तेस्रो जनआन्दोलनको तयारीमा छौँः कमल थापा

नेपालभ्युज

तेस्रो जनआन्दोलनको तयारीमा छौँः कमल थापा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले आफूहरुको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए ।

उनले देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा सम्भव नरहेको जिकिर गरे । उनले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा नेपाली  युवा  विदेश पलायन हुन बाध्य भएको बताए ।

लोकतन्त्रको आवरणमा केवल केही सिमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उनको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्न सक्ने खतरा रहेको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो आन्दोलन कसैलाई विस्थापित गर्नको लागि पनि होइन । वास्तवमा देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले अहिलेको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा त परै जाओस् सामान्य सुधार गर्न पनि तयार नभएको कारणले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ ।’ उनले तेस्रो जनआन्दोलनको तयारी गरिरहेको बताए ।

अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिए । उनले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरुलाई रिझाउने नाममा बहुसंख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हन्दु, बुद्धिष्ट र किराँतहरु चुप लागेर नबस्ने बताए । उनले चुप लागेर बस्नुलाई हिन्दुहरुको कमजोरी नठान्न चुनौति दिए ।

‘म चेतावनीका साथ भन्न चाहन्छु । यदी सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरियो भने अब नेपाली जनता चुप लागेर बस्ने छैनन्’ उनले भने, ‘धरानको घटना, सर्लाहीको घटना र देशका अन्य भागमा र मधेस तराईमा केही समय यता हिन्दुहरुमाथि संगठित रुपले आक्रमण गर्ने प्रयास भइरहेको छ ।’ अध्यक्ष थापाले हिन्दुहरु सधैँ चुप लागेर बस्छन् भन्ने नठान्न चेतावनी समेत दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved