प्रकाशकीय

हामीले तेस्रो पाइला टेक्यौं

हामी लोकतन्त्र र प्रेस स्वतन्त्रतामा पूर्ण विश्वास गर्छौँ । नेपालको संविधानले अङ्गीकार गरेका मान्यतालाई हामीले आत्मसात् गरेका छौं । राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी-समानुपातिकसहितको बहुलवाद र मानवअधिकार हाम्रा आदर्श हुन् ।

नेपालभ्युज

हामीले तेस्रो पाइला टेक्यौं

नेपालभ्यूज डटकमले आजदेखि तेस्रो पाइला टेक्यो । यस पुनीत अवसरमा सर्वप्रथमत: श्रद्धेय पाठक, स्रोता, दर्शक, सिर्जनशील पत्रकार, कर्मचारी, विज्ञापनदाता तथा स्रोत एजेन्सीलगायत शुभेच्छा प्रकट गर्नुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।

छापा सामाचार नपुग्ने ठाउँसम्म पनि अनलाईन समाचार पुग्छन् । त्यसैले त अनलाईन पत्रकारिताको कुनै निश्चित भौगोलिक सीमा हुँदैन । प्रविधिमा आएको व्यापकताले यसलाई सहज बनाइदिएको छ । यहीबीच अङ्कुरिएको थियो नेपालभ्यूज डटकम ।

यसबीच कोभिड महामारीको सामना अरु क्षेत्रसँगै सञ्चार क्षेत्रले पनि गर्नुपर्‍यो । त्यसक्रममा कतिपय सञ्चारगृह तथा सञ्चारकर्मीले विभिन्नखाले समस्यासँग जुध्नुपर्‍यो । कतिपय सञ्चारगृह बन्द भए, कति सञ्चारगृह र सम्बन्धित सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी/पत्रकारहरूबीच नै संस्थागत टकराव पर्‍यो, मुद्दा-मामिला भए । त्यही महामारीका कारण कतिपय सञ्चारगृह अझै पूर्णरूपमा तङ्ग्रिन सकेका छैनन् । तर, त्यहीबीच अङ्कुरिएर पल्लवित हुने क्रममा थियो नेपालभ्यूज ।

निजी क्षेत्रबाट दीगो सञ्चारगृह सञ्चालन गर्ने र व्यावसायिक पत्रकारिताको संस्थागत विकास गर्ने सङ्कल्पस्वरूप सुरू भएको सामूहिक प्रयत्न आज आएर सम्भव भएको हाम्रो निष्कर्ष छ । त्यसो त छापा पत्रकारिताको विगतको प्रभाव र पहुँच सनै-सनै अनलाईन पत्रकारितातर्फ मोडिँदैछ । यसकै आलोकमा अनलाईन पत्रकारितालाई मर्यादित, व्यावसायिक र उत्तरदायी बनाउँदै अघि बढ्ने सङ्कल्प कम भएको छैन ।

हामी लोकतन्त्र र प्रेस स्वतन्त्रतामा पूर्ण विश्वास गर्छौँ । नेपालको संविधानले अङ्गीकार गरेका मान्यतालाई हामीले आत्मसात् गरेका छौं । राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी-समानुपातिकसहितको बहुलवाद र मानवअधिकार हाम्रा आदर्श हुन् । योभन्दा बाहिर गएर वा यसका सीमा मिचेर अघि नबढ्ने हाम्रो संस्थागत प्रण हो ।

संविधानद्वारा परिलक्ष्यित मार्गनिर्देशक सिद्धान्तलाई जनताको जीवनमा व्यावहारिकरूपमै रूपान्तरण गर्न हाम्रो प्रयास हिजो पनि थियो र आज पनि छ । राज्यका निकाय, राज्य सञ्चालक, कर्मचारी तथा राज्य संयन्त्रलाई जवाफदेही बनाउनु, भ्रष्टाचार र अनियमितताजन्य क्रियाकलापको भण्डाफोर गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिलाई बढावा दिनुलाई हामीले प्रमुख दायित्व सम्झेका छौँ ।

जनजीविकाका सवालमा देखिएका समस्या समाधानार्थ सामग्री सम्प्रेषित गर्नु र आमनागरिकको दुःखको सारथि बन्नु पनि हाम्रो अर्को गन्तव्य हो । त्यसो त कुनै पनि घटना/परिघटनालाई नजिकबाट नियालेर यथार्थपरक विश्लेषण गर्नु हाम्रो मूल मन्त्र हुँदै हो ।

२०४६ सालपछिको खुला परिवेशसँगै व्यावसायिक पत्रकारिताको दीगो जग बसाल्ने प्रयत्नस्वरूप धेरै सञ्चागृह खुलेकै छन् । त्यही जगमा थप अर्को इँटा थप्ने सञ्चारगृहमध्ये नेपालभ्यूज पनि एक हो । यो यात्रामा हामीलाई करोडौं पाठक, स्रोता र भिडिओका दर्शकले साथ दिइरहनुभएको छ । आगामी दिनमा पनि यहाँहरूको माया यसरी नै पाइरहने अपेक्षा र विश्वास गरेका छौं ।

हामी कठिन समयमा जन्मेर विस्तारै बामे सर्दै अहिले बल्ल दह्रोसँग खडा हुँदै छौँ । अबको हाम्रो उद्देश्य पाइलाको रफ्तार बढाउने हो । यसका लागि हामी तपाईंहरूबाट यो साथ र समर्थनसँगै अन्तरक्रियात्मक, आलोचनात्मक र रचनात्मक सल्लाह-सुझावको अपेक्षा गर्दछौँ ।

अन्त्यमा, तेस्रो वर्ष प्रवेश तथा दोस्रो वार्षिकोत्सवको अवसरमा सबैमा हार्दिक शुभकामना ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved