा पुर्याएको हानी प्रष्ट हुँदै जाँदा युरोपका कट्टर दक्षिणपन्थीलाई युरोपियन युनियन र युरो मुद्रा छोड्ने तथा ‘युरोपेली राष्ट्रिय राज्य’ का रुपमा काम गर्ने वाचा गर्न भने गाह्रो भएको छ । उनीहरुले राष्ट्रिय कानुनलाई युरोपेली युनियनका सन्दर्भमा प्राथमिकता दिने बाटो रोजेका छन् ।

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन भएमा उनका युरोपेली मित्र र प्रसंशकलाई एकताबद्ध आन्दोलन निर्माणमा प्रेरित गर्छ वा गर्दैन, निश्चित छैन । तर, यसले राजनीतिक, कूटनीतिक तथा सम्भाव्य सैन्य टाउको दुखाईको पाहुना भने अवश्य निम्त्याउने छ, जसका लागि युरोपेली सरकार त्यति राम्ररी तयार छैनन् ।

(द गार्जियनबाट अनुदित) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved