सम्पादकीय

ओली-प्रचण्डबीच प्रेम-घृणाको चाकाचुली : अवसरवादको प्रशस्ति, लोकतन्त्रलाई सास्ती

प्रचण्डले फेरेको गठबन्धन र एमालेले दिएको साथ ‘प्रहसन’ जस्तो देखिन्छ भने आगामी चुनाव दुवै दलका लागि ‘त्रासदी’ सावित हुने सम्भावना धेरै छ । अस्थिरता, अवसरवाद र सत्तालिप्साको अनैतिक राजनीति सार्वभौम नागरिक र मतदाताका लागि स्वीकार्य हुन सक्दैन ।

नेपालभ्युज

ओली-प्रचण्डबीच प्रेम-घृणाको चाकाचुली : अवसरवादको प्रशस्ति, लोकतन्त्रलाई सास्ती

एउटा रोचक भनाइ छ— मोचीले त जुत्ता सिउने मात्र हो, त्यसले कहाँनेर घोच्छ लगाउनेलाई थाहा हुन्छ ।

देशका दुई ठूला कम्युनिष्ट घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सङ्घर्ष र सहकार्य, दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको प्रेम-घृणाको चाकाचुली खेल देश र जनताका लागि ठीक यही भनाइजस्तै छ ।

ओली र प्रचण्डले राजनीति खेल्ने हुन् । सत्ता राजनीतिको ‘गेम प्लान’ गर्ने हुन् । गठबन्धन बनाउने र फोड्ने घटना शृङ्खलाको जुत्ता बनाउने हुन् । सत्ता राजनीतिका ‘मोची’ हुन् यी ।

यी दुईले कहिले एकअर्कालाई गाली, आलोचना र सत्तोसराप गर्छन् , कहिले अङ्कमाल गर्छन् । कहिले गला लगाउँछन्, कहिले पीठमा छुरा रोप्छन् । कहिले पार्टी एकता गरेर जम्बो जेटका दुई पाइलट भन्छन्, कहिले जहाजलाई दुर्घटना हुन छोडिदिएर आफू प्यारासुटबाट हाम फालेर भाग्छन् ।

मिल्दा यी एकअर्कालाई ‘कमरेड’ भन्छन् । करप्प हात मिलाउँछन् । मुट्ठी उठाएर लालसलाम गर्छन् । मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर साक्षी राखेर कसम खान्छन् । एकअर्कालाई धोका नदिने प्रतिबद्धता गर्दछन् ।

टुट्दा यी एकअर्काको ‘ज्यानी दुश्मन’ हुन्छन् । एकअर्कालाई ‘धोकेबाज’ र ‘गद्दार’ करार गर्छन् । भाँडमा जाओस् कमरेड, भाँडमा जाओस् लालसलाम, भाँडमा जाओस् पाँच प्राधिकार र अग्रजका तस्वीर । यसरी उग्र र उद्‌विग्न हुन्छन्, मानौँ कि मौका परे एकअर्काको राजनीति र अस्तित्व सिध्याउन तयार छन् ।

ओली-प्रचण्ड सम्बन्धको अहिलेसम्मको सार यही हो । यी यस्ता मोची हुन्, जसलाई उसले बनाएको जुत्ताले कसलाई कहाँनेर घोचिरहेको छ भन्ने कहिल्यै थाहा हुँदैन । कुनै हेक्का वा मतलब हुँदैन ।

यिनका प्रेमपूर्ण आलिङ्गन र घृणायुक्त आक्रोशले लोकतन्त्रको भने बारम्बार हुर्मत लिएको छ । लोकतान्त्रिक सहिष्णुता, संस्कार र संस्कति बारम्बार क्षयीकृत भएको छ । राष्ट्रिय जीवनको महत्त्वपूर्ण समय अवधि खेर गएको छ । राजनीतिक नेतृत्वले जगाउनुपर्ने राज्यप्रतिको विश्वास सबैभन्दा नाजुक बिन्दुमा पुगेको छ । आम नागरिकमा राजनीति, दल र नेताप्रति मात्र हैन, समाज, देश, राज्य र राष्ट्रको भविष्यप्रति नै अविश्वास सिर्जना भएको छ ।

प्रतिवर्ष ७५ हजारभन्दा बढी मानिस देश छोडेर, नागरिकता त्यागेर बसाइँ सर्दैछन् । प्रतिवर्ष १० लाख मानिस विदेशिँदै छन् । वैधानिक बसोबासको अवसर पाए तीमध्ये अधिकांश देश नफर्किने निश्चित छ । मानिस किन यो स्थिति र मनोदशामा पुगे ? यसको जिम्मेवारी ओली र प्रचण्डको मात्र हैन । तर, यो पनि उत्तिकै सत्य हो कि यसको मुख्य कारण ओली र प्रचण्डजस्ता राजनीतिज्ञहरूको गुणस्तरहीन र सस्तो राजनीति पनि हो, जसले निरन्तर अनैतिकता, अविश्वास र निरासालाई बढावा दिन्छ ।

यो खेलभित्र कांग्रेस र सभापति शेरबहादुर देउवा पनि छन् । तर, अहिलेको सन्दर्भ ओली र प्रचण्ड हुन् ।

ओली-प्रचण्ड राजनीतिको प्रेम र घृणाले स्वयम् उनीहरूलाई कति फाइदा भएको छ, उनीहरूको हृदय कति प्रफुल्लित र आनन्दमय छ, त्यो उनीहरू नै जानून् । तर, देश र जनताका लागि भने यसले पीडाबाहेक केही दिएको छैन । लोकतन्त्रको सास्ती र अवसरवादको प्रशस्तिबाहेक केही भएको छैन ।

सबैलाई थाहा छ— ओली र प्रचण्ड दुवै एउटा ढाँचा र ढर्रा, चरित्र र नियति, दुर्भाग्य र प्रवृतिका नेता हुन् । तर, उनीहरू यस्तो नाटक-नौटङ्की गर्न माहिर छन्, मानौँ कि उनीहरू भिन्न, मौलिक र फरक हुन् ।

एमाले र माओवादी दुवै २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीका दुई घटक मात्र हुन्, कुनै भिन्न विचार, पार्टी, आन्दोलन, सिद्धान्त र संस्कार हैनन् भन्ने दुनियाँ जान्दछ । ओली तेह्रथुममा जन्मेर झापा सर्नु, प्रचण्ड कास्कीमा जन्मेर चितवन सर्नु, ओली पूर्वेली माले आन्दोलनबाट र प्रचण्ड पश्चिमेली मसाल धारबाट प्रेरित हुनु कुनै ठूलो भिन्नता हैन।

२००६ सालदेखि २०१९ सालको तेस्रो महाधिवेशनसम्मको यिनीहरूको इतिहास साझा हो । अन्तर्राष्ट्रिय विरासत साझा हो । यिनीहरूले जप्ने मार्क्सवाद, लेनिनवाद, माओवाद एउटै हुन् । सुनाउने होची मिन्ह, फिडेल क्यास्त्रो, किम इल सुङ, र चारु मजुमदारको किंवदन्ती एउटै हो ।

ओलीले माओवाद, माओवादी जनयुद्ध र प्रचण्डको जतिसुकै खेदो खनून्, तर, स्वयम् झापा विद्रोह नामको नक्सलवादी आन्दोलनका उजप हुन् भन्ने दुनियाँलाई थाहा छ । ओलीले यो यथार्थ कहिल्यै बिर्साउन सक्दैनन जो उनी बिर्सन चाहन्छन् । झापा विद्रोह, नक्सलवाद र व्यक्ति-हत्यामा आधारित उग्रवामपपन्थी आन्दोलनको अध्याय हटाइदिने हो भने ओली व्यक्तित्वको आधा भाग खाली हुन पुग्दछ । उनी बिल्कुलै रिक्त र शून्य देखिनेछन् ।

तर, उनी यदाकदा यस्ता अभिव्यक्ति दिन्छन्, मानौँ प्रचण्ड र माओवादी मात्र विश्व कम्युनिष्ट आन्दोलनको ‘उग्रवामपन्थी तत्त्व’ हुन् । आफूलाई ‘लोकतान्त्रिक’ र माओवादीलाई ‘उग्रवामपन्थी’ देखाउने एमाले र ओलीको प्रयत्नले अहिलेसम्म कुनै परिणाम दिएको छैन । कुनै जन विश्वासको आधार तयार गरेको छैन । गर्ने पनि छैन ।

विश्व कम्युनिष्ट आन्दोलन आफैँमा कति लोकतान्त्रिक थियो । त्यो लोकतन्त्रका लागि थियो कि सर्वहारा राज्य र अधिनायकत्वका लागि, त्यो प्रश्न ओली र प्रचण्ड दुवैका लागि हो । दुनियाँलाई थाहा छ, कम्युनिष्ट आन्दोलन विश्वव्यापीरूपमा लोकतान्त्रिक आन्दोलनको हिस्सा मानिँदैन । पूर्वी तथा मध्य युरोप, सोभियत सङ्घ ढलेर गएपनि चीन, उत्तरकोरिया, भियतनाम र क्यूवा त्यसका जिउँदा प्रमाण छँदैछन् । र, एकदलीय कम्युनिष्ट शासनलाई लोकतान्त्रिक आन्दोलनको हिस्सा मान्न संसार आजसम्म तयार छैन ।

तसर्थ, विचार, दर्शन, सिद्धान्त, इतिहास र विरासतको दृष्टिकोणबाट एमाले र माओवादीबीचको प्रतिस्पर्धा अर्थहीन हो । यी दुई दल र यसका नेता ओली-प्रचण्ड दन्त्यकथाको भारुन्डे चराजस्तै हुन्, जसको टाउको भिन्नै छ, पेट एउटै छ । कम्युनिष्ट विचार र आन्दोलनप्रति जनतामा वितृष्णा जागेमा दुवैलाई हानी हुने हो । कम्युनिष्टप्रतिको जनविश्वास सिद्धिए दुवै सकिने हुन् ।

कम्युनिष्ट विचारको वैज्ञानिकता, विवेकसम्मतता र सान्दर्भिकता विश्वव्यापीजस्तै नेपालमा पनि शङ्काको घेरामा छ । स्कूलिङ्ग, मातृपार्टी भावना, सङ्गठनात्मक सञ्जाल र विरासत मोहले टिकेको छ यो । मतदाताले पत्याउन छोडेका दिन यी दुवै पार्टी सकिने हुन् ।

तर, भारुन्डे चराका टाउकोहरूको जिब्रोको स्वादका लागि आफैँ खाने इच्छाजस्तै यी प्रेम र घृणाको खेलमा लिप्त देखिन्छन् । जसले यिनीहरूको इज्जत र आकर्षणलाई बढाउनेभन्दा घटाउने काम गरेको छ । लोकतन्त्रलाई हानी पुर्‍याएर, अवसरवादलाई प्रवर्द्धन गरेर कुनै दल र नेतालाई फाइदा हुन सम्भव छैन, त्यो युग समाप्त भइसकेको छ । विगत घटनाक्रम हेर्दा यो दाबी गरेर भन्न सकिन्छ कि नेपालको कम्युनिष्ट आन्दोलन अघिल्लो दशकमा भन्दा यो दशकमा कमजोर र अलोकप्रिय भएको छ । त्यसका लागि अन्य प्रमाण जुटाइरहन पर्दैन, निर्वाचनमा प्राप्त मतको तथ्याङ्क हेरे पुग्दछ ।

सन्दर्भ कहाँ हो भने प्रचण्डले फेरि एकपटक कोल्टे फेरेका छन् । संसद् र सरकारमा एमाले र माओवादी फेरि एकपटक मिलेका छन् । तर, यो कुनै नयाँ घटना भएको छैन । यसलाई कुनै नयाँ जादु मान्न जनमत तयार छैन ।

एमाले र माओवादी, ओली र प्रचण्ड २०७४ को आम निर्वाचन अघि मिलेकै हुन् । वाम गठबन्धन गरेर झन्डै दुईतिहाइ बहुमत ल्याएकै हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विशालकाय कम्युनिष्ट पार्टी बनाएकै हुन् । करिब साढे तीन वर्ष उनीहरूकै भाषामा ‘नाटक र नौटङ्की’ गरेर बिताएकै हुन् । ओलीले दुई-दुईपटक असंवैधानिक संसद् विघटन गरेकै हुन् । इतिहासमा यो कलङ्कबाट एमाले कहिल्यै मुक्त हुन सक्दैन ।

दुई टुक्रा जोडिएर बनेको विशालकाय कम्युनिष्ट पार्टी चार टुक्रा भएर फुटेकै हो । माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले समेत एमाले छोडेर हिँड्नुपरेकै हो । यी घटनाक्रम कसले बिर्सेको छ र ?

त्यतिखेरै मान्छेले भनेकै थिए, एमाले र माओवादी एकता, ओली र प्रचण्डको सहकार्य ‘घिउ बेचुवा र तलबार बेचुवा’ को कथा जस्तै हो, यो टिक्दैन । यो कम्युनिष्ट एकता त्यस्तै एउटा अडबाङ्गे जुत्ता थियो, जसले देश र जनताको खुट्टा घोच्ने, राष्ट्रिय जीवनको यात्रालाई अवरुद्ध गर्नेबाहेक अरु केही गर्न सकेन ।

हिजोको वाम गठबन्धन र कम्युनिष्ट एकता के कारणले टिकेन, त्यसको गम्भीर समीक्षा र आत्मबोध दुवै पक्षमा छैन । दुवै एकअर्कालाई दोष लगाएर उम्किँदै आएका छन् । तसर्थ, अहिलेको एकता र सहकार्यप्रति पनि कोही विश्वस्त छैन ।

ओली र प्रचण्ड वा दुवै पक्षका नेता-कार्यकर्तामा यति सामान्य ज्ञान र आत्मबोधसमेत देखिन्न कि लोकतन्त्रका आफ्नै सीमा, मर्यादा, संस्कार, संस्कृति र प्रचलन हुन्छन् । सामान्यतः निर्वाचनपूर्वको गठबन्धन गरेका दल निर्वाचनपछिको गठबन्धन गर्न स्वतन्त्र हुँदैनन् ।

निर्वाचनपूर्वको गठबन्धन आफैँमा एक जनादेश हो, एक जनअनुमोदन हो । यदि निर्वाचनपूर्वको गठबन्धन भत्काइन्छ भने त्यो आवधिक निर्वाचनको मर्म र भावना विपरीत हुन्छ । सार्वभौम जनताको मतको अपहेलना हुन्छ । आम-इच्छाको विरुद्ध हुन्छ । भोटको अपहेलना सार्वभौम नागरिकको अपहेलना हो ।

हुन त २०७९ को आम निर्वाचनको जनादेश त्यतिखेर नै खण्डित भइसकेको हो, जब माओवादी अध्यक्ष प्रचण्ड पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्री नपाएपछि दौडँदै बालकोट छिरेका थिए । वाम गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकालमा तिक्ततापूर्ण सम्बन्धमा रहेका ओलीले प्रचण्डलाई तत्कालै किन पत्याएर र प्रधानमन्त्रीका लागि समर्थन गरे, त्यो पनि ओलीको हृदयलाई मात्र थाहा होला, देश र जनतालाई थाहा छैन । जनताको आँखामा देखिने भनेको अवसरवाद र सत्तालिप्सा मात्र हो ।

यो उत्तिकै कठोर सत्य हो कि प्रचण्डले ओलीको समर्थनलाई केही दिनमै धोती लगाई दिएका थिए । राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा-नपुग्दै प्रचण्डले एमालेलाई लत्याएर कांग्रेससँग अर्कै गठबन्धन बनाए । कांग्रेसलाई राष्ट्रपतिजस्ता संवेदनशील पद सुम्पिए । फेरि उनी कुन अनुहार लिएर एमालेसँग फर्किएका हुन्, त्यो पनि प्रचण्डलाई मात्र थाहा होला । देश, जनता र मतदातालाई थाहा छैन ।

यसबापत् जे-जस्ता कारण देखाइएका छन्, ती निकै निम्छरा, फितला र कमजोर लाग्दछन् । कांग्रेस नेतृत्वले प्रधानमन्त्री प्रचण्डको इच्छामुताबिक मन्त्री फेर्न नचाहेको बताइएको छ । देखाइएका अरु कारण तदर्थवादी र कृत्रिम लाग्दछन् ।

मुख्य कारण भने प्रधानमन्त्री प्रचण्डको सत्तालिप्सा, अस्थिरता र अवसरवाद नै हो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । पाँचदलीय गठबन्धनभित्रको कथित ‘भद्र सहमति’ अनुरूप प्रचण्डले सत्ता हस्तान्तरण गर्नुपर्ने दिन नजिकिँदै आएको थियो । ओलीले प्रचण्डलाई पूर्ण कार्यकालको आश्वासन दिएको बताइन्छ । अर्थात् सत्ता छोड्ननपर्ने वा लम्ब्याउने सुविधा प्रचण्डलाई प्राप्त भएको छ ।

अर्को कारण कांग्रेस महासमिति बैठकमा निर्वाचनपूर्वको गठबन्धन नगर्ने व्यापक चर्चा भएको (निर्णय भएको हो वा हैन, अस्पष्ट) सन्दर्भमा आगामी निर्वाचनमा कुनै भविष्य नदेखेर प्रचण्ड फेरि वाम गठबन्धनतिर लहसिएका हुन सक्दछन् । यदि यो हो भने माओवादीले एक्लै निर्वाचन लड्ने आत्मविश्वास सम्पूर्णतः गुमाइसकेको देखिन्छ । २०६४ को संविधानसभा निर्वाचनमा शानदार पहिलो स्थानमा आएको पार्टी तीन चुनावमा निरन्तर ओरालो लाग्दा यसको भविष्य नै सङ्कटमा परेको छ ।

जनसमर्थनको कसीमा निरन्तर कमजोर भइरहेको, ३२ सिट र करिब ११ प्रतिशत मात्र भोट पाएको निकै सानो र कमजोर तेस्रो दलले लामो समय सत्ताको नेतृत्व गर्ने कुरा कति लोकतन्त्रसम्मत हो ? यसको पनि समीक्षा हुनुपर्दछ । प्रचण्डको स्खलित व्यक्तित्व र माओवादीको गुमेको आत्मविश्वास हेर्दा यो दलको औचित्य र अस्तित्वमै प्रश्न उठ्न थालेको छ ।

समग्रमा ओली-प्रचण्ड प्रेम-घृणाको चाकाचुलीले देश र जनतालाई त कुनै फाइदा नभएको मात्र हैन, स्वयम् उनीहरूको व्यक्तित्व र पार्टीलाई पनि कुनै फाइदा हुने छैन । किनकि अवसरवादी सत्तालिप्सा र गुणस्तरहीन लोकतन्त्रले जनता र मतदातामा अझै निराशा र वितृष्णा बढाउने निश्चित छ । यस कारणले आगामी निर्वाचनमा मतदान प्रवृति झनै छिरल्लिने छ । दुवै दलको भोट घट्ने सम्भावना छ ।

२०७९ को जस्तै वाम गठबन्धन र कम्युनिष्ट एकता नै भएपनि त्यो स्तरको जनाकर्षण उत्पन्न हुन अब सम्भव छैन । इतिहास जस्ताको त्यस्तै दोहोरिँदैन । दोहोरियो नै भने पनि त्यो प्रहसन र त्रासदी बनेर देखिन सक्दछ ।

हालै प्रचण्डले फेरेको गठबन्धन र एमालेले दिएको साथ ‘प्रहसन’ जस्तो देखिन्छ भने आगामी चुनाव दुवै दलका लागि ‘त्रासदी’ सावित हुने सम्भावना धेरै छ । अस्थिरता, अवसरवाद र सत्तालिप्साको अनैतिक राजनीति सार्वभौम नागरिक र मतदाताका लागि स्वीकार्य हुन सक्दैन । त्यसको मूल्य यी नेता र दलले अवश्य चुक्ता गर्नुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved